कविता सुन्न किन जानु ?

त्यस हलमा म प्रवेश गर्दा ओम घिमिरे कविता वाचन अभ्यासरत थिए । सिँढी चढ्दै गर्दा त्रिविक्रम न्यौपाने र दिपेश चापागाँइसँग एउटा अभिवादन साटी सकिएकाले उनको प्रस्तुतिपछि ढोग भेट गरेँ। केही बेर भित्रै – तिन जना जवानहरू प्रवेश गर्छन् । कला साहित्य सङ्गम लेङ्कास्टरले आह्वान गरिएको भए पनि आफ्नै व्यानरमा कार्यक्रम राखिने भनी कालो पर्दा लगाउन ब्याक ड्रप स्टेण्डका तिन खुट्टा मिलाउन थाले पातलो अन्तरे, शेखर काकु र भरत तिम्सिना ।
त्यो भूमिका मेरो आँखामा जुलाई २५, २०२६ शनिवारको सन्ध्याकालमा प्रवेश गरेको हो। मनदेखि मनसम्मको काव्यिक प्रस्तुति सुन्न म दर्शक दीर्घामा बसेर अवलोकन गर्दै थिएँ। सात बजेर केही मिनेट गएपछि उपस्थित श्रोतालाई स्वागत गर्दै गोविन अधिकारीले -हाम्रो उद्घोषक हुँदैन । प्रत्येक कविले पाँच मिनेट भन्दा लामो कविता वाचन नगरिदिनु साथै व्यक्तिगत रूपमा कसैलाई फोटो या भिडियो नखिची दिनु भनि आग्रह गरेका थिए ।
आमा बावुको माया- संयुक्त रूपमा आसुषा, दिव्या र दिप्सिकाको पहिलो प्रस्तुति थियो । पहिलो प्रेम अर्थात् ‘फस्ट लभ’ थेममा सञ्चालित ‘स्पोकन वर्ड पोयट्री’ ‘मनदेखि मनसम्म’ सञ्चालित हुँदै थियो ।
उद्घोषकको उपस्थिति बिना अघि बढेको समारोहमा जम्मा चौबीस जनाको नाम लेखिए पनि दुई कविको उपस्थिति अन्तिमसम्मै हुँदैन। कार्यक्रम पूर्व सबैको हात हातमा एउटा पेपर दिइएको छ -कुन कविता वाचन कहाँ पुग्यो त्यसपछि कसको पालो आउँदै छ क्रम सङ्ख्याको आधारमा त्यहीँ उल्लेख गरिएको छ।
स्टेजको अघि कालो व्यानर , बिचमा बैजनी रङको लाइट, कविको बायाँ तिर सानो मनदेखि मनसम्मको बोर्ड राखिएको छ। बिचमा घुम्ने कुर्सी, र माइक्रोफोन। शान्त वातावरण, नेपथ्यमा सुमधुर सङ्गीत बजाउँदै कविता सुनाउन कविहरूले सुन्दर मञ्च पाएका हुन्।
‘फस्ट लभ’को थेम अनुरूप कविहरूले कसैले आमा बावु सम्झे । कसैले श्रीमती सम्झे। कसैले प्रेमिका सम्झिए। पुस्तक प्रकाशीत कवि देखी नवोदितहरू सम्म सबै एउटै मञ्च चढ्दै थिए ।
ठाउँ ठाउँमा कति कविको वाचन कला, कविताको प्रतिका साधना, कविता प्रतिको अध्ययनको कमी खड्किन्थ्यो। इमानदारी पूर्वक भन्नु पर्दा यस्तो लाग्दथ्यो केही अधुरो, केही अपुरो छ जस्तो कि तेल मसला हालेको सब्जीमा नुन छुटे जस्तो चाहिँ महसुस भई रहन्थ्यो । केही पुस्तक प्रकाशीत कवि भन्दा त नवोदितहरू कवितहरुको प्रस्तति सुन्दर थियो ।
राम्रो पक्ष चाहिँ -त्यहाँ मन्तव्य थिएन। भाषण थिएन। उद्घोषक पनि थिएनन् र पनि केही कुरा थिएन जसका कारण मलाई खास लागी रहेको थिएन ।
बाल, किशोर अवस्था देखी केही प्रौढहरूको पनि उपस्थिति थियो। पङतिकारले बालबालिका हौसला स्वरूप छेउतिर राखेर अरूहरूको मूल्याङ्कन गर्दै छ – धेरैको कविता सामान्य भए पनि सिमित केहीका कविता मिठा थिए।गर्मि मौसम, कोठाको शान्त परिवेशमा बसेका श्रोताको धैर्यता चाहिँ सम्झन लायक थियो । त्यो काव्य गोष्ठीले साठी जना जति श्रोताको उपस्थिति पाउनु एउटा सुखद् पक्ष थियो ।
जिबिएलो द्वारा सञ्चालित मनदेखि मनसम्मको त्यस मञ्चमा आएका कविहरू केही कोर्ट पाइन्ट र ढाका टोपीमा थिए। केही कविहरू कुर्ता सुरुवात र चुनीमा थिए । श्रोतामा केही साडी र ब्लाउजमा नारीहरू पनि थिए । झट्ट हेर्दा रङ्गिन थियो दर्शक दिर्घी देखि स्टेजसम्मको उपस्थिति ।
इन्ट्रा फाउन्डेसन लेन्कास्टर पेन्सिलभेनियाको हलमा भएको आठौँ सन्ध्यामा विभिन्न साहित्यिक सङ्घटनबाट कवि, लेखकहरू पुगेका थिए, तर त्यहाँ लाग्दथ्यो ती सबै पहिला कवि थिए । पहिला वाचक थिए। पहिला काव्यले सङ्गठित थिए ।
