१६ बर्षे तन्नेरी नेपाली ठिटो विप्लव,अमेरिकामा जुनियर ओलम्पिक खेल्दै
पेन्सिलभेनिया । अमेरिकाका सबै राज्यका विद्यालयमा अहिले गर्मीविदा छ। स्कूल बन्द भएपछि प्रायस विद्यार्थी फुर्सदिला भएका छन्। तर भर्खर ११ कक्षा सकाएका विप्लव खरेल भने झन् झन् व्यस्त छन्।
भक्तपुर कौशालटारमा जन्मिएर पछिल्ला केही बर्ष देखि अमेरिकाको मिचिगन राज्यमा परिवार सँगै बस्दै आएका १६ बर्षीय विप्लवलाई आसन्न एएयु (एमेच्योर एथलेटिक युनियन) जुनियर ओलम्पिक गेमले व्यस्त बनाएको हो।
शताब्दी भन्दा लामो इतिहास बोकेको र अमेरिकामा विद्यार्थी तथा उमेर समुहको प्रतिस्पर्धामा सबै भन्दा ठूलो खेल मेला एएयु जुनियर ओलम्पिक गेमको यस संस्करण जुलाई ३० देखि अगस्त ६ तारिक सम्म नर्थक्यारोलिनामा हुदै छ।
जुनियर ओलम्पिक गेममा अमेरिकाका सबै राज्यबाट छनौट चरण पार गरेर आएका २७ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
ट्रयाक एण्ड फिल्डका ४१ खेल समावेस हुने जुनियर ओलम्पिकमा विप्लवले तेक्वान्दोमा ४८ केजी तौल समुहमा प्रतिस्पर्धा गर्न लागेका हुन्। मिचिगनमा रहेको ज्योति एभरेष्ट तेक्वान्दो स्कूलका विप्लव जुनियर ओलम्पिकमा छनौट चरण पार गरेर पुगेका हुन्।
नेपाली प्रशिक्षक मास्टर लव गोर्खालीद्वारा संचालित एभरेष्टबाट विप्लव सँगै अन्य पाँच जना खेलाडी पनि एएयु जुनियर ओलम्पिक गेममा खेल्दै छन्।
एउटा नेपालीले अमेरिकामा संचालन गरेको स्कूलका लागि पनि पाएको यो ठूलो सफलता हो। एएयु जुनियर ओलम्पिकमा सहभागि हुन राष्ट्रिय स्तरको छनौट पार गर्नु पर्दछ। प्रशिक्षक अमुल गोर्खालीका अनुसार राष्ट्रिय च्याम्पियनसिपमा एउटै स्कूलबाट पाँच खेलाडी जुनियर ओलम्पिकका लागि दुई स्कूलबाट मात्र छनौट भएका छन्। यसरी पाँच पाँच खेलाडी छनौट गराउन सफल एभरेष्ट र अर्को भर्जिनियाको “यो” तेक्वान्दो स्कूल रहेका छन्।
राष्ट्रिय च्याम्पियनसिपमा कास्य पदक सम्म जित्नेले जुनियर ओलम्पिकमा भाग लिन पाउछन। जुनियर ओलम्पिकलाई टिम ट्रायल पनि भनिन्छ। टिम ट्रायलमा पहिलो हुने खेलाडी राष्ट्रिय टिमका लागि छनौट हुन्छन र उसले उच्च स्तरको नियमित प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्न पाउछन्।
राष्ट्रिय च्याम्पियनसिपको पछिल्लो संस्करण जुलाई ५ देखि ११ तारिक सम्म लस भेगासमा भएको थियो।
मिचिगनबाट दश स्कूलले राष्ट्रिय च्याम्पयनसिपमा भाग लिएका थिए। जसमा कुल आठ पदक मिचिगनले जित्यो । त्यस मध्ये एभरेष्ट ज्योतिले पाँच पदक पायो।
राष्ट्रिय च्याम्पियनसिपमा एभरेष्टबाट २७ जनाले भाग लिएकोमा दुई स्वर्ण र तीन काश्य जित्दै पाँच जनाले नर्थक्यारोलिना यात्रा तय गरेका हुन्।
ती पाँच मध्येका एक विप्लव हुन् जसले स्वर्ण जिते। उनले लसभेगासमा राष्ट्रिय टिमका डेरिक कोलिन्सलाई अंकको आधारमा हराउदै स्वर्ण जितेका हुन्।
आठ बर्षको उमेरमा अमेरिकामा आए पछि नै तेक्वान्दो सिकेका विप्लवले अब नर्थ क्यारोलिनामा पनि टिम ट्राइलमा स्वर्ण जित्ने र राष्ट्रिय टिममा छनौट हुने लक्ष्य बनाएका छन्।
त्यसो त उनी टिम ट्राइलमा सहभागि हुन लागेको यो दोस्रो पटक हो। गत बर्ष उनी काश्य पदकमा नै रोकिएका थिए। टिम ट्राइलमा स्वर्ण जित्ने मात्र राष्ट्रिय टिममा छनौट हुन्छ।
