एनआरएन अभियान : समर्पणको पुल वा स्वार्थको द्वार ?

विजय बगाले
भर्जिनिया, अमेरिका/ विदेशमा बसेर पनि मातृभूमिसँग भावनात्मक नाता गाँस्ने नेपालीहरूको साझा मञ्चको रूपमा स्थापित गैर आवासीय नेपाली संघ ( एनआरएनए ), आजको मितिमा एउटा गहिरो मोडमा आइपुगेको छ ।
कहिल्यै नछुट्ने आफ्नो देशप्रतिको माया र कर्मभूमिप्रतिको उत्तरदायित्व बीच सन्तुलन कायम गर्न खोज्ने धेरै नेपालीहरूको लागि यो संस्था एउटा ‘संवेदनशील पुल’ को रूपमा देखिएको थियो – जुन जन्मभूमिको माटोसँग कर्मभूमिको वास्तविकता जोड्ने माध्यम बन्न सकोस् भन्ने अपेक्षा थियो ।
तर दुःखको कुरा, पछिल्ला वर्षहरूमा यस संस्थाले त्यस्तो संयोजनको सट्टा आत्मघाती विखण्डन र गुटगत ध्रुवीकरणतर्फ मोडिएको छ । सामाजिक अभियान चलाउने भनेर सार्वजनिक रूपमा आफूलाई चिनाउने व्यक्तिहरू नै संस्थालाई खण्डित गर्ने योजनामा लाग्दा, आन्दोलनको बुनियादी उद्देश्यमाथि प्रश्न उठ्न थालेको छ ।
यदि कुनै संस्थाले आफ्ना आन्तरिक असहमतिहरूलाई व्यवस्थापन गर्न नसकेर विभाजनको बाटो रोज्न बाध्य भयो भने त्यो संस्थाको साङ्गठनिक संरचना र कार्यशैलीप्रति आलोचना उठ्नु स्वाभाविक हुन्छ । तर जब संस्थाभित्रै रहेका केही व्यक्तिहरू योजनाबद्ध रूपमा संगठनलाई टुक्र्याउने, आ-आफ्ना गुट बनाएर गलत जानकारी र भावनात्मक हेरफेर मार्फत जनमत बिथोल्ने खेलमा लाग्छन्, तब त्यो “सामाजिक सेवा” होइन, आत्म केन्द्रित स्वार्थपूर्तिको अभियान हो ।
यदि विभाजन अपरिहार्य नै हो भने, त्यसको लागि सु स्पष्ट विचार, सिद्धान्त, र वैकल्पिक खाका लिएर जनसमक्ष आउनु पर्छ । “हामी सामाजिक अभियानमा छौँ” भनेर भन्ने मात्रले पुग्दैन, त्यो अभियान किन, कसका लागि, र कसरी भन्ने कुराले नै जनसमर्थन ल्याउने हो ।
एनआरएनएको आधिकारिक एमआईएस प्रणालीमार्फत सदस्य बन्ने कार्य, केवल एक औपचारिकता होइन – यो सङ्गठनप्रति गरिएको बफादारीको प्रमाण हो । “सदस्य बनौँ, सुझाव राखौँ, सुधारका लागि भित्रबाट दबाब दिऔँ” भन्ने सोच राख्नेहरूका लागि एमआइएस प्रणाली प्रवेशद्वार हो ।
सदस्यता नलिएर, बाहिरै बसेर आलोचना मात्रै गर्ने र आफूलाई “सचेत नागरिक” भन्ने प्रवृत्ति, न त उपयोगी हो, न त व्यवहारिक । संस्थामा सुधार गर्न चाहने हो भने त्यसको औपचारिक प्रक्रिया अपनाउनु आवश्यक छ ।
घुर्की होइन, विकल्प चाहिन्छ ।
संस्थागत खण्डीकरणले कुनै दीर्घकालीन फाइदा दिँदैन । त्यसैले, एकीकृत रूपमा अघि बढ्ने, छलफल र बहसमार्फत समस्याको समाधान खोज्ने, र साझा प्रयोजन लाई आत्मसात् गर्ने मनोविज्ञान आवश्यक छ ।
विरोध गर्नु अपराध होइन, तर विरोध गर्ने तरिका र त्यसको उद्देश्य शुद्ध र पारदर्शी हुनुपर्छ ।
निष्कर्ष
NRNA जस्तो संगठन कुनै पनि व्यक्तिको इगो सन्तुष्ट पार्ने ठाउँ होइन, यो त हजारौँ नेपालीहरूको आशा र योगदानले बनेको साझा जग हो । यसलाई टुक्र्याएर होइन, सुधारेर अगाडि बढाउन सकिन्छ ।
त्यसका लागि —
• सदस्य बन्नुहोस्,
• सक्रिय रहनुहो,
• आलोचना गर्नुस्, तर विकल्प पनि दिनुहोस् ।
होइन भने, दालिरहनु भन्दा छुट्टिनु नै उत्तम होला ।
(बगाले एनआरएनए अभियन्ता हुन्।)