१३ औं आईओएफटीसीमा एभरेष्टलाई ८३ स्वर्ण

Getting your Trinity Audio player ready...
|
मिचिगन । १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपमा स्थानिय आयोजक एभरेष्ट तेक्वान्दोले ८३ स्वर्ण जितेको छ।
इस्टर्न मिचिगन विश्वविद्यालयको कवर्डहलमा शनिवार सम्पन्न च्याम्पियनसिपमा आठ मुलुक र अमेरिकाका विभिन्न ११ राज्यका गरि तीन सय १० खेलाडीले भाग लिएका थिए।
महिला र पुरुष दुबै तर्फ सिनियनयर र जुनियरमा विभिन्न तौल समुह र उमेर समुहमा पुम्से र स्पाइरिङ्ग (कुरेगि) गरि प्रतिस्पर्धा गराइएको थियो ।

पाँच म्याटमा सञ्चालन भएको च्याम्पियनसिप महोत्वस जस्तै देखिएको थियो । लगातार दश घण्टा हरेक म्याटमा प्रतिस्पर्धा निरन्तर भएका थिए।

च्याम्पियनसिपमा सबै भन्दा धेरै खेलाडी सहभागि गराएको एभरेष्टले ८३ स्वर्ण जित्यो । यस्तै उसले बीस रजत र २५ काश्य पनि घरमा नै राख्यो । मिचिगनकै अर्को तेक्वान्दो स्कूल एलटिएले २० स्वर्ण जित्यो ।
च्याम्पियनसिपमा ओहायोको एक्रोनबाट सहभागि सनशाइन मार्शल आर्ट्सले ११ स्वर्ण, १४ रजत र ६ काश्य पदक जित्यो । सनशाइन मार्शल आर्ट्स च्याम्पियनसिपको सहयोगि टिम समेत घोषित भयो। सनसाइनका २७ खेलाडीले च्याम्पिनसिपमा सहभागिता जनाएका थिए।
मिचिगनकै ओलम्पिया तेक्वान्दो एकेडेमीले १० स्वर्ण, ४ रजत र १ काश्य जित्यो ।
च्याम्पियनसिपमा पेन्सिलभेनियाको हरिशबर्गमा रहेको हिमालयन र उसको ब्रान्च गोल्बल तेक्वान्दो एकेडेमीबाट सहभागि सबै खेलाडीले पदक पाए ।
हिमालयनले ६ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्यो ।
च्याम्पियनसिपमा पुरुषतर्फ इभेन फ्रान्सवा उत्कृष्ट खेलाडी घोषित भए । महिला तर्फ हेलो क्यानेजो उत्कृष्ट भए ।
यस्तै रेफ्रिमा पनि महिला र पुरुषमा एक एक जनालाई वेष्ट रेफ्रि घोषित गरिएको थियो। पुरुष तर्फ मिचिगनका थोमस सन उत्कृष्ठ भए। महिलामा पेन्सिलभेनियाकी बिनिता पुरी राई उत्कृष्ट भइन।
च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका थिए । यस्तै रेफ्रि चियरमा अस्ट्रेलियाका रेने लेभोस थिए। उनी ओलम्पिक रेफ्रि समेत हुन् । यस्तै अर्का रेफ्रि चियर रेमण्ड सु थिए। उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन् ।
अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) हेडक्वारट पोर्टल्याण्ड अमेरिका मुख्य आयोजक रहेको च्याम्पियनसिप सन् २००० देखि शुरु भएको हो । शुरुवाती दुई संस्करण नेपालमा भएको च्याम्पियनसिप भारत, हङ्कङ्ग र बेलायतमा पनि भइसकेको छ।
अमेरिकामा पनि यस अगाडि हेडक्वाटर पोर्टल्याण्ड मात्र हुदै आएको च्याम्पिनसिप हेडक्वाटर भन्दा अर्को राज्यमा भएको पहिलो पटक हो । १३ औं संस्करणको स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो मिचिगन रहेको थियो ।
च्याम्पियनसिपलाई युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (युयुएनटीफ) र गैरआवासीय नेपाली संघ अमेरिकाको सहयोग रहेको थियो।