बालेन र हर्क सामपाङ्को बढ्दो मित्रता
काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क सामपाङ्बीच अहिले मित्रता बढ्दै गएको छ । पहिला एकअर्काको कटाक्ष गरिरहने दुई स्वतन्त्र मेयरहरु अहिले एक अर्काको पक्षमा देखिन थालेका छन् ।
अहिले उनीहरूले सामाजिक सञ्जालमा एकअर्काले लेखेका कुरामा समर्थन जनाउने र सेयर गरिदिने गरेका हुन्।
यसै क्रममा पछिल्लो समय मेयर बालेन्द्रले अमेरिकी राजदूतसँग भेटवार्ता गर्दा एमालेका नेता भीम रावलले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेट गरेको हो कि नलिईकन भनेर सामाजिक सञ्जालमार्फत प्रश्न उठाए।
त्यसमा बालेन्द्रले कडा जवाफ दिए भने यसपछि पनि रावलले उनीप्रति आक्रोश पोखेका छन्।
यसैबीच धरानका मेयर हर्कले सोही प्रसंगप्रति लक्षित ट्विट गर्दै बालेन्द्रको पक्ष लिएका हुन्।
शनिबार बिहानै उनले लेखेका छन्, ‘स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ, त्यो निन्दनीय छ। कथाले माग्यो अब। स्वतन्त्रहरू एक बन्ने बेला आएको छ। यो बेला अरूले साथ दिऊन्, नदिऊन् तर मेरो साथ रहनेछ।’