“यसपालि राष्ट्रिय टिममा नै छनौट हुने लक्ष्य छ, गाह्रो त गाह्रै छ तर सकिन्छ।” समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा विल्लवले भने, “पहिला अनुभव थिएन, डर पनि लागेको थियो, तर अहिले तयारी पनि राम्रो छ, जित्न सक्छु भन्ने आत्मविश्वास छ।”
बा आमा र दाई सँग सगै बस्दै आएका विप्लवलाई परिवारको हौसलाले पनि जोस थपेको छ। “घरमा सबै जना खुसी हुनुभएको छ, राम्रो भयो अब टिम ट्राइलमा जित्नु पर्छ भन्नु भएको छ।”
विप्लवका पिता नन्दराम खरेल पनि छोराको सफलतामा दङ्ग छन्। “घरमा बसाल्नु भन्दा कुनै न कुनै खेलमा लगाउने भन्ने थियो उसले तेक्वन्दोमा रहर गर्यो, मेहनत पनि गर्यो, अहिले जुनियर ओलम्पिक खेल्दा धेरै छ खुसी छु।” समाज टाइम्स सँग नन्दरामले भने, “अहिले ब्याल्कवेल्ट सेकेण्ड डान हो, अझै राम्रो गरोस भन्ने छ, उसको गेमको बेलमा आमा पनि सँगै जाने योजना छ।”
विप्लवका नियमित प्रशिक्षक अनमोल गोर्खाली, पनि पहिलाको तुलनामा उनमा खेल्ने क्षमता बृद्दि भएको बताउछन्। “यो बीचमा हामीले धेरै भन्दा धेरै प्रतियोगिता खेल्यौ, जसले विप्लवको कन्फीडेन्ट बढेको छ।”
एभरेष्ट तेक्वान्दोका संचालक तथा प्रमुख प्रशिक्षक मास्टर लव गोर्खाली विप्लव आफ्नो स्कूलको सबै भन्दा मेहनति खेलाडी मध्येमा पर्ने बताउछन्।
“खेलाडीले जति खेल्न पाउछ त्यति नै उसको क्षमता थाहा पाउने हो। ठूला इभेन्टबाट नै खेलाडीमा आत्मविश्वास बढ्छ। हाम्रो स्कूलबाट वर्षमा कम्तिमा पनि ८-९ गेममा भाग लिने गरिएको छ। त्यसले पनि खलाडीलाई सजिलो भएको छ।” मास्टर लवले भने।
राष्ट्रिय च्याम्पियनसिपमा अनुभवि खेलाडीलाई हराएको हुदाँ यो पटक टिम ट्रायलमा विप्लवको सम्भावना राम्रो रहेको प्रशिक्षक लवको बुझाइ छ।
“हाम्रो स्कूलमा सानै देखि आएका,आफै पनि मेहनति पनि छ। यहाँ राम्रो गर्दै गर्यो भने यूएसटीए (अमेरिकन तेक्वान्दो महासंघ) अन्तर्गत पनि खेल्न पाउछ। राष्ट्रिय टिममा परे पछि थप प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउछ। राम्रै हुन्छनी।”
के हो एएयु जुनियर ओलम्पिक गेम
सन् १८८८ मा स्थापना भएको एमेच्योर एथलेटिक युनियन नै शुरुवाती वर्षमा अन्तर्राष्ट्रिय खेलकुद महासंघहरूमा अमेरिकाको प्रतिनिधित्व गर्ने निकाय हो। युनियनबाट नै अन्तर्राष्ट्रिय खेलहरूमा अमेरिकाले सहभागिता जनाउने गर्दथ्यो। एएयुले ओलम्पिकका लागि खेलाडी तयार गर्ने काम पनि गरेको थियो। तर सन् १९७८ मा एमेच्योर खेलकुद ऐन बने पछि, एएयुले ग्रास रूट स्तरलाई आफ्नो कार्यक्षेत्र बताउदै आएको छ। एएयुले विद्यार्थी र उमेर समुहका लागि खेलकुद कार्यक्रमहरू गर्दै आएको छ।
“सबैका लागि खेलकुद, सधैंभरि” भन्ने स्लोगन बोकेको एएयु संसारको सबैभन्दा ठूलो बहु-खेल कार्यक्रम संस्थाहरू मध्येमा लिइन्छ। एएयु विशेष रूपमा एमेच्योर खेलकुद र शारीरिक फिटनेस कार्यक्रमहरूको प्रवर्द्धन र विकासको लागि समर्पित छ। यसका सात लाख भन्दा धेरै सदस्य र एक लाख पचास हजार भन्दा धेरै स्वयंसेवक परिचालित छन्।
एएयु जुनियर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने खेलाडी अमेरिकाको नागरिक, कानुनी रूपमा अमेरिका बसोबास गरेको हुनु पर्दछ।
तपाई पनि विप्लव सहित एभरेष्ट तेक्वान्दो स्कूलका खेलाडीलाई सहयोग गर्न चाहानु हुन्छ भने यो लिङ्कमा जान सक्नु हुन्छ।