बानाको चुनाव आइतवार, तपाईको भोट कसलाई ?
अमेरिका । बाल्टिमोर एशोशिएशन अफ नेप्लिज इन अमेरिका (बाना) को नयाँ नेतृत्वका लागि (अप्रिल ३ तारिक) आइतवार निर्वाचन हुदैँ छ ।
बिहान आठ बजे देखि साँझ पाँच बजे सम्म हुने करिब २३ सय जनाको मतदानले विगत ६ महिना देखि उमेदवारहरुको तयारीको परिक्षा लिने छ ।
बानाको अब नेतृत्व हाक्नका लागि सुवोध विलास पन्त र हिरा गुरुङ प्यानल सहित आमन्ने सामन्ने छन् । अघिल्लो पटक यी दुबैजना एउटै टिममा थिए । सुवोध अध्यक्ष र हिरा बरिष्ठ उपाध्यक्ष हुन् ।
दुबै उमेदवारले एकले अर्कोलाई हराउने दावी गरेका छन् । कोरोना महामारीका कारण आफुले बाचा पुरा गर्न नपाएकाले अर्को एक कार्यकाल दोहोर्याउन पर्ने सुवोधको भनाई छ ।
“कोभिडका कारण मैले शुरु गरेका काम पुरा गर्न सकेको छैन्, त्यो पुरा गर्न, समावेसी टिम बनाएर बानामा सबैलाई समेट्न मेरो आवश्यकता छ ।” सुवोध भन्छन् ।
“बानालाई ऋणमुक्त गर्नु छ । सिटी अफिसमा, मेयर, अफिसमा, काउन्टीमा हामी भर्खर कनेक्ट हुदै छौं ति कामलाई निरन्तरता दिन पनि मेरो आवश्यकता छ । मैले नै शुरु गरेका काम हुन, म नै भए भने पुरा हुन सहज हुन्छ। ति काम पुरा गर्न हिरा गुरुङ सक्षम छैनन ।”
तर हिराको भने फरक मत छ । उनी सामाजिक संस्थामा व्यक्ति पटक पटक दोहोरिन नहुने पक्षमा छन् ।
“एक व्यक्ति, एक पद, एक पटक भन्ने हो। अर्को पाटो बानामा हरेक चुनाव पछि एउटा पक्षले संस्था छोडेर जाने चलन छ त्यो मैले तोड्छु म सबैलाई समेट्छु ।” हिरा भन्छन् “आर्थिक पारदर्शिताको पनि कुरा छ । हरहिसाव कार्यसमिति भन्दा बाहिर पनि लैजानु पर्छ भन्ने छ, म त्यो गर्छु।”
चुनावको अघिल्लो दिन तपाईलाई किन भोट दिने भन्ने प्रश्नको जवाफमा दुबै जनाको प्रतिक्रिया थियो । दुबै पक्षले आ आफ्नो प्यानल र चुनावी प्रतिवद्दता नै बनाएका छन् ।
हिराले सुवोध माथि सहमति तोडेको आरोप लगाएका छन्। “अघिल्लो पटक हामी सबै मिलेर भाइलाई (सुवोध) अध्यक्ष बनाइयो। त्यो बेलामा अबको पालो मेरो भनिएको थियो त्यही भएर म बरिष्ठ उपाध्यक्षका लागि राजिभएको हो तर त्यो सहमति अहिले पालाना भएन।”
तर सुवोध त्यो मान्न तयार छैनन । “सहमति केही पनि भएको होइन, सामाजिक काममा सक्नेले गर्ने हो,जसले काम गर्न सक्छ उ नै अगाडि जाने हो, अध्यक्ष हुन त सबैलाई रहर होला तर काम गर्न सक्ने पनि हुन पर्यो । बैठकमा नआउने अरुले उचालेको भरमा उमेदवारी दिएर हुन्छ ।”
उमेदवारीले तोडियो दोश्ति
सुवोध र हिरा एक दशक भन्दा बढी समय देखि अमेरिकामा छन् । नेपालमा पनि यी छिमेकी जिल्लाका हुन । चेपेखोला वारीपारीका यी दुई जना विचारधारामा पनि एउटै पार्टी निकट हुन् ।
लमजुङ्ग तार्कुघाटका सुवोध र गोरखा सिरानचोकका हिरा नेकपा एमाले समर्थक हुन् । दुबै जना प्रवासी नेपाली मञ्च अमेरिकाका सदस्य पनि हुन् । त्यो भन्दा पनि ठूलोकुरा उनीहरु बाल्टिमोरमा पछिल्लो समय एउटै घरमा “रुममेट”को रुपमा बस्दै आएका थिए ।
जनवरी ७ तारिकको दिन जव हिराले फेसबुकमा उमेदवारी घोषणा गरे त्यस पछि उनीहरु एउटै घरमा बस्न छोडेका मात्र होइन लगभग बोलचाल नै बन्द छ ।
“म खरो मान्छे हुँ, उहाँले सल्लाह गर्नु पर्ने हो नी एउटै घरमा बस्ने तर एकै पटक फेसबुकमा उमेदवारी घोषणा गरे पछि थाहा पाउनु पर्ने ? त्यस पछि मैले ल अब तपाई र म भिन्ना भिन्नै बसौ भनेको हो।” सम्वन्ध विग्रनुको कारण सुवोध भन्छन् ।
तर हिरा भने सुवोधले पहिला आफुलाई समर्थन छ भन्ने तर भित्र भित्रै आफै तयारी गरे पछि उमेदवारी घोषणा गरेको बताउछन् ।
“हामी दुबै भाइ भएरै हिडेको हो । दुई भाइ एकै ठाँउ एकै बिचार सँगै बसेको । पछिल्लो समयमा सबैको सल्लाहले सुवोध भाइलाई छोडेर म बरिष्ठमा बसेको हो । यस पटक मेरै पालो हो । सामाजिक काममा दोहोर्याएर पद लिन हुन्न भन्ने हो। तर भाइ मानेनन् ।”
बानाको चुनावका कारण सुवोध र हिरा मात्र होइन बाल्टिमोरमा रहेको नेपाली समाज नै अहिले दुई कित्तामा बाढिएको छ ।