अब मुलुकमै फर्किएर काम गर्ने विषयमा पनि सोचिरहेकी छु : सीता सापकोटा घिमिरे
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला सदस्यका दुई पदमध्ये सर्वाधिक मतसहित सीता सापकोटा घिमिरे विजयी भएकी छन्।
बेल्जियम निवासी घिमिरेले तीन हजार एक सय १३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी हुन्। क्यानडा निवासी चन्द्रा अधिकारी दुई हजार आठ सय ९६ मतसहित विजयी हुँदा अमेरिकाकी रविना थापा दुई हजार पाँच सय ६ मतसहित पराजित भइन्।
प्रस्तुत छ, नवनिर्वाचित केन्द्रीय सदस्य सीता सँग टेलिफोनमा गरिएको कुराकानीको सम्पादित अंश।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति तर्फ सर्वाधिक मतसहित विजयी हुनुभएको छ। यो जितलाई कसरी लिनुभएको छ?
यो जित मेरा लागि निकै खुसीको विषय हो। विदेशमा यति लामो समय बिताए पनि आफ्नो पार्टीको आस्था, सिद्धान्त, आदर्श, मूल्य र मान्यतालाई कहिल्यै बिर्सन सकिनँ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएकी हुँ। २०४४ सालसम्म विद्यार्थी आन्दोलनमा सक्रिय थिएँ। २०४६ सालको जनआन्दोलनमा पनि उत्तिकै लागेँ। २०४८ सालको पहिलो आमनिर्वाचनमा पार्टीका लागि सक्रियतापूर्वक काम गरेँ।
२०५० सालमा नेपाल विद्यार्थी संघ चितवनको जिल्ला सचिव भएँ। त्यसपछि नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको सदस्यका रूपमा काम गरेँ। तरुण दलको केन्द्रीय समितिअन्तर्गतका विभिन्न जिम्मेवारीमा रहेर पनि काम गरेँ। पछि विदेश आएपछि नेपाली जनसम्पर्क समितिको सभापति भएँ र तीनपटक महासमिति सदस्य बनेँ।
पार्टीका कार्यक्रमहरूमा सहभागी हुन बेल्जियमबाट काठमाडौं र काठमाडौं पुगेपछि चितवनसम्म पुग्थेँ। पार्टीप्रति त्यति धेरै मोह थियो। रहर, बाध्यता र परिस्थितिले विदेशमा यति लामो समय बिताउनुपरे पनि मेरो अन्तिम लक्ष्य मुलुक फर्किएर आफ्नै पार्टीमा सक्रिय रूपमा काम गर्ने थियो। अहिले पार्टीले दिएको जिम्मेवारीले त्यो लक्ष्य पूरा गर्ने बाटो केही हदसम्म खुलेको महसुस गरेकी छु। त्यसैले म निकै खुसी छु।
चुनावमा महिला सदस्यका दुई पद थिए। तपाईं छ जना उम्मेदवारमध्ये पहिलो हुनुभयो। यो जित कत्तिको सहज रह्यो?
