रवी लामिछानेको नागरिकता बारेको समाचार डिलिट, उकेरा अनलाइनले सुरु गर्यो अनुसन्धान
काठमाडौं । अनलाइन पत्रकार महासंघले उकेरा डटकमको सिएमएसमा अनधिकृत रुपमा प्रवेश गरी प्रकाशित सामग्री हटाउने कार्य भएकोमा आपत्ति जनाएको छ ।
सुप्रिम सहकारी आर्थिक संकटमा रहेको समाचारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रकाशित समाचारसँगै अन्य समाचार समेत डिलेट गरिएको प्रकाशन गृह पाथसिडका अध्यक्ष सुरेश ढकालले जानकारी दिएका छन् ।
लामिछानेको नागरिकता र राहदानीको विवादबारे उकेरा डटकममा प्रकाशित समाचारबारे उकेराका प्रधान सम्पादक केपी ढुंगानालाई सामाजिक सञ्जालबाट निरन्तर थ्रेट आइरहेकोप्रति संघले आपत्ति जनाएको हो ।
‘प्रकाशित समाचारबारे कसैको चित्त नबुझेमा कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै सो प्रक्रिया अवलम्बन नगरी मिडिया र पत्रकारको सुरक्षा चुनौती बढाउने कार्य निन्दनीय छ, संघ यस घटनाको भर्त्सना गर्दै छानबिन गरि दोषीमाथि कारबाही र पत्रकारको सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ,’ संघका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाचार कसले डिलेट गर्यो भन्ने बारे छानबिन भइरहेको उकेराले जनाएको छ ।














