रसुवा बाढीपीडितप्रति पेन्सिल्भेनियामा यूजीएसएको दीप प्रज्वलन
मेकानिसवर्ग, पेन्सिल्भेनिया / यूनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (यूजीएसए) ले नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ताहरूको तत्काल उद्धारको कामना गर्दै आइतवार पेन्सिल्भेनियाको मेकानिसवर्गमा दीप प्रज्वलन गरेको छ।
यूजीएसए ह्यारिसबर्ग र कारलायल च्याप्टरको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका थिए।
दीप प्रज्वलनअघि समाजका पच्यु भीम पज्यु गुरुङ र मान टु घय्परिङ गुरुङले ‘बत्ती म्रबा पे’ वाचन गरेका थिए। त्यसपछि विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।
कार्यक्रममा यूजीएसएका उपाध्यक्ष अगम गुरुङले संस्थाले नेपालमा बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने उद्देश्यले नेपाल सरकारको दैवी प्रकोप कोषमा आर्थिक सहयोग जुटाउने अभियानसमेत सुरु गरेको जानकारी दिए।

नेपालको रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। तिब्बततर्फबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गर्दा रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीका नदी तटीय क्षेत्रसमेत प्रभावित भएका छन्। बाढीले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, सञ्चार तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पछिल्ला विवरणअनुसार सोमबार बिहानसम्म बाढीमा परी ९०३ जनाको शव फेला परेको, ४ हजार २०२ जना सम्पर्कविहीन रहेको र १० हजार ४५१ जनाको उद्धार गरिएको छ। २६७ जना घाइतेमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बेपत्ताको यकिन संख्या अझै निर्धारण हुन नसकेको र खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

यस्तो विपत्तिको समयमा प्रवासमा रहेका नेपाली समुदायले मृतकप्रति श्रद्धाञ्जली, घाइतेप्रति स्वास्थ्य लाभको कामना र प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले विभिन्न कार्यक्रम तथा राहत अभियान सञ्चालन गरिरहेका छन्। यूजीएसएले सुरु गरेको आर्थिक सहयोग अभियान पनि यही मानवीय भावनाअन्तर्गत रहेको उपाध्यक्ष गुरुङले बताए।














