ए डिभिजन लिग अपडेट : मछिन्द्र स्तब्ध
काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार पनि ३ वटा खेल भएका छन् ।
दशरथ रंगशालामा २ वटा र च्यासल मैदानमा १ खेल भएको छ । दशरथ रंगशालामा भएको दोस्रो खेलमा गत सिजनको उपाधि विजेता मछिन्द्र क्लबले हारबाट लिगको नयाँ सिजन सुरु गरेको छ । पहिलो खेलमै जावलाखेल युथ क्लबसँग ३–१ गोलले स्तब्ध भयो ।
सुरुआती अग्रता मछिन्द्रले लिए पनि त्यो जोगाउन असफल रह्यो । २३ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा मछिन्द्रभन्दा जावलाखेलको खेल उत्कृष्ट रह्यो र अन्ततः जवालाखेल नै विजयी भयो ।
५९ औं मिनेटमा हिसबु थपलियाले बराबरी गोल गर्दै जावलाखेलाई खेलमा फर्र्काए । ६४ औं मिनेटमा एनकोटे मोसाबीले गोल गर्दै जवालाखेलाई २–१ ले अघि बढाए । यसगरी ७६ औं मिनेटमा कप्तान सिमान्त थापाले गोल गरेपछि जावलाखेलले ३–१ को जितका साथ सानदार तरिकाले लिगको यात्रा सुरु गर्न सफल भयो ।
च्यासल मैदानमा न्यूरोड टिम एनआरटीमाथि सातदोबाटो युथ क्लबले २–१ को जित दर्ता गर्दै सुखद् सुरुआत गर्न सफल भयो । सातदोवाटोलाई जिताउन दुवै गोल दीपक राज ठाकुरले गरेका थिए । एनआरटीका लागि निकोलस सङले सान्त्वना गोल फर्काए ।
यस्तै आइतबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा विभागीय क्लब त्रिभुवन आर्मी र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।