‘डिटेस्ट’ को अनलाइन टिकट बिक्रीको पचास प्रतिशत रकम नेपालका बाढीपीडितलाई सहयोग गरिने
भर्जिनिया, अमेरिका / नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको उद्धार र राहतका लागि ‘थ्री इ इन्टरटेन्मेन्ट’ ले ‘ग्लोबल फेमिली फाउन्डेसन’ सँगको सहकार्यमा “टुगेदर फर नेपाल: म्युजिक विथ अ पर्पोज” अभियान सुरु गरेको छ।
यस आपतकालीन विपद्मा सहयोग पुर्याउन थ्री इ इन्टरटेन्मेन्टले यसअघि नै १ लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ।
‘प्रत्येक डलरको महत्त्व हुन्छ’ भन्ने मूल मर्मका साथ सुरु गरिएको यस अभियानले आगामी सांस्कृतिक कार्यक्रम र कलाकारहरूको सांगीतिक भ्रमणलाई राहत संकलनको मुख्य माध्यम बनाएको छ।
यसैक्रममा अमेरिकामा आयोजना हुन गइरहेका ‘डिटेस्ट भर्जिनिया’ र ‘डिटेस्ट न्यु इङ्गल्याण्ड’ ले आगामी सेप्टेम्बर १० सम्म हुने अनलाइन टिकट बिक्रीको ५० प्रतिशत रकम बाढीपीडितहरूको सहयोगका लागि छुट्याउने घोषणा गरेका छन्।
यस मानवीय कार्यमा कलाकारहरूले पनि ऐक्यबद्धता जनाएका छन्। आफ्नो ३०औं वर्षगाँठको अवसरमा अमेरिकी सांगीतिक भ्रमणमा रहेको चर्चित रक ब्यान्ड ‘मुक्ति एन्ड रिभाइभल’ तथा प्रख्यात कलाकारहरू समिक्षा अधिकारी र शिव परियारले प्रत्येक सांगीतिक कार्यक्रमबाट ५०० अमेरिकी डलर राहत कोषमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।
संकलित राहत रकम बाढीबाट अति प्रभावित वर्ग र समुदायसम्म पुर्याउने जिम्मेवारी ग्लोबल फेमिली फाउन्डेसनले लिएको छ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई सेप्टेम्बर १० अघि नै अनलाइनमार्फत टिकट खरिद गरी यस परोपकारी अभियानमा सहभागी हुन हार्दिक अपिल गरेका छन्।














