यस्तो छ कांग्रेसको संसदीय दलको नेता छान्ने निर्वाचनको तालिका
काठमाडौं । नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने भएको छ । निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार पुस ४ गते दिउँसो २ बजेसम्ममा मतदाता नामावली प्रकाशन गरिनेछ ।
यसैगरी सोही दिनको साढे २ बजेसम्म नामावली उपर दावी विरोधका लागि समय दिनुका साथै अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसपछि पुस ५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय दिइएको छ भने दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यस्तै पुस ६ गते बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ ।
कांग्रेसको संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बन्दा इतर पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।
शेखर– गगनले आफू निकट ठानेका योगेश गौचन, सुरेन्द्र आचार्य, दीपक गिरि र दीपक खड्काले देउवालाई साथ दिने सम्भावना बढेको छ ।
शशांक कोइरालाले देउवालाई समर्थन गर्दा गिरि र खड्का पनि सँगै उभिने सम्भावना छ भने गौचनको झुकाव पनि देउवातिर देखिन्छ । योगेशका बुवा मुस्ताङका जिल्ला सभापति रोमी गौचन थकाली पछिल्लो समय देउवासँग नजिक देखिन्छन् ।
१४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका सांसद प्रदीप पौडेल भने गगन थापाको पक्षमा उभिने सम्भावना बढी छ ।
संस्थापन पक्षबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशमान सिंह, किशोरसिंह राठौर, विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की, एनपी साउद, डा। नारायण खड्का, रमेश रिजाल संघीय सांसद बनेका छन् । यसैगरी रामचन्द्र पौडेलले पनि आफूलाई साथ दिने देउवाको विश्वास छ ।
यस्तै रमेश लेखक, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, उदयशमशेर जबरा, सीता गुरुङ, राजेन्द्रकुमार केसी, श्यामकुमार घिमिरे, शंकर भण्डारी, रामहरि खतिवडा, विनोदकुमार चौधरी र मोहन आचार्य पनि संस्थापन निकट सांसद हुन् ।
अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, अजयकुमार चौरसिया, दिपक गिरि, आरजु राणा देउवा, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, टेकबहादुर गुरुङ, महेन्द्रकुमार राय, दिनेशकुमार यादव, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल र निनुकुमारी कर्ण संस्थापन पक्षका सांसद मानिन्छन् ।
यस्तै योगेश गौचन थकाली, शान्ति विक, खमबहादुर गर्बुजा, पूर्णबहादुर तामाङ, सरस्वती बजिमय, सीताकुमारी राना, विष्णुकुमार कार्की, सुशीला थिङ, सपना राजभण्डारी र माया राई पनि संस्थापन पक्षका सांसद हुन् ।
यस्तै सुरेन्द्रराज आचार्य, डिल्लीराज पन्त, पुष्पबहादुर शाह, दीपक खड्का, सन्तोष चालिसे, दुर्लभ थापा क्षेत्री, ऐनबहादुर शाही ठकुरी, मनोरमा सेरचन, रुपा विक, आशा विक, जावेदा खातुन जागा पनि संस्थापन पक्षसँग जोडिएका छन् ।
संस्थापन इतर पक्षबाट डा। शेखर कोइराला, धनराज गुरुङ, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, प्रदीप पौडेल, चन्द्र भण्डारी र हृदयराम थानी सांसद बनेका छन् ।
यस्तै सञ्जयकुमार गौतम, तेजुलाल चौधरी, सरिता प्रसाईं, प्रतिमा गौतम, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, रामकृष्ण यादव, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, राजु थापा, लीलादेवी बोखिम, सीता मिजार, दिक्पाल शाही, मैना रावल कार्की, मुक्तकुमारी यादव, विनाकुमारी थनेत र कुसुम थापामगर पनि संंस्थापन इतर निकट मानिन्छन् ।
यद्यपि देउवाविरुद्ध महामन्त्री थापा नै चुनाव लड्ने सम्भावना बलियो भएकाले केही तलमाथि हुन सक्ने सम्भावना पनि देखिन्छ । शेखर कोइरालाको समर्थन पाएर देउवाविरुद्ध मैदानमा आए थापाले ३७ जना सांसदको हिसाब गडबड गरिदिने आकलन गरिएको छ । कांग्रेसबाट प्रत्यक्ष र समानुपातिक सांसद बनेकाहरूको तस्बिर हेर्दा थापाले चुनाव जित्न सकस पर्ने देखिन्छ ।
