एकै हातका औँलामा भाँचिने अङ्क जतिका कविको काव्यिक प्रस्तुति सुन्दर ढङ्गले दिए पनि समग्रमा धेरैको प्रयास ‘रहर’ मात्रको थियो । बाइस कविहरूलाई एक सूत्रमा बाँध्ने काम मनदेखि मनसम्मले गरेकै हो । यस खालको चिन्तनको सम्मान चाहिँ म गर्छु ।
कवितालाई प्राथमिकता दिइने कार्यक्रममा गुनासोको सुस्केरा निस्कन्छ- त्यहाँ सबैका कविता गन्न लायक, भन्न लायक, सुनाउन लायक खालका कविता थिएनन् । स्मरण रहोस् – यसमा मैले पौलाउँदै गरेका मुना जस्तो बाल कविता सृजनाको समीक्षा गरिरहेको छैन।
कल्पनाकार भरत तिम्सिनाको सपनाले फैलावट बढाउँदै गर्दा समूह बढ्दै गएको छ; यो सकारात्मक पक्ष हो । मलाई भन्न मन लागी रहेको छ – कविहरूले त्यत्रो ठुलो मञ्च पाएको हो । सन् २०२५ देखि नै कविहरूले स्थान पाउँदै आएको हो तर आठौँ संस्करणमा आएर दिल खोलेर भन्नुपर्दा- कतिपय प्रस्तुत कविहरूको अध्ययन देखिएन। कविता प्रतिको गहिरो चिन्तन देखिएन । कविता प्रति अभ्यास देखिएन ।
यहाँलाई लाग्न सक्छ – एउटा काव्यिक प्रस्तुतिलाई यति निर्मम तरिकाले अप्रेसन गर्ने मान्छे कोहो ? ऊ किन त्यसो गर्दै छ ?पङ्क्तिकार एक पाठक हो । ऊ एक दर्शक हो । एक श्रोता हो । ऊ एक अध्येता हो । अप्रेसन पछि पिडा हुन्छ तर त्यसलाई सम्झने भए बिराम निको हुन्छ । त्यसैले म कविताको अप्रेशन गर्दैछु ।
मनदेखि मनसम्मको यो स्थान केही हो । त्यहाँ प्रस्तुत हुने कविता पनि गुणात्मक हुनुपर्छ । नभए यो कार्यक्रम केही होइन हुन जान्छ। समग्रतामा हेर्दा कविता वाचनमा ६ जना महिलाहरूको सहभागिता थियो देखिन्थ्यो । यद्यपि विविधताका आधारमा जनजाति अझै छुटी रहेको देखिन्थ्यो ।
मन देखि मनसम्म हेरिस्बर्ग पेन्सिलभेनियाबाट सुरुवात यस यात्राको फैलावट कहिले पिट्सवर्ग सहर, कहिले सिन्सिनाटी सहर , कहिले कोलम्बस ओहायो स्टेटसम्म पुगी सकेको छ। विभिन्न स्थानीय साहित्यिक सङ्गठनहरूसँग यसले गरेको सहकार्य साँच्चै सम्झन लायक काम गर्दै छ।
नेपथ्यमा कविता वाचनको क्रम चली नै रहेको छ। यसपल्ट चाहिँ केही हुन्छ कि म प्रत्येक कविको अनुहारको भाव पढ्न उत्साहित थिएँ। प्राय कविका उही पुरानै ढाँचाका कविता प्रस्तुति हुन्छ। तिनको लेखन शैली र संवेदनाले सन्तोष दिन सकी रहेको थिएन ।
कवि बन्न फाल्टै मसी चाहिन्छ। पेन र पेपरले मात्र पुग्दैन । त्यो मसी कवि मनले अनुभूत गर्ने हो । हृदय लगाएर लेख्ने । दिमागले लेख्ने होइन । समाजका पात्र, व्यवहार, चरित्रका कुरा सङ्केतमा भन्नु पर्छ। त्यो सङ्केत बिम्ब हो । त्यो सङ्केत प्रतिका हो । लामा वाक्यहरूलाई सारमा भन्नु पर्छ। सोझो कुरालाई घुमाउनु पर्छ। त्यसपछि नै कवितामा कला भरिन्छ। कला भरिनु कवितामा मुटुको ढुकढुकी आउनु हो। त्यो ढुकढुकी आएपछि कविता जीवन्त बनिन्छ।
केही कविहरूसँगको मेरो पुरानो सङ्गत छ । केही नयाँसँग पनि त्यही कार्यक्रमको माध्यमले परिचित हुन पुगिएको थियो । नयाँ कविहरूको प्रस्तुति र अघि पछिको ति सँगको अनौपचारिक संवाद बरु फलदायक रह्यो ।
हाम्रा कवितामा वैचारिक, अध्ययन र चिन्तन केहीमा निखारता छैन। यस्तो अवस्थामा पनि ठस ठक कन्दै किन लेखि रहन्छन् कविहरू मैले अझैसम्म बुझ्न सकेको छैन? यसै सन्दर्भमा यो कविता स्मरण हुन्छ
“केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुनः लेख्छन्
पुनः हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपी’ शेरचन!”
