शेखर गगनबीच भएन सहमति
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ । नेताहरूले नेता कोइराला र महामन्त्री गगन थापालाई मिलेर जान दबाब दिएका छन् भने दुईमध्ये को उम्मेदवार बन्ने भन्ने निष्कर्षमा पुग्न रातभरिको समय दिएर उठेका छन् ।
सोमबार बिहानै देखि दलको नेताको उम्मेदवार चयन गर्नेबारे गुटका नेताहरू चरणवद्ध छलफलमा जुटेका थिए । साँझ नेता कोइराला र महामन्त्री थापासहित बसेको शीर्ष नेताहरूको बैठकमा अधिकांश नेताहरूले दुई नेतालाई मिलेर अघि बढ्न सुझाव दिएका छन् ।
सहमहामन्त्री जीवन परियारले नेता कोइराला र थापालाई मिलेर जान र दुई मध्ये एक जनामात्रै उम्मेदवार बन्न सुझावसहित बैठक सकिएको बताए ।
‘अहिले छलफल सकियो, हामीले उहाँहरू दुवै जनाका कुरा सुनेपछि आफ्ना सुझावहरू राख्यौँ,’ सहमहामन्त्री परियारले भने, ‘रातभरिको समय छ, तपाईहरू छलफल गर्नुहोस्, मिलेर अगाडि आउनुस्, दुईमध्ये एक जना उम्मेदवार बन्दा टिमको लागि सबैभन्दा राम्रो हुन्छ भनेका छौँ, सबै नेताहरूले यो वा त्यो नभनेर मिलेर जानुपर्छ, एकल उम्मेदवार उठाउनुपर्छ भन्ने धारणा राख्नुभएको छ ।’
उनकाअनुसार त्यसबारे मंगलबार विहान ८ बजे पुनः छलफल हुनेछ । निर्वाचन समितिले उम्मेदवारी दर्ताकालागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ ।















