उत्तर कोरियाले रुसलाई हतियार र मिसाइल दिइरहेको अमेरिकी दाबी
ह्वाइट हाउस । रुसले अहिले युक्रेनमाथि आक्रमण गर्नको लागि प्रयोग गरिरहेको हतियार र मिसाइल उत्तर कोरियाले दिएको अमेरिकाले दाबी गरेको छ ।
रुसको मर्सिनरी समूह वाग्नरलाई ती हतियार तथा मिसाइलहरु उत्तर कोरियाले दिएको अमेरिकाले दाबी गरेको हो । अमेरिकी राष्ट्रपति कार्यालयले ती हतियारहरु समुद्र मार्ग हुँदै पठाइएको र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को कानुन उल्लंघन गरेको दाबी गर्दै वाग्नर समूहलाई थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
अमेरिकी दाबीलाई उत्तर कोरिया र वाग्नर समूहले इन्कार गरेका छन् । युक्रेनमा उक्त समूहका लडाकुहरूको संख्या १ हजारदेखि २० हजारसम्म पुगेको बेलायत सरकारले जनाएको छ । यो समूहलाई सिरिया र अफ्रिकी मुलुकहरुमा पनि सक्रिय रहेको जनाउँदै युद्ध अपराध तथा मानवअधिकार उल्लंघनका घटनाहरुमा संलग्न भएको आरोप छ ।
‘वाग्नर समूहले युक्रेनमा आफ्नो सैन्य गतिविधि सञ्चालन गर्नका लागि संसारका विभिन्न कुनाबाट हातहतियार आपूर्तिकर्ता खोजी गरिरहेको छ,’ ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा मामिलाका प्रवक्ता जोन क्रिर्बीले सञ्चारकर्मीहरुलाई भने, ‘हामीले यो पनि कन्फर्म गर्यौं कि वाग्नरलाई उत्तर कोरियाले पहिलो चरणको हतियार उपल्बध गराइसकेर भुक्तानी पनि लिइसकेको छ । ‘
अमेरिकी राष्ट्रपतिको कार्यालयले मर्सरी समूहले उत्तर कोरियाबाट रकेट लन्चर र मिसाइलहरु लिएको जनाएको छ । प्रवक्ता क्रिर्बीले वाग्नर समूहले युक्रेनमा हरेक महिना एक सय मिलियन डलर खर्च गरिरहेको बताएका छन् ।
बेलायतका विदेश मन्त्रालयका सचिव जेम्स क्लेभर्लीले पनि अमेरिकी दाबीलाई समर्थन गरेको बीबीसीले जनाएको छ । ‘यो सत्य हो कि रुसी राष्ट्रपति भ्लदामिर पुटिन उत्तरसँग सहयोग माग्ने अवस्थामा पुग्नु चरम निराशा र निराशा हो,’ क्लेभर्लीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
तर वाग्नरका मालिक एभगेनी प्रिगोझिनले अमेरिकी दाबीलाई अस्वीकार गर्दै ‘फन्डा र अनुमान’ बताएको बीबीसीले जनाएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले पनि अमेरिकी दाबीलाई निराधार भनेको छ ।
वाग्नर समूह रुसले क्रिमियालाई आफ्नो भूभागमा गाभेसँगै सक्रिय भएको बताइन्छ ।
















