चीनबाट आउने हवाइ यात्रुका लागि प्रवेशाज्ञा नियम परिवर्तन गर्दै अमेरिका
न्यू योर्क । अमेरिकाले चीनबाट आउने यात्रुको लागि प्रवेशाज्ञा नियम कडा बनाएको छ । अबदेखि चीनबाट आउने वा चीन हुँदै आउने यात्रुले अनिवार्य रुपमा कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाउन पर्नेछ ।
अमेरिकाले सम्भावित कोभिड संक्रमण नियन्त्रण गर्नका लिन लागेको यो कदम जनवरी ५ बाट चीन, हङकङ र मकाउबाट आउने सबै यात्रुलाई लागु हुने बताएको छ ।
यात्रुहरुले देखाउने कोरोना परिक्षणको रिपोर्ट २ दिन भन्दा पुरानो हुन नहुने पनि स्पष्ट पारेको छ ।
उडान भर्नुभन्दा १० दिन अघि कोरोना पोजेटिभ आएकाले निको भएको प्रमाण देखाउनुपर्ने पनि बताए ।
चीनले अर्को सातादेखि आफ्नो सीमाना खोल्ने घोषणा गरेको छ । यससँगै चीनमा मानिसहरु विदेश भ्रमणका लागि ठूलो संख्यामा बुकिङ गरिरहेका छन् ।
तर, चीनमा कोरोना संक्रमण बढ्दै गएपछि धेरै देशले चीनबाट आउने यात्रुका लागि नियम कडा बनाएका छन् ।
अमेरिकाबाहेक इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि नियम परिवर्तन गरेका छन् ।
तीन वर्षको प्रतिबन्ध पछि, चीनले जनवरी ८ बाट यात्रा नियमहरू खुकुलो घोषणा गरेको छ ।
चीनले कोरोना संक्रमणसँग सम्बन्धित नियम ‘वैज्ञानिक आधारमा’ लिइएको बताएको छ । उनले केही देश र तिनका मिडियाले अवस्थालाई बढाइचढाइ गरेको आरोप लगाएका छन् ।
यसैबीच, बेलायतले यात्रुहरूका लागि परीक्षण सुरु गर्ने वा अन्य कुनै नियम बनाउने योजना नभएको बताएको छ ।
















