१६औँ आइओएफटीसी : अस्ट्रेलियाको मेलबर्नमा, पाँच देशका खेलाडी भिड्दै
मेलबर्न, अस्ट्रेलिया / २६ वर्षअघि एक नेपालीले काठमाडौबाट सुरु गरेको अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को यात्रा अहिले अस्ट्रेलियाको मेलबर्नसम्म आइपुगेको छ।
१६औँ आइओएफटीसी नोभेम्बर २८ र २९ मा मेलबर्नमा आयोजना हुँदैछ। प्रतियोगिताको तयारी र सहभागिताबारे जानकारी दिन बिहीबार मेलबर्नमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उत्साह व्यक्त गरेका छन्।
अमेरिकाको पोर्टल्यान्डमा मुख्य कार्यालय रहेको आइओएफटीसीले हरेक दुई वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा यस पटक आयोजक अस्ट्रेलियासहित नेपाल, भारत, अमेरिका र संयुक्त अरब इमिरेट्सका खेलाडी सहभागी हुनेछन्।
सुरुमा १२ देखि १३ देशका खेलाडी सहभागी हुने अपेक्षा गरिए पनि भिसासम्बन्धी समस्याका कारण पाँच देशमा सीमित हुनुपरेको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा आइओएफटीसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर डान महर्जनले सन् २००० मा काठमाडौंमा सुरु भएको च्याम्पियनसिप २६ वर्षको यात्रामा रहेकोमा खुसी व्यक्त गरे ।
‘सन् २००० मा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप आयोजना गरेका थियौँ। अहिले २६ वर्षको यात्रामा आइपुग्दा यसको आकार र पहुँच निकै विस्तार भएको छ,’ ग्राण्ड मास्टर महर्जनले भने ।
महर्जनको पहलमा सुरु भएको आइओएफटीसीले तेक्वान्दो खेलको माध्यमबाट अन्तर्राष्ट्रिय मित्रता, खेल भावना र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्दै आएको छ। हरेक दुई वर्षमा आयोजना हुने प्रतियोगिताले विभिन्न देशका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एउटै मञ्चमा जोड्दै आएको छ।
१६ औं आइओएफटीसी आयोजक समितिका संयोजक तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया अन्तर्गत भिक्टोरियाका संयोजक एवं तेक्वान्दो प्रशिक्षक महादेव धानुकले प्रतियोगितामा करिब दुई सय खेलाडी सहभागी हुने जानकारी दिए ।
उनका अनुसार सहभागीमध्ये सबैभन्दा ठूलो संख्या अस्ट्रेलियाका खेलाडीको हुनेछ।
नेपालका पूर्वतेक्वान्दो खेलाडी धानुक एभरेस्ट तेक्वान्दो स्कुल भिक्टोरियाका संस्थापक, निर्देशक तथा मुख्य प्रशिक्षक हुन ।
१६औँ संस्करण आयोजना गर्ने जिम्मेवारी अस्ट्रेलियालाई दिएकोमा आइओएफटीसीप्रति आभार व्यक्त गर्दै धानुकले प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने र विभिन्न देशका खेलाडीसँग मैत्री सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने बताए ।
अमेरिकाबाहिर पाँचौँ पटक
आइओएफटीसीले स्थापनाकालदेखि नै एक संस्करण अमेरिकामा र अर्को संस्करण अमेरिकाबाहिर आयोजना गर्ने परम्परा कायम राख्दै आएको छ।
यस क्रममा अमेरिकाको पोर्टल्यान्डमा पाँच संस्करण र नेपालमा पाँच संस्करण आयोजना भइसकेका छन्। त्यस्तै भारत, बेलायत, हङकङ, अमेरिकाको मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करण सम्पन्न भएका छन्।
फाइट र पुम्से दुवै विधामा प्रतिस्पर्धा
विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) को नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधामा प्रतिस्पर्धा हुनेछ।
सिनियर पुरुष र महिलातर्फ समान आठ–आठ तौल समूहमा खेल हुनेछ। जुनियरतर्फ महिला र पुरुषका समान दस–दस तौल समूह तथा क्याडेटतर्फ पनि दस–दस तौल समूहमा प्रतिस्पर्धा गराइनेछ।
सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन विधामा खेल हुनेछ। यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि समावेश गरिएको छ।
प्रतियोगितामा अमेरिकाका पुम्से प्रशिक्षक मास्टर अन्जिलिटो ओङ, स्पारिङ प्रशिक्षक अमोल गोर्खाली र अस्ट्रेलियाका रेफ्री संयोजक मास्टर डिन्जिल रोयको उपस्थिति रहनेछ। प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनारसमेत आयोजना हुनेछ। सेमिनार मास्टर ओङ र गोर्खालीले सञ्चालन गर्नेछन्।
१७औँ संस्करण फ्लोरिडामा
आइओएफटीसीको १७औँ संस्करण सन् २०२८ मा अमेरिकाको फ्लोरिडामा आयोजना हुने भएको छ। प्रशिक्षक मास्टर ओङको संयोजनमा हुने प्रतियोगिताको मिति भने पछि तय गरिने आयोजकले जनाएको छ।



















