देशमा सुरक्षा चुनौती झन् बढ्दै गएको सेनाको ठहर
काठमाडौं । नेपाली सेनाले मुलुकमा सुरक्षा सुनौती बढ्दै गएको ठहर गरेको छ ।
महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औँ वर्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले, सुरक्षा चुनौती बढ्दै गएको बताएका हुन्।
सेना दिवसको पुर्व सन्ध्यामा नेपाली सेनाका सकलदर्जालाई सम्बोधनगर्दै उनले, हिजोभन्दा आज र आजभन्दा भोलि सुरक्षा चुनौती झन् झन् संवेदनशील र पेचिलो बन्दै गएको उल्लेख गरे ।
उनले भने ‘भविश्यमा आइपर्ने जस्तोसुकै परिस्थितिको कुशलतापूर्वक सामना गर्न सकलदर्जाले पेशागत ज्ञान, सीप र बन्दोवस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाइराख्नु आजको आवश्यकता हो।’
मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरु विस्तार गरी क्षमता अभिवृद्धि तथा दिगो सैनिक कूटनीतिअनुरुप अगाडी बढ्दै गएकोसमेत शर्माको भनाई छ।
विपद व्यवस्थापन र उद्दारजस्ता कार्यमा क्षमता र हौसलाका साथ हरहमेसा तयारी अवस्थामा रहनु पर्ने बताएका उनले, नेपाली सेनाले राष्ट्र र जनताप्रति देखाएको सेवाभाव, निस्वार्थपन, गैरराजनीतिक चरित्र, व्यवसायिकता, अनुशासन र कर्तव्यपरायणता जस्ता मूल्य–मान्यतालाई कायम राख्दै दिइएको जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्न निर्देशन दिएका छन् ।
प्रधान सेनापतिले अस्वाभाविक व्यक्तिगत महत्वाकांक्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताउका छन्
वि.सं. १८१९ मा ५ वटा कम्पनीहरु स्थायी रुपमा खडा भएको नेपाली सेनामा त्यही वर्षलाई आधुनिक नेपाली सेना स्थापनाको सुरुवाती वर्षका रुपमा लिँदै सेना दिवस बनाउन थालिएको हो । यस पटकको महाशिवरात्रीका दिन, शनिबार २६० औँ सेना दिवश मनाइँदै छ।