विदेशी नागरिकता लिएको आधिकारिक जानकारी नहुँदासम्म नेपाली नागरिकता खारेज हुन्नः गृह मन्त्रालय

काठमाडौं । गृहमन्त्री रवी लामिछानेको नागरिकता विवादको विषयमा गृह मन्त्रालयले विदेशी मुलुकको नागरिकता लिएको आधिकारिक जानकारी नहुँदासम्म नेपाली नागरिकता खारेज नहुने भनी सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको छ ।
‘कुनै नेपाली नागरिकले अन्य देशको नागरिकता प्राप्त गरेको जानकारी तोकिएको अधिकारीलाई आधिकारिक रुपमा प्राप्त नभएसम्म तोकिएको अधिकारीले त्यस्तो व्यक्ति नेपाली नागरिक कायम नरहेको भनी अनुमान गरी कारवाही प्रक्रिया अगाडि बढाउन मिल्ने देखिँदैन’ गृहले २० पुसमा सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा उल्लेख छ ।
नागरिकता ऐन, २०६३ को दफा १०(१) लाई उधृत गर्दै जवाफ लेखेका मन्त्रालयका सचिव विनोदकुमार सिंहले भनेका छन् ‘कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।’ तर विदेशी मुलुकको नागरिकता प्राप्त गरेको नेपालको आधिकारिक निकायलाई जानकारी हुनुपर्ने गृहको जिकिर छ ।
१० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका लामिछानेले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०) मा अमेरिकाको नागरिकता लिएका थिए ।
कुनै नेपालीले विदेशी मुलकको नागरिकता लिएको स्वतः जानकारी नहुने भन्दै गृह मन्त्रालयले तोकिएको अधिकारीलाई कानून बमोजिम जानकारी भएमा मात्र नागरिकता खारेजीको कारबाही अघि बढ्ने बताएको छ । गृहमन्त्रालयले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्ने अधिकार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ ।
गृहमन्त्रालयले लामिछाने विरुद्धको उजुरी दर्ता हुनासाथ २५ मंसिर २०७९ मा थप छानबिन र अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी र अन्य कागजात पठाएको जनाएको छ । छानबिन र अनुसन्धान प्रक्रिया चलिरहेको बेला नागरिकता खारेजीको माग राख्नु अनुचित हुने भन्दै गृह मन्त्रालयले रिट निवेदन खारेज हुनुपर्ने माग गरेको हो ।
यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ माघमा पूर्ण सुनुवाई गर्ने भएको छ ।