यी लाइनहरू वर्तमान समयका कविहरूलाई दोहोर्याएर तेहेराएर सुनाउन मन छ – बिचरा कविहरू, तिनको अवचेतन मन कहिले खुल्ला? तिनले कहिले पढ्लान् भूपी शेरचन र हरिभक्त कटुवालहरूलाई घुँडा टेकेर ? कहिले देखि सयौँ पल्ट लेख्ने मेट्ने अभ्यास गर्लान् ?
अझै चली रहेको छ कवि सम्मेलन। स्वर्गीय बाको सम्झना स्वरूप ‘छानो’ शीर्षकको कविता गोविन्द हुमागाईँले प्रस्तुत गर्छन् । राजेन्द्र जी.सीले शिखरिणी छन्दको कविता स्वर नहाली पढेर मात्र सुनाउने काम हुन्छ । यसरी दश वर्षीय पुष्कर न्यौपाने त्यस दिनका कम उमेरका कवि स्टेज चढ्दै थिए ।
केहीका कविताहरू कथा जस्ता लामाऽऽ थिए, जुनमा भावना थियो तर बिम्ब भनेको के हो ? प्रतीक के हो ? तिनमा चेत थिएन।केहीका छोटा तर स्तरीय कविता थिए। केहीका साह्रै सरल र मिठा कविता पनि प्रस्तुत भए । समग्रहमा त्यहाँ कमै ‘कवि’ थिए जसका कविता कविता भएका थिए ।
ती कविताले श्रोताको ध्यान राम्ररी नताने पछि त्यस पल मलाई लाग्छ साझा भएर पनि यो स्थान सबैका लागी होइन। मित्रहरू – बाइस कविता वाचनमा दुई चार कविता सुन्न लायक निस्कनु हाम्रो सफलता कि असफलता ? प्रिय कविहरू छातीमा हात राखेर सोच्नु होस् विना अध्ययन ख्यास ख्यास लेखिएका ‘कविता’ मनदेखि मनसम्मको मञ्च चढेर वाचन गर्नु आफैँलाई बेइमानी गर्नु होइन र !
म आवश्यक परे हजार पल्ट भन्नेछु – हाम्रा काव्यमा बिम्ब र प्रतीक कता गएका हुन ? भाषामा विषय वस्तुको नवीनता खोइ? शैलीमा विशेषता खोइ ? प्रस्तुतिमा निखारता खोइ ? बरु लेख्ने अभ्यास गरौँ । बरु वाचन गर्ने अभ्यास गरौँ । बरु देखाऊँ एकले अर्कोलाई सुझावका लागी -यो क्रम त्यतिन्जेल गरौँ जतिन्जेल कविता आफ्नै खुट्टामा उभिँदैन?
भोलीको मनदेखि मनसम्मलाई मेरो हार्दिकका केही शब्द छन्- जुन स्थान कविहरूलाई दिइएको छ त्यहाँ छनौट प्रक्रियाबाट लिनु उपयुक्त हुन्छ । मञ्चमा वाचन हुनुअघि कविता सङ्कलन गर्न आवश्यक छ । पढेर सुझाव दिइएपछि धेरै पल्टको लेख्ने मेट्ने गरी सकेपछि सुन्न लायक बन्छ , अनि मात्र ती कविलाई स्थान दिइए कार्यक्रमको गरिमा बढ्नेछ । यसो नगरे समय क्रमसँगै यो मञ्चलाई हामीले अपमान गरी रहेका हुनेछौँ ।
अन्यतिर आएको तात्तातो खिर, चिया, सेल रोटीले मुख मीठो पार्छ। कार्यक्रमका लागी भनेर यसरी आतिथ्य सत्कार गर्न समय र श्रम दिनेहरूप्रति मेरो सधैँ हार्दिकता र दाहिने हातको सलाम छ। सधैँ प्रेम र सम्मान छ।
पहिलाकै प्रसङ्गमा फर्कन्छु – मनदेखि मनसम्मको लागी भनेरै म साना हुर्कँदै गरेका छोरीहरूको खेल्ने, डुल्ने दुई घण्टाको समय चोरेर त्यहाँ पुगेको छु । मेरो समयको मूल्य यस कार्यक्रमको प्रस्तुतिले तिर्न सक्यो त ?यस प्रश्नबारे हर कोहीले सोचुन् ?














