दुर्घटना रोकथाम : प्रत्यक्ष जोडिने सबै निकाय उत्तिकै जिम्मेवार
काठमाडौं । गत मङ्सिर २७ गते काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस सडकमै पल्टिएर दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाए । दुर्घटनामा २२ जना घाइते भए ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि त्यहाँ पुगेर फर्किँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
उक्त दुर्घटनाको कारण खोज्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको संयोजकत्वमा गठित छानविन समितिले काम गरिरहेको छ ।
घटनास्थल अवलोकन गर्न पुगेका सुनुवारले गाडी अनियन्त्रित भइ सडक छेउको पहरामा ठोक्किएर दुर्घटना भएको अनुमान गरिए पनि छानवीनपछि मात्रै यकिन कारण खुल्ने जानकारी दिए ।
यस्तै मङ्सिर २६ गते जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको जीप मध्यपहाडी सडकखण्डअन्तरगत भिरपाटीमा अनियन्त्रित दुर्घटना भयो ।
उक्त दुर्घटनामा १२ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा चालकसहित सबै यात्रुले ज्यान गुमाए । दुर्घटना कसरी भएको थियो भनेर जानकारी दिने कोही बाँकी रहेनन् ।
दुर्घटनापछि गृहमन्त्री बालकृष्ण खाणले पहाडी क्षेत्रमा पटक पटक हुने दुर्घटना रोक्नका लागि विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिए । यी दुई दुर्घटना मुलुकका प्रतिनिधि घटना हुन् ।
साँझ, बिहान तथा रातिका समयमा नियमित गुड्ने सवारी साधान नेपालका सडकमा दुर्घटनामा परेका छन् । चाडवाड, मेला, पर्व, भ्रमण र वनभोजका लागि प्रयोग गरिएका सवारीसाधन दुर्घटनामा बढी पर्ने गरेका पाइएका छन् ।
गृहसचिव विनोदप्रकाश सिंह सचेतना नपुगेर दुर्घटना भएको नभइ लापरबाही तथा यान्त्रिक समस्याका कारण भएको बताउँछन् ।
“दुर्घटना न्युनिकरणका लागि गृहमन्त्रालयबाट आवश्यक पहल र जिल्लास्तरमा निर्देशन भएको छ, हाल प्राप्त श्रोत साधनलाई परिचालन गर्ने हो, हामी त्यो गर्दै आएका छौँ”, उनले भने, “ट्राफिक, सडकको अवस्थालगायत बारेमा सबैले ध्यान दिनुपर्छ ।”
सडकको अवस्था धेरै ठाउँमा कमजोर पाइन्छ । कतिपय दुर्घटना यान्त्रिक समस्याले भएका छन् । गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए ।
स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा दुर्घटना भएको हो । ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।
भौगोलिक अवस्था, चालकको लापरबाही र सवारीसाधनको अवस्था राम्रो नहुँदा दुर्घटना वर्षेनि बढ्दै छन् ।
गृहसचिव सिंह धेरै दुर्घटनामा चालकको कमजोरी देखिएको बताउँछन् । मदिरा सेवन गरेर तथा लागूऔषध प्रयोग गरी सवारीसाधन चलाउने गरिएको पाइएको छ । अनुगमन गर्ने निकायको कमजोरी छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले धेरैजसो दुर्घटनामा चालकको लापरबाही पाइएको बताए । “सडकको अवस्था र यान्त्रिक गडबढीले पनि दुर्घटना बढिरहेका छन्”, उनले भने ।
प्रहरीको अभिलेखअनुसार गत साउनयता झण्डै १५ हजार सवारीसाधन दुर्घटनामा परेका छन् । सो अवधिमा दुर्घटनामा ९९२ जनाले ज्यान गुमाएका छन् । दुई हजार व्यक्ति भन्दा बढी घाइते भएका छन् ।
















