इनास अमेरिकाले सात जनालाई सम्मान गर्दै
मेरील्याण्ड,अमेरिका/ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले अमेरिकामा विभिन्न क्षेत्रका सात व्यक्तिलाई सम्मान गर्ने भएको छ।
‘अग्रजलाई सम्मान,बालबालिकालाई प्रोत्साहन’ नाराका सहित नोभेम्बर २६ तारिक शनिवार मेरील्याण्ड राज्यको बाल्टिमोरमा एक विषेश साँस्कृतिक कार्यक्रमका बीच इनासले सात व्यक्तिलाई सम्मान गर्ने भएको हो।
यसै गरि प्रोत्साहन स्वरुप नया पुस्ताका द भ्वाइसकी प्रतियोगी इनास मेरिल्याण्डकी युवा सदस्य परिजिता बास्तोला ,भ्वाइस अफ नेपालको प्रतिस्प्रद्धामा सहभागी भएका इनास केन्टकीका सदस्य प्रनिम राई तथा थुप्रै संगीत भिडियोमा अभिनय गरेका बाल कलाकार सम्राट दाहाललाई पनि प्रोत्साहन पुरस्कार वितरण गरिने छ ।
प्रवासमा रहेर पनि कला,संगीत,साहित्य,समाजसेवा,खेलकुद र पत्रकारिता मार्फत योगदान पुर्याउने व्यक्तित्व सम्मानित हुन लागेका हुन्।
इनास अमेरिकाका राष्ट्रिय अध्यक्ष कन्हैया सिंह परियारका अनुसार सम्मानित हुने ब्यक्तित्वहरुमा साहित्यकार होमनाथ सुबेदी,गायिका सपना श्री ,चलचित्र निर्मात्री तथा नायिका अनसुया श्रेष्ठ वन्त रहेका छन्। यस्तै समाजसेवि डा. श्याम कार्की, डा. बिष्णुमाया परियार,खेलाडी बिना खड्का लामा र पत्रकार दाजुभाइद्वय विश्व थापा र बिजय थापाले पनि इनासबाट सम्मान पाउने छन्।
इनासबाट सम्मानित हुने व्यक्तित्वहरु
डा.श्याम कार्की
चिकित्सा बिज्ञानका प्रोफेसर भई नेपाल तथा अमेरिकाका बिभिन्न विश्व विद्यालयहरुमा प्राध्यापन गरेका डा श्याम कार्की मेरील्याण्डमा रहेको नेपाली समाजको पथ प्रदर्शकको रुपमा रहेका छन्। सामाजिक अभियन्ताको रुपमा अमेरिकामा पहिचान बनाएका कार्की काउन्सिल मेरील्याण्ड राज्य दक्षिण एसियाली मामिला आयोगको आयुक्त, मेरील्याण्ड राज्य डेमोक्रेटिक पार्टी एएपीआइ नेतृत्वको सदस्य रहिसकेका छन्।
उनी एसोसिएसन अफ नेपालीस इन अमेरिका (एएनए) को संस्थापक तथा अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रस्टीको अध्यक्ष समेत भइसकेका छन्।
होमनाथ सुबेदी
विश्वभर शाखा रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संस्थापक साहित्यकार होमनाथ सुबेदी ४० भन्दा बढी विभूषण तथा सम्मानबाट बिभुषित छन्।
म्याग्दीको ताकममा जन्मिएका सुवेदीका पुस्तकहरु पनि ४० भन्दा बढी प्रकासित छन्। उनी पछिल्लो ४० बर्ष भन्दा बढी समय देखि अमेरिकी माटोमा रहेर नेपाली साहित्यलाई मलजल गरि निरन्तर सेवामा लाग्दै आएका छन्।
बिना खड्का लामा
बिना खड्का लामा, दक्षिण एसियाली खेलकुद सागकी स्वर्णधारी हुन्। उनले सन् २००६ मा श्रीलंकामा भएको सागमा अमेरिकाबाट गएर नेपाललाई उसु खेलमा स्वर्ण पदक दिलाएकी थिइन्।
उसुकी प्रशिक्षक समेत रहेकी बिना भर्जिनियामा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी) को उपाध्यक्ष तथा साँस्कृतिक समितिको संयोजक हुन । भर्जिनियामा बालकालिकाहरुलाई नेपाली भाषा सिकाउने नेपाली पाठशालाको संस्थापक बिना पेशाले रजिष्टर नर्स हुन्।
