बालेन साह भन्छन– काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । काठमाडौं महानगरपालिकामा नव निर्वाचित मेयर बालेन साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन ।
राष्ट्रियसभावाट सुरु भएको बिजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर बालेनले सो कुरा बताएका हुन्।
शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले
जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए ।
उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘ ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु ।’
स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन्
उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।
नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा बिजयी हासिल गरेका हुन ।
बालेनलाई बधाई दिँदै स्थापितले भने- हरेक मतपत्रको सम्मान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु
एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान बालेनलाई मेयरमा विजयी भएको घोषणा गरेपछि स्थापितले बधाई दिँदै आफूलाई अवसर दिने एमालेप्रति आभार व्यक्त गरेका छन् ।
‘म पटक-पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रूपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ,’ शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थापितले भनेका छन् ।
पाँच वर्षे कार्यकालमा बालेनको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्ने अपेक्षा पनि लिएको स्थापितले बताएका छन् । ‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धर्मराएको छैन। निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु,’ उनले भनेका छन् ।












