जबरा संसदको सबैभन्दा ज्येष्ठ सदस्य, बिहीवार राष्ट्रपति समक्ष सपथ लिने
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसद पशुपति शमशेर जबराले शपथग्रहण गराउने भएका छन् ।
नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो ।
संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट नागरिकताको प्रमाणपत्र झिकाएर हेर्दा केसीभन्दा जबरा ज्येष्ठ पाइएका हुन् ।
नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादव सबैभन्दा बढी उमेरको भए पनि उनले शपथ गराउने छैनन् । उनले नागरिकतामा वास्तविकभन्दा बढी उमेर राखेको स्वीकार गरेर संसद्मा ज्येष्ठ सदस्यले सबै सांसदलाई शपथ गराउँदा अनुपस्थित रहनेछन् ।
२०७४ को प्रतिनिधिसभामा पनि यादव अनुपस्थित रहेपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । यसपटक भने चित्रबहादुर केसी र पशुपतिशमशेर जबरामध्ये को ज्येष्ठ सदस्य, टुंगो लागेको थिएन ।
नागरिकाता अनुसार वि. सं. १९९९ माघ २४ गते चित्रबहादुर केसीको जन्म मिति देखिन्छ । २०३० मंसिर २४ गते ३२ वर्ष पुगेको नागरिकता पशुपति शमशेरको जारी भएको पाइएको छ ।
नागरिकताका आधारमा ज्येष्ठ सदस्य टुंगो लागेपछि संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छन् । उनले जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउने व्यवस्थाका लागि अनुरोधसहित पत्र लेखेका हुन् । उक्त पत्र सोमबार नै राष्ट्रपति कार्यालयमा दर्ता गराइएको छ ।
राष्ट्रपतिले बिहीबार दिउँसो १ बजेअगावै जबरालाई शपथ ग्रहण गराउनेछिन् । त्यसपछि बिहीबार दिउँसो १ बजे जबराले अन्य सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।
