चुनाव न अत्यन्त असहज भयो, न त सहजै जित हासिल भयो। म करिब २५ वर्ष यो समुदायबाट टाढा बसेकी थिएँ। पुराना पुस्ताका कांग्रेसका नेता तथा कार्यकर्ताले मलाई चिन्नुहुन्थ्यो, तर नयाँ पुस्तासँग परिचित हुन र नजिकिन केही कठिनाइ थियो।
विद्यार्थी जीवनदेखि क्याम्पसको राजनीति, नेपाल विद्यार्थी संघ र तरुण दलमा काम गर्दाको मेरो आफ्नै सम्पर्क सञ्जाल थियो। पुराना नेताहरूसँगको सम्बन्ध पनि कायम थियो। बीचमा लामो समयको अन्तराल भए पनि देशका विभिन्न जिल्लामा मेरो सानो–ठूलो सम्पर्क सञ्जाल थियो। त्यही सम्बन्ध र पार्टीमा विगतमा गरेको कामले सहयोग गर्यो। त्यसैले चुनाव त्यति असहज भएन।
कुनै समय कारवाहीमा परेको व्यक्ति अहिले केन्द्रिय सदस्य हुनुभयो नी
त्यो बेला शेरबहादुर देउवा पार्टी सभापति हुनुहुन्थ्यो। बिमलेन्द्र निधि उपसभापति र डा. शशांक कोइराला महामन्त्री हुनुहुन्थ्यो। निधिको सिफारिसमा सभापति देउवाले मलाई कारबाही गर्नुभएको थियो। तर तत्कालीन केन्द्रीय समितिको बहुमतले २४ घण्टाभित्रै उक्त निर्णय फिर्ता लिएर मलाई पुनःस्थापित गरेको थियो।
त्यतिबेला शेखर दाइ, रामचन्द्र दाइलगायतका नेताहरू पनि केन्द्रीय समितिमा हुनुहुन्थ्यो। सभापति देउवाका केही सीमित व्यक्तिहरूको पहलमा भएको कारबाहीलाई केन्द्रीय समितिको बहुमतले सच्याएको थियो।
अब केन्द्रीय सदस्यका रूपमा तपाईंका मुख्य एजेन्डा के हुनेछन्? विदेशमा बसेर पार्टीका लागि काम गर्दा कुन विषयलाई प्राथमिकता दिनुहुन्छ?
मेरो पहिलो प्राथमिकता नेपाली कांग्रेसलाई विश्वभरि फैलिएको सञ्जालमार्फत अझ सुदृढ बनाउनु हो। पार्टीको वास्तविक मर्म र भावनालाई बुझेर कार्यकर्ताहरूले काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ।
हाम्रा धेरै साथीहरू पार्टी छोडेर बाहिर जानुभएको छ। कतिपय अन्य पार्टीमा प्रवेश गर्नुभएको छ। नयाँ राजनीतिक शक्तिहरूमा जानुभएका साथीहरूमध्ये पनि कतिपय निराश भएको देखिन्छ। त्यसैले पार्टी छोडेर बाहिर जानुभएका साथीहरूलाई पुनः आफ्नै घरमा फर्काउने वातावरण बनाउनु हाम्रो पहिलो काम हुनुपर्छ।
दोस्रो कुरा, मुलुकको समृद्धि र पार्टीको रूपान्तरण हो। विगतमा कांग्रेसबाट पनि कमजोरी भएका छन्। पुराना नेताहरूले आफ्नो बाटो बिराउँदा र जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जेन्जी आन्दोलनजस्तो परिस्थिति उत्पन्न भयो। त्यसबाट हामीले पाठ सिक्नुपर्छ।
यति लामो इतिहास र लोकतान्त्रिक मूल्य बोकेको नेपाली कांग्रेसलाई केही सीमित व्यक्तिका कारण विचलित हुन दिनु हुँदैन। अब पार्टीलाई मूल बाटोमा फर्काएर नयाँ सोच, ऊर्जा र दृष्टिकोणसहित अघि बढाउनुपर्छ। रुपान्तरित र नवीन कांग्रेस निर्माण गर्नुपर्छ।
अन्ततः पार्टीभन्दा पनि ठूलो मुलुक हो। हाम्रो सोच देश र जनताको दीर्घकालीन हितमा केन्द्रित हुनुपर्छ। पार्टीले मलाई यति ठूलो जिम्मेवारी दिइसकेपछि अब मुलुकमै फर्किएर काम गर्ने विषयमा पनि सोचिरहेकी छु।
तपाईं जनसम्पर्क समितिबाट निर्वाचित हुनुभएको हो। त्यसैले विदेशमा रहेका कांग्रेस समर्थक र नेपाली समुदायका मुद्दा उठाउनु पनि तपाईंको जिम्मेवारी हो नि, होइन?
