अमेरिकाबाट आएका यात्रुसंग मोबाइल भन्सार असुल गर्दै एअरपोर्ट कर्मचारी, सरकारले पहिल्यै हटाएको थियो प्रावधान
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल सरकारले गत हप्ता नै विदेशबाट मोबाइल ल्याउँला भन्सार नलाग्ने बनाएको भए पनि सोमबार अमेरिकाबाट आएका एक यात्रुसंग भएको २ मध्ये एक फोन भन्सार कर्मचारीले जफल गरेका छन् ।
अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गरेको हो । उनले भने ‘मसँग एउटा आफूले चलाइरहने पुरानो मोबाइल छँदै थियो, अर्को एउटा नयाँ मोबाइल पनि ल्याएको थिएँ । विमानस्थलमा अवतरणपछि चेकिङका क्रममा मैले ल्याएको नयाँ मोबाइल भन्सारका कर्मचारीले जफत गर्नुभयो ।’
ती कर्मचारीहरुलाई प्रधानमन्त्री दाहालको शुक्रबारको निर्देशनबारे आफूले जानकारी गराए पनि नमानेको उनले बताए ।
उनले भने ‘प्रधानमन्त्रीले नै दुईटा मोबाइलसम्म ल्याउनेलाई जफत नगर्नु भन्ने सुनेर ल्याएको थिएँ, तर भन्सारका कर्मचारीले हामीले नियम मान्नुपर्छ, भनेर उल्टै मेरो मोबाइल दिन नसक्ने भन्दै जफत गरी चिट काटिदिनुभयो ।’
तोकिएको भन्सार शुल्क तिर्नुस्, अनि तपाईको मोबाइल लैजानुस् भनेर भन्सारका कर्मचारीले कागजको टुक्रा थमाएको उनले गुनासो गरे ।
‘मजस्ता विदेशबाट फर्कने धेरैले विमानस्थलमा यस्तै सास्ती भोग्नुपरेको होला । मैले आफूले नै प्रयोग गर्नका लागि थप एउटा मोबाइल मात्रै ल्याएको थिएँ, यहाँभन्दा केही सस्तो हुने भएकाले त्यो फोन किनेर ल्याएको हो’ नेम्वाङले भने ‘तर भन्सार नै तिर्नुपरेपछि मोबाइलको मूल्य त बजारमैजस्तो हुने भयो । मजस्तै विदेशबाट आउँदा मोबाइल ल्याउनेले अब प्रधानमन्त्रीको कुरालाई कसरी विश्वास गर्नु ?’








