लन्डनमा नेपालीले सञ्चालन गरेको होली काउले जित्यो ‘वेष्ट रेस्टुरेन्ट’को अवार्ड
काठमाडौं । बेलायतमा एक नेपाली व्यवसायीले सञ्चालन गरेको फाइन डाइन रेस्टुरेन्टले ‘वेष्ट रेस्टुरेन्ट’ को अवार्ड जितेको छ।
झन्डै दुई दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाका लागि चिनिएको ‘होली काउ’ ग्रुपद्वारा सञ्चाालित फाइन डाइन रेस्टुरेन्टले ‘वेष्ट रेस्टुरेन्ट’ को अवार्ड जितेको हो ।
आइतबार बेलुका रेडिङ शहरमा आयोजित ‘इंग्ल्याण्ड्स अवाड्र्स २०२५’ मा उक्त पुरस्कार घोषणा गरिएको थियो ।
मतदाताहरूले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायत आधारमा पुरस्कृत व्यवसायहरूको छनोट गरिएको आयोजकले बताए ।
‘कडा प्रतिस्पर्धी यस्तो प्रतिष्ठित अवार्ड पाउँदा हामी अत्यन्तै खुशी छौँ’, होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले भने । उनले उक्त प्रतिस्पर्धामा भोट गरेर सहयोग गर्ने सबै मित्र, शुभेच्छुक र सहयोगीहरूलाई धन्यवाद तथा आभार पनि व्यक्त गरे ।
सन् १९६५ मा उक्त अवार्डलाई क्विन्स अवाड्र्स फर इन्टरप्राइजेज भनिन्थ्यो भने सन् २०२२ देखि उक्त अवार्डको नामकरण किंग्स अवाड्र्स फर इन्टरप्राइजेज गरिएको छ।
झन्डै २० वर्ष पहिले स्थापना गरिएको होली काउ समूह अन्तर्गतका रेस्टुरेन्ट तथा टेक अवेहरुमा झन्डै १२० जना कर्मचारी कार्यरत छन्।
होली काउ समूह बेलायतमा राम्रो ब्रान्ड बनाएको रेस्टुरेन्टको रुपमा चिनिन्छ । उक्त रेस्टुरेन्टले छोटो समयमा विश्वका खाना प्रेमीहरूको मन जित्न सफल भएको छ । उक्त रेस्टुरेन्ट संस्थापक आचार्य गैर आवासीय नेपाली संघ(एनआरएनए)का अभियन्ता समेत हुन् ।