अवश्य पनि। जनसम्पर्क समितिका साथीहरूसँग मिलेर संगठनलाई विस्तार गर्ने, संगठनमा आबद्ध साथीहरूलाई पार्टीप्रति अझ परिपक्व, जिम्मेवार र प्रतिबद्ध बनाउने काम मेरो प्राथमिकतामा रहनेछ।
तर मेरो जिम्मेवारी विदेशमा रहेका नेपाली र पार्टीका साथीहरूमा मात्रै सीमित हुँदैन। केन्द्रीय सदस्य भइसकेपछि देशभित्रै पनि बसेर काम गर्न सक्छु। विदेशमा रहेर पनि काम गर्नेछु र पार्टीले दिएको जिम्मेवारीअनुसार नेपालमा पनि सक्रिय हुनेछु।
यो कार्यकालमा विदेशमा रहेका नेपाली र जनसम्पर्क समितिको संगठनलाई पनि हेर्नुपर्ने हुन्छ। तर दीर्घकालीन रूपमा भने बिस्तारै मुलुकमै फर्किएर काम गर्ने मेरो सोच छ।
युरोप, अमेरिका, खाडी मुलुक र प्रशान्त क्षेत्रका नेपालीका मुद्दा पनि फरक छन्। विशेषगरी युरोप र अमेरिकामा रहेका नेपालीका समस्यालाई कसरी पहिचान गर्नुहुन्छ?
विदेशमा रहेका नेपालीका लागि सबैभन्दा महत्त्वपूर्ण मुद्दा दोहोरो नागरिकताको हो। ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतालाई व्यवहारमा लागू गर्नुपर्छ।
विगतमा ठूला दलका सरकार बने। दुईतिहाइको समर्थन प्राप्त सरकारसमेत बने। तर विदेशमा रहेका नेपालीका नागरिकतासम्बन्धी मागलाई अपेक्षाअनुसार सम्बोधन गर्न सकिएको छैन।
विदेश गएर अर्को देशको नागरिकता लिएका नेपालीहरू आफ्नो जन्मभूमि फर्किंदा उनीहरूलाई आफ्नै देशमा दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिनु हुँदैन।
उनीहरूले नेपालको अर्थतन्त्रमा लगानी गर्न सक्छन्, आफ्नो सीप, ज्ञान, अनुभव र पुँजी मुलुकको विकासमा लगाउन सक्छन्। तर आफ्ना पुर्खाले आर्जेको सम्पत्ति, आफ्नो जन्मभूमिसँगको सम्बन्ध र नेपाली पहिचानसँग जोडिएका विषयमा उनीहरूले विभिन्न कठिनाइ भोग्नुपरेको छ।
विदेशमा रहेका नेपालीले आफ्नो देशमा लगानी गर्न, आफ्नो सीप र अनुभव हस्तान्तरण गर्न तथा मुलुकको विकासमा योगदान दिन सहज वातावरण पाउनुपर्छ। यसका लागि नीतिगत र कानुनी अवरोध हटाउन आवश्यक छ।
यस विषयमा कांग्रेसले पनि विगतमा पर्याप्त काम गर्न सकेको छैन। पटकपटक आश्वासन दिइए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। त्यसैले मेरो मुख्य एजेन्डा नै ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यताअनुसार दोहोरो नागरिकताको अधिकार सुनिश्चित गर्न पहल गर्नु हुनेछ।
म यो मुद्दालाई पार्टीभित्र र आवश्यक राजनीतिक तथा नीतिगत तहमा बलियो रूपमा उठाउनेछु। विदेशमा रहेका नेपालीको भावना, उनीहरूको योगदान र नेपालसँगको सम्बन्धलाई सम्मान गर्ने व्यवस्था हुनुपर्छ भन्ने मेरो दृढ मान्यता हो।

















