एनआरएनए विवाद : आधिकारिताको दाबी गर्दै घले समुह अदालत जाने
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) आधिकारिकताको दाबी गर्दै पूर्व अध्यक्ष शेष घले समुह अदालत जाने भएको छ ।
सरोकारवाला परराष्ट्र मन्त्रालयले आधिकारिकता मान्यता नदिए पछि घले समुह अदालत जाने भएको हो ।
परराष्ट्रको निर्देशन अनुसार नै आफूहरुले जिम्मेवारी पुरा गरेको भन्दै घले समुहले आधिकारिकताको दावी गर्दै निवेदन दर्ता गराएको थियो । एनआरएनएका तत्कालिन मुख्य संरक्षक घलेले गराएको महाधिवेशनबाट निर्वाचिन अध्यक्ष बिनोद कुँवरको तर्फबाट परराष्ट्र मन्त्रालयमा निवेदन दिइएको थियो ।
संस्थापनपक्षले गरेको विधान संसोधन प्रमाणिकरण अगाडि नै घले समुहले निवेदन दर्ता गराएको थियो ।
घलेले विभिन्न राष्ट्रिय समन्वय समितिको जुम बैठकको निर्णय पछि महाधिवेशन आह्वान गरेका थिए । घलेले आह्वान गरेको महाधिवशेनमा भाग लिन काठमाडौं पुगेका मध्ये कुल आचार्य समर्थकहरुले अन्तिम समयमा क्याम्प फेरेका थिए ।
कुल आचार्य समुहले साथ छोडे पनि घलेले मार्च २२-२४ मा महाअधिवेशन गराउदै कुँवरको अध्यक्षतामा नयाँ टिम निर्वाचित भएको घोषणा गरिएको थियो । यता कुल आचार्यको समुहलाई लिएर संस्थापन पक्षले पनि महाधिवेशन सम्पन्न गरेको छ।
परराष्ट्र मन्त्रालयले मान्यता दिएको संसोधित विधान अनुसार तीन अध्यक्ष सहित जम्बो टिम घोषणा भइसकेको छ । दुबै पक्षले आफ्नो महाधिवेशनलाई आधिकारिक भनेका छन् । संस्थापन पक्षको महाधिवशेनको उद्घाटनमा राष्ट्रपति विध्यादेवी भण्डारी र समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि थिए ।
घले समुहको महाधिवेशनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । घले समुहले आयोजना गरेको महाधिवेशनका संयोजक तथा एनआरएनएका निवर्तमान उपाध्यक्ष सोनाम लामाले अब आधिकारिकताको छिनोफानो अदालत बाटै हुने बताए ।
“हामीले एनआरएनएको विधान र परराष्ट्र मन्त्रालयको पत्रकै आधारमा महाधिवेशन गराएका हौ तर यहाँ कुल आचार्य अध्यक्ष हुने पक्का भए पछि कुरा फेरिएको हो,अब हामी अदालत जान्छौं ।” समाज टाइम्स सँगको कुराकानीमा लामाले भने । “हामीले तयारी गरिरहेका छौ भोलि सम्ममा मुद्दा दायर हुन्छ, पहिला हामी उच्च अदालत नै जान्छौ त्यहाँ भएन भने सर्वोच्च सम्म पनि पुग्छौं ।”