‘कन्दरा’ ब्यान्डको अमेरिकामा साङ्गीतिक टुर सार्वजनिक
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली मौलिक संगीत र लोकपप विधामा तीन दशकभन्दा बढी समयदेखि पहिचान बनाएको प्रतिष्ठित ब्यान्ड ‘कन्दरा’ को अमेरिका साङ्गीतिक टुर सार्वजनिक भएको छ ।
‘परिवर्तनको लय’ नारा बोकेको कन्दराको अमेरिका टुरको टुरलाई टी-लिभ्स इन्क ले आयोजना गरेको हो भने यसको कार्यकारी व्यवस्थापन साझेदार विशिष्ट इन्टरनेसनल रहेको छ।
आयोजकले यस ऐतिहासिक साङ्गीतिक एवं चेतनामूलक यात्राको हिस्सा बन्न र आफ्नो जरैसँग जोडिन अमेरिकामा रहेका सम्पूर्ण नेपाली प्रशंसकहरूलाई हार्दिक आमन्त्रण गरेका छन्।
कन्सर्टको परम्परागत स्वरूपलाई परिमार्जन गर्दै संगीतलाई सार्थक संवाद, सांस्कृतिक सम्बन्ध र सकारात्मक सामाजिक रूपान्तरणको बलियो माध्यमका रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
आयोजकले कन्दराको पहिलो सो अगस्त ७ तारिख शुक्रवार बोस्टनमा हुने जनाएको छ । भोलीपल्ट नै कन्दराले टेक्ससमा अर्को प्रस्तुति दिने छ।
यस्तै अगस्त १५ मा न्यू योर्क, २२ तारिखमा सान फ्रान्सिस्को र २८ तारिख अटलान्टामा प्रस्तुति हुने छ । आयोजकले अन्य शहरहरुमा पनि प्रस्तुति दिने र त्यो क्रमशः सार्वजनिक गरिने आयोजक मध्येका एक सुजन गुरुङले समाज टाइम्सलाई बताए ।
सन् १९९२ मा पर्यटकीय नगरी पोखराबाट यात्रा सुरु गरेको कन्दरा ब्यान्डले ‘लेककी हे माया’, ‘तगारोमा रुमाल राखी’, ‘तिमी पारि त्यो गाउँमा’ जस्ता थुप्रै सदाबहार र कालजयी गीतहरू पस्किसकेको छ।
ब्यान्डको सङ्गीतले नेपालको भूगोल, संस्कृति, पहिचान र प्रवासी नेपालीहरूको घरप्रतिको सम्झनालाई सुन्दर ढंगले समेट्दै आएको छ।














