अमेरिकामा नेपाली दुतावासका कर्मचारीको लापरबाही, जनतालाई सास्ती, पैसा लुटियो भनेर फेरि माग्न पाईन्छ ?
पेन्सिलभेनिया, अमेरिका । अमेरिका स्थित नेपाली दुतावासले शनिवार सार्वजनीक गरेको एउटा विज्ञप्तिले प्रवासी नेपाली समाजमा तरंग ल्याएको छ ।
जारी गरिको मिति र हस्ताक्षर विनाको विज्ञप्तिमा दुतावासले जनताबाट उठाएको कर लुटिएको भन्दै सर्वसाधरण सँग पुन पैसा मागेको छ । (यहाँ हेर्नुहोस दुतावासको विज्ञप्ति सम्वन्धी समाचार)
विज्ञप्ति हेर्दा नै दुतावासको दोहोरो गैरजिम्मेवारीपन देखिन्छ अझ त्यो भन्दा पनि ठुलो प्रश्न “आफ्नो गल्ती ढाकछोप गरेर जनतालाई दुख दिने ?” भन्ने छ ।
पहिलो दुतावासका कर्मचारीको गैरजिम्मेवारपनले यो घटना हुनुमा प्रमुख कारण देखिन्छ ।
अर्को आफ्नो गल्ति ढाकछोप गर्न जनतालाई दुख दिने मेसो प्रस्ट देखिन्छ ।
दुतावासले नखुलाए पनि झण्डै दुई लाख अमेरिकी डलरको मनिअडर र चेक लुटिएको अनुमान छ।
कर्मचारीको लापरवाहीका कारण त्यो लुटपाट भएको देखिन्छ। ठूलो रकमको चेक वा मनिअडर गाडीमा राखेर रेष्टुरेण्टमा जानु र भुलभुलैयामा रहनु आफैमा गैरजिम्मेवारी पन हो । अमेरिका स्थित नेपाली दूतावासमा खटाइएका कर्मचारीको गम्भीर लापरबाहीको नतिजा हो ।
संकलित राजश्वको जतन कर्मचारीले गर्न नसक्ने अनि फेरि पैसा पठाउ भनेर जनतालाई दुख दिनु अर्को गैरजिम्मेवारी काम हो ।
पैसा र चेक राखिएको गाडी यत्तिकै पार्किङ्मा छोड्ने र चोरी भयो भनेर सेवाग्राहीलाई बैंक गएर चेक रोक्का गर्नु र पुनः पैसा तिर्नु भन्ने दूतावासको विज्ञप्तीले नेपाली परराष्ट्र सेवाको धज्जी नै उडाएको छ ।
नेपालमै पनि पासपोर्ट बनाउने समयमा बिहानैदेखि लाइन बसेर दुःख पाइरहेका नेपालीले विदेशमा गएर पनि त्यही किसिमको नियति भोग्नुपर्ने बाध्यता आइपरेको छ ।
अझ कर्मचारीको गम्भीर लापरबाहीको नतिजालाई ढाकछोप गर्नलाई दूतावासले गाडीबाट लुटिएको भन्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।
करिब २ लाख अमेरिकी डलर- नेपालको २४ डिसेम्बरको विनिमय दर अनुसार करिब २ करोड ६४ लाख ५६ हजार नेपाली रुपैंया बोकेर परराष्ट्रका कर्मचारी गाडीमा हिंडिरहेका थिए ।
सरकारी कोषमा दाखिला गर्नुपर्ने उक्त रकम बैंकमा जम्मा नगरि वा आफुसंगै नबोकिकन किन गाडीमा राखियो ? खाना खान जाने समयमा पनि उक्त कागजात र पैसा किन यत्तिकै छोडियो भन्ने प्रश्नको उत्तर पाउन सकिएको छैन ।
अनि दुतावासले गल्ति गर्ने आफ्ना कर्मचारीलाई छानविनको दायरामा नल्याई उल्टो विना संकोच जनतालाई फेरि पैसा पठाउ भनेको छ।
दुतावासको यस्तो उत्ताउलो कार्यमा नेपाल स्थित मन्रालय पनि मौन छ। दुई दिनमा विदाई हुन लागेका परराष्ट्रमन्रीलाई यो विषयमा किन टाउको दुखाउने भन्ने हुन सक्छ ।
मन्रालयले यो घटनालाई कसरी लिएको छ भन्ने समाज टाइम्सको प्रश्नमा परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्याललाई सम्पर्क गर्दा उनले प्रवक्ता सेवा लम्साललाई सम्पर्क गर्न भनेर पन्छिए ।
प्रवक्ता सेवा लम्सालले भने यसबारेमा जानकारी लिन खोज्दा उनको फोन व्यस्त रह्यो । समाज टाइम्सले म्यासेज बाट प्रतिक्रिया लिन खोज्दा यो समाचार तयार पार्दा सम्म उनले म्यासेजमा सोधिएका प्रश्नको उत्तर पनि दिएकी छैनन् ।
स्रोतका अनुसार घटना हुदा कर्मचारीद्वय उत्तम घिमिरे, राधारमण दुबे र स्थानिय कर्मचारी कुमार श्रेष्ठ थिए । “उनीहरु खाना खानको लागि गाडी पार्किङ्मा राखेर गए । ती ३ कर्मचारी मध्ये एकजना आफ्नो फोन गाडीमै छुटेको भनेर फिर्ता पनि आएका थिए तर त्यति बेला पनि उनले आफ्नो फोन मात्रै लगे । पैसा र चेकहरु गाडीमा नै यत्तिकै छोडिएको थियो ।” स्रोतले दाबी गर्यो ।
घटनाको बारेमा जानकारी दिदै जारी गरिएको विज्ञप्तीमा सम्बन्धित अधिकारीको हस्ताक्षर समेत गरिएको छैन । यत्रो घटना घटिसक्दा पनि नेपालमा रहेको परराष्ट्र मन्त्रालयले भने यसबारेमा केही औपचारिक जानकारी समेत दिएको छैन ।
यता आफ्नो कमजोरी लुकाउने र जनतालाई दुख दिन खोजिएको भन्दै सामाजिक संजालमा दुतावासको आलोचना शुरू भएको छ।
















