सरकारले दिएको सार्वजनीक विदाप्रति गगन थापाको आपत्ति : कार्यकारीमा अराजकता देखिएको टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले दिएको सार्वजनिक विदाप्रति आपत्ति जनाएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले संघीय सरकारदेखि प्रदेश सरकारसम्म कार्यकारी प्रमुखले स्वेच्छाचारी रुपमा बिदा दिएको र यसमा अराजकता देखिएको टिप्पणी गरे ।
‘पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ । कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि ।’
थापाले अगाडि भनेका छन् ‘झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै विदा घोषणा गरेका उदाहरण छन् । यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनीक विदाका नाममा यो अराजकता अति भयो !’
बिदामा कार्यकारी प्रमुखले गरेको स्वेच्छाचारिता रोक्ने काम व्यवस्थापिकाको हुनुपर्ने थापाले बताए ।
‘यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ । न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन छ, त्यसैका आधारमा विदा तय गरिन्छ । नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ ।’
उनले भनेका छन्,’ अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौँ। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिउँ । यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ।’
नेपालमा पनि सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाव बढाउनुपर्ने र कांग्रेसे त्यसमा अगुवाई लिने महामन्त्री थापाको भनाई छ ।