इन्धनको मूल्य घटाउने मनसायमा आयल निगम, भारतबाट थप घटेर आयो मूल्य
काठमाडौँ । झण्डै आधा दर्जन पटक भारतबाट मूल्य घटेर आएको भए पनि समायोजन नगरेको नेपाल आयल निगमले अब भने इन्धनको मूल्य घटाउने तयारी गरेको छ । शुक्रवार मात्रै पनि भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ ।
आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो । यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको निगम स्रोतले जनाएको छ ।
‘बोर्ड अध्यक्ष (वाणिज्य तथा आपूर्ति सचिव) देशबाहिर हुनुहुन्छ, उहाँ फर्किएलगत्तै बोर्ड बैठक बसेर केही न केही मूल्य समायोजन गर्नेछौं’ स्रोतले भन्यो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो ।
नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रुपैयाँ छ ।
विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा निगमको बक्यौता तथा ऋण रकम थपिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झरेको छ । शुक्रबार साढे ३ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८०.३ डलरमा झरेको छ । त्यस्तै मुर्बान तेलको प्रतिब्यारेल ७९.२, डब्लूटीआई तेलको मूल्य ७५.१ डलरमा झरेको छ ।
डेढ महिनामा समग्रमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५ डलर हाराहारीमा घटेको छ । तेल उत्पादक मुलुकहरुको संगठन ओपेक प्लसले नोभेम्बर महिनामा कटौती गरेको परिमाणलाई हाल निरन्तरता दिएको छ ।
युरोपियन मुलुकले रसियन कच्चा तेलको मूल्यमा प्रतिब्यारेल ६० डलरको ‘क्याप’ लगाइदिएका छन् । जसले गर्दा चीन र भारतले रसियन तेलको आपूर्ति बढाएका छन् ।
रसियाले युक्रेनमा आक्रमण गरेपछि युरोपियन मुलुकहरुले रुसको राजस्व आम्दानी घटाउन तथा आपूर्ति अवरोधका लागि विभिन्न प्रयास गरिरहेका छन् ।















