क्याविन क्रु को आन्दोलनले काठमाडौ–दिल्ली उडान अवरुद्ध
काठमाडौं / नेपाल वायुसेवा निगमका १ सय बढी एयर होस्टेज (क्याविन क्रु) आन्दोलनमा उत्रिएका निगमको काठमाडौं दिल्ली उडान अवरुद्ध भएको छ । बिहीबारका लागि निर्धारित काठमाडौंबाट व्याङलोर र दिल्लीका लागि तय गरेको दुई फ्लाईट रोकिएका छन् । फ्लाइट नम्बर २०५ र २१७ रोकिएको निगमले जनाएको छ ।
म्याद सकिनेबित्तिकै करार अवधि थप गर्न र जागिरको सुनिश्चितताको माग गर्दै निगमको केन्द्रीय कार्यालय सुन्धारामा क्याविन क्रुहरुले धर्ना दिइरहेका छन् । बिहीबार उनीहरूका मागलाई लिएर वार्ता भइरहेका बेला झडप भएपछि निगममा तालाबन्दी नै भएको छ ।
करार सेवामा रहेका कर्मचारीहरूको करार थप गर्ने समय पुग्दा पनि अवधि थप गर्न ढिलाई गरेको, करार नथप्ने प्रपञ्च गरेको भन्दै निगमको कार्यालयमा धर्ना दिँदै कामकाज ठप्प पारेका छन् । निगममा करारमा रहेका झन्डै १२० जना क्याविन क्रु धर्नामा रहेका छन् ।
निगमले १५ वर्ष करारमा सेवा गरेका आरती महर्जन र स्मिता गुभाजुको करार अवधि थप नगरेको भन्दै नेपाल वायुसेवा क्याविन क्रु संघले विज्ञप्ति जारी गर्दै करारनामा नभएका कर्मचारीको करार थप गर्न माग गर्दै आएको छ । मासिक १०० घण्टाभन्दा बढी उडान गर्न नपाउने व्यवस्था रहेपनि सोभन्दा बढी दिनरात उडान गराएकाले क्याविन क्रु मा सञ्चित थकान रहेकोले उडान कार्यमा सहभागी हुन नसक्ने जनाइएको छ ।
क्याविन क्रु आरती महर्जनले करार नवीकरणको समय आएपनि निगमको व्यवस्थापन पक्षले चलखेल गरेर आफ्नो मान्छे भर्ती गर्न वर्षौदेखि काम गर्दै आएका क्याविन क्रु को नवीकरण रोक्न चलखेल गरेको बताइन् ।














