काठमाडौं उपत्यकामा बढाइयो सवारी जरिवाना रकम
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम पालना गराउन भन्दै जरिवाना रकम बढाइएको छ । यही पुस ३ गतेदेखि लागु भएको नयाँ नियम अनुसार अब विभिन्न १६ कसुरमा १५ सय रुपैंयासम्म जरिवाना लिन सुरु भएको हो ।
सवारी चलाउँदा कागजपत्र साथमा नबोके (सवारीचालक अनुमतिपत्र- लाइसेन्स तथा सवारी दर्ता किताब) लगायतका कसुरमा १५ सय तिराउन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।
त्यस्तै, रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोडेमा, सडकको गलत साइडबाट चलाएमा, एकतर्फी सडकमा चलाएमा, अवस्था ठीक नभएको सवारी चलाउँदा अधिकतम जरिवाना १५ सय लिन थालिएको प्रहरी बताउँछ ।
रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा, नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा र लापरबाहीका साथ सवारी चलाउँदा पनि अधिकतम जरिवाना हुन थालेको छ ।
सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाउँदा र निषेधित क्षेत्रमा हर्न बजाउँदा पनि १५ सय जरिवाना हुने एसएसपी भट्टले बताए ।
यसअघि यस्ता कसुरमा ट्राफिकले हजार रुपैयाँ जरिवाना गर्दै आएको थियो । सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । जसमा ट्राफिकले अधिकतम जरिवाना गराउने निर्णय गरेको छ ।
जरिवाना बढाइएका कसुर
१. रेड लाइटमा सवारी नरोक्दा ।
२. निषेधित ठाउँमा पार्किङ गर्दा ।
३. गलत ठाउँबाट सवारी मोडेमा ।
४. सडकको गलत साइडबाट चलाएमा ।
५. एकतर्फी सडकमा चलाएमा ।
६. अवस्था ठीक नभएको सवारी चलाउँदा ।
७. रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा ।
८. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा ।
९. नम्बर प्लेट नराखी चलाएमा ।
१०. गाडीचालकले बेल्ट तथा मोटरसाइकलचालकले हेल्मेट नलगाई चलाएमा ।
११. सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा ।
१२. लापरबाहीका साथ सवारी चलाउँदा ।
१३. सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा ।
१४. सवारीचालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा ।
१५. ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएमा ।
१६. निषेधित क्षेत्रमा हर्न बजाएमा ।
















