फिफा विश्वकप २०२६ को सस्तो टिकट दोस्रो चरणको बिक्री शुक्रवार अन्तिम दिन
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ विश्व फुटबल महासंघ (फिफा) ले अर्को वर्ष अमेरिका सहित तीन देशमा आयोजना हुने विश्व कप फुटबलका लागि सस्तो टिकटको दोस्रो चरणको बिक्री अक्टोबर ३१ तारिख शुक्रवार सकिने जनाएको छ।
विश्व कप अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदै छ।
‘अर्ली टिकट ड्र’ नामक यो चरण अन्तर्गत फिफाले विश्वभरका फुटबल प्रेमीहरूका लागि थप एक मिलियन (१० लाख) टिकट उपलब्ध गराएको छ।
फिफाले यो चरणमा सहभागी हुन चाहने फ्यानहरूले अक्टोबर ३१ बिहान ११ बजे (पूर्वी अमेरिकी समय अनुसार) भित्र FIFA.com/tickets मा गएर आफ्नो नाम दर्ता गर्नुपर्ने जनाएको छ।
आवेदन दिने समयले नतिजामा कुनै असर पार्दैन, तर जसले पहिले भिसा प्रिसेल ड्र मा भाग लिएका थिए, ती फ्यानहरूले पनि पुनः लगइन गरेर यस नयाँ चरणमा सहभागी हुनुपर्नेछ।
यदि कसैको फिफा आइडी छैन भने, फिफाको वेबसाइटमा गएर नयाँ खाता बनाएर सहजै आवेदन दिन सकिने फिफाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
क्यानडा, मेक्सिको र अमेरिकाका फ्यानका लागि प्राथमिकता
फिफाले यस चरणमा आयोजक देशहरू अमेरिका, क्यानडा र मेक्सिको का फ्यानका लागि विशेष प्राथमिकता समय राखेको छ।
यो समय नोभेम्बर १२ बाट सुरु हुनेछ र ७२ घण्टासम्म खुला रहनेछ। यस अवधिमा चयन भएका स्थानीय फ्यानहरूले आफ्नै देशभित्र खेलिने खेलका सिङ्गल म्याचका टिकट खरिद गर्न सक्नेछन्।
तर, यस अवधिमा अन्य देशका खेलका टिकट खरिद गर्न पाइने छैन।
फिफाका अनुसार, यो चरणमा उपलब्ध हुने सिङ्गल म्याच टिकट मध्ये ७५ प्रतिशत टिकट आयोजक देशका फ्यानहरूका लागि आरक्षित गरिएको छ।
पहिलो चरणमा एक मिलियनभन्दा बढी टिकट बिक्री
यसअघि भएको भिसा प्रिसेल ड्र चरणमा पनि एक मिलियनभन्दा बढी टिकट बिक्री भएको फिफाले जनाएको थियो। तीमध्ये सबैभन्दा धेरै टिकट आयोजक देशका नागरिकहरूले खरिद गरेका थिए।
मागका आधारमा शीर्ष १० देशमा अमेरिका, क्यानडा, मेक्सिको, इङ्गल्यान्ड, जर्मनी, ब्राजिल,स्पेन,कोलम्बिया, अर्जेन्टिना र फ्रान्स रहेका छन्।
“हामीले संसारभरका फ्यानबाट अत्यधिक उत्साह र रुचि देखिरहेका छौँ, विशेष गरी आयोजक देशहरूमा। यो दोस्रो चरणले स्थानीय समर्थकहरूलाई धन्यवाद दिने अवसर दिनेछ,”
फिफा विश्वकप २०२६ का प्रमुख सञ्चालन अधिकारी हेमो शिर्गीले भने।
फिफाले डिसेम्बर ५ देखि हुने फाइनल ड्र पछि अर्को चरण रेन्डम सेलेक्शन ड्र सुरु हुने जनाएको छ। त्यसपछि बाँकी टिकटहरू पहिलो आउनेलाई पहिलो दिने आधारमा बिक्री गरिनेछ।
हालका लागि चाहने फ्यानहरूले FIFA.com/hospitality मार्फत टिकटसहित विशेष सेवा पनि खरिद गर्न सक्छन्।
फिफाले सबै समर्थकहरूलाई केवल FIFA.com/tickets मार्फत टिकट खरिद गर्न आग्रह गरेको छ। अन्य अनधिकृत वेबसाइट वा स्रोतबाट किनेका टिकटहरू अमान्य हुनसक्ने चेतावनी पनि दिइएको छ।
महत्त्वपूर्ण जानकारी
- भिषा फिफाको आधिकारिक भुक्तानी साझेदार हो, र टिकट भुक्तानीका लागि प्राथमिक माध्यम हो।
- टिकटले मात्र देशमा प्रवेशको अनुमति सुनिश्चित गर्दैन। फ्यानहरूले आयोजक देशहरूको सरकारी वेबसाइटमा गएर भिसा तथा प्रवेश प्रक्रिया बुझ्नुपर्नेछ।
- आवेदन दिनका लागि उमेर १८ वर्ष वा सोभन्दा बढी हुनुपर्नेछ।
- विस्तृत नियम, बारम्बार सोधिने प्रश्न र नियम र सर्तहरू पनि FIFA.com/tickets मा उपलब्ध छन्।














