नेपालमा मोबाइल ब्लड बसका लागि अमेरिकामा आर्थिक अभियान शुरु
पेन्सिलभेनिया,अमेरिका/ नेपालमा मोबाइल ब्लड बस संचालनका लागि अमेरिकामा आर्थिक सहयोग संकलन अभियान शुरु भएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले यो अभियान शुरु गरेको हो। नेपाल लक्षित मानवीय सेवाका कार्यमा एनआरएनले निरन्तर सहयोग र सहकार्य गर्दै आएको छ ।
एनआरएनएले यस पटक मधेश प्रदेशमा मोबाइल ब्लड बस उपलब्ध गराउने भएको छ। एनआरएनले यस अघि बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेशमा एक/एक मोबाइल ब्लड बस उपलब्ध गराईसकिएको छ ।
मधेश प्रदेशका लागि एनआरएनए आइसीसीले कोषाध्यक्ष सुनिल शाहको संयोजकत्वमा यो परियोजना शुरु गर्न लागेको हो।
‘मधेश प्रदेशमा उपलब्ध गराउन लागिएको मोबाइल ब्लड बस परियोजनालाई सार्थक पार्दै मानवीय पुण्यको कार्यमा हातेमालो गर्न सम्बन्धित सबैसँग आग्रह गर्दछु ।’ एक विज्ञप्ति जारी गर्दै एनआरएनए आइसीसी कोषाध्यक्ष एवं परियोना संयोजक शाहले अपिल गरेका छन्।
शाहका अनुसार सो परियोजनाका लागि ७० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ। एनआरएनएले सुविधा सम्पन्न बस खरिद गरे पछि त्यसको सञ्चालन जनकपुर नगरपालिका र स्थानीय रेडक्रसले गर्ने छन्।
‘हामी सबैको सहयोगले यो परियोजना सफल हुनेमा हामी विश्वस्त छौं ।’ शाहले भनेका छन्।
तपाई पनि नेपालमा मोबाइल ब्लड बस परियोजनाका लागि सहयोग गर्न चाहानु हुन्छ भने यहाँ क्लिक गरि त्यसपछि खुल्ने लिंक प्रयोग गर्नु पर्ने हुन्छ।