डा बिष्णुमाया परियार
नेपालको गोर्खामा जन्मिएर अमेरिकामा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन बिष्णुमाया परियार । उनको जीवन कथालाई म्यासाचुसेट्स शिक्षा विभागले कक्षा सात को पाठ्यक्रममा राखेको छ।
दर्जनौ रास्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत बिष्णु माया हार्वर्ड विश्वविद्यालयबाट दिइने दि ब्रिजस्टोन पुरस्कारबाट पनि सम्मानित हुन। निम्न आय भएका समुदायमा उल्लेखनीय भूमिका खेल्दै आएकी बिष्णु माया एडवान नामक संस्थाकी अध्यक्ष हुन । उनी न्यु जर्सीका गभर्नरको एशियाली अमेरिकी प्यासिफिक क्षेत्रको आयुक्त संग पनि आबद्ध छिन्।
अनसुया श्रेष्ठ वन्त
अनसुया प्रवासमा रहेर नेपाली चलचित्रका लागि सक्रिया व्यक्ति हुन्। चलचित्र निर्मात्री तथा नायिका अनसुया बाल्टिमोरको नेपालीहरुको संस्था बानाको निबर्तमान अध्यक्ष तथा चर्चित चलचित्र लक्का जवानको निर्मात्री हुन्।
नेपालको बाग्लुंगमा जन्मिएकी कुशल नृत्यङ्गना अनसुयाद्वारा निर्माण भएको लक्का जवान चलचित्र अहिले अमेरिका र बेलायतका बिभिन्न सहरहरुमा प्रदर्शन भई रहेको छ।
नेपाली कला तथा संस्कृतिको साथ साथै अमेरिकाको न्युयोर्कमा अमेरिकीलाई नेपाली खानाको स्वाद चखाउने पहिलो नेपाली रेस्टुरेन्ट पनि अनु वन्तले स्थापना गरेकी हुन्।
सपना श्री
सयौं चर्चित गीतहरुमा सुरिलो स्वर दिएकी सपना श्री नेपाली सुगम संगीत र पार्स्व गायनमा कहलिएको नाम हो । उनले अमेरिकामा रहेर पनि अनबरत नेपाली संगितलाई माथि उठाउन लागि गरेकी छिन्।
पाँच बर्षको उमेर देखि सुरिलो स्वर दिन सुरु गरेकी सपना श्री रेडियो नेपालबाट संचालित बाल गीत प्रतियोगितामा दुइ पटक सम्म प्रथम स्थान प्राप्त गर्न सफल भइन।
सन् १९८७ मा जापानमा भएको विश्व संगीत महोत्सवमा स्वर्ण पदक हात जितेकी सपनाले वि.सं. २०५० सालमा तत्कालिन राजा बिरेन्द्र शाहबाट गोर्खा दक्षिण बाहु प्राप्त गरेकी थिइन्। उनले २०६० सालमा तत्कालिन अर्का राजा ज्ञानेन्द्र शाहबाट पनि फेरी गोर्खा दक्षिण बाहु पदकबाट सम्मानित भएकी थिइन्।
त्यसै गरि २०५७ सालमा मोशन पिक्चर अवार्डमा सर्वश्रेष्ठ पार्श्व गायकको उपाधि जितेकी सपनाले राष्ट्रिय चलचित्र महोत्सबमा पनि सर्वोकृष्ट पार्श्व गायन, २०५८ सालमा नारायण गोपाल युवा पुरस्कार, २०६२ सालमा छिन्नलता पुरस्कार, शुभ-राज्यभिषेक पदक लगायत दर्जनौ पुरस्कार जितेकी छिन्।
थापा दाजुभाई
थापा दाजुभाई विश्व र विजय अमेरिकाको डिसी मेट्रो क्षेत्रमा रहेर नेपाली भाषाको अनलाइन पत्रिका इ नेप्लिज सञ्चालन गर्दै आएका व्यक्ति हुन्।
‘अमेरिकाको नेपाली समूदायलाई अनवरत रुपमा निःसर्त ,नि:स्वार्थ उदेश्य सहित समुदायका हरेक गतिविधि, अमेरिकी मूलधार र विश्व समाचारलाई समेट्दै समुदायलाई सु-सूचित गर्दै अहोरात्र खटने र समुदायमा योगदान पुर्याउने ईनेप्लिज डटकमलाई सम्मान गरिएको छ।’ इनासद्वार जारी विज्ञप्तिमा भनिएको छ।