बोस्टनमा नेपाली नाटक मञ्चन हुँदै, यसरी बन्यो माहौल
बोस्टन, अमेरिका/ ६ महिना अगाडि अमेरिकामा पाइला टेकेका नाट्यकर्मी मणिराम पोखरेललाई पछिल्ला केही दिन यता बोल्न पनि फुर्सद छैन। मणिराम मात्र कहाँ हो र, डेढ साल देखि यतै रहेका अर्का नाट्यकर्मी राजन खतिवडा सहित अन्य कलाकारको हालत पनि उस्तै छ।
उनीहरूको अधिकांश समय अमेरिकाको बोस्टनमा रहेको पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्डमा (हिन्दु बुद्ध मन्दिर) बितेको छ। जहाँ मे ११ तारिख आइतबार साँझ सात बजे नेपाली नाटक मञ्चन गरिँदै छ।
एउटा ‘रङ्गमञ्च’ लागि जे जति चाहिन्छ, त्यो सबै कुरा दुरुस्त उनीहरुले नै पार्नु छ। बिहीबार र शुक्रवार उनीहरुले अभ्यासका साथ साथै नाटक मञ्चन हुने ‘स्टेज’ को सजावटमा समय खर्चिए।
नाटक निर्देशक राजन नयाँ कलाकारको सिप तिखार्दा तिखार्दै आफै ‘लाइट’ मिलाउन भर्याङ्ग उक्लिरहेका भेटिन्थे।
उनीहरूको टिमले अब शनिवार अन्तिम पूर्वाभ्यास गरे पछि, आइतबारका लागि ‘रेडी टु गो’ मा रहने छन्।
बुद्ध जयन्तीको अवसर पारेर, बोस्टनमा रहेको हिन्दु बुद्ध मन्दिरमा प्रख्यात नेपाली साहित्यकार प्रा.डा. अभि सुबेदीको ‘जीवन देखि जीवन सम्म’ नाटक मञ्चन हुने छ।
जीवन देखि जीवन सम्म, एक महिलाको कथा हो। जसले अनेकन हिंसा बेहोरेपछि, बुद्धको शरण गइन। बुद्ध जयन्तीकै अवसरमा बुद्ध मन्दिरमा बुद्ध शरणमा पुगेकी एक महिनाको कथालाई नाटकमा देखाइने छ।
‘म दुई दशक देखि नाट्य क्षेत्रमा छु, बोस्टन आए पछि के नपुगे नपुगे भइरहेको थियो।’ बोस्टनमा नेपाली नाटक मञ्चनको इतिश्री कसरी भयो भन्ने समाज टाइम्सलाई सुनाउँदै मणिरामले भने, ’यहाँ मेरै क्षेत्रका साथीहरू सँग पुनर्मिलन भयो, अनि किन नाटक नगर्ने भन्नेमा पुग्यौ।‘
‘राजनजी सँगै हामी हिजो काठमाडौँमा गुरुकुलका सहयात्री सिन्धु पोखरेल, मिलन कार्की लगायत बीचमा नाटकको कार्यशाला हुनु पर्छ भन्ने भयो, त्यसलाई पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड अध्यक्ष विरोचन नेपाल र ग्रेटर बोस्टन नेपाली समाजका अध्यक्ष सन्दीप भट्टराईले साथ दिनु भयो र मुख्य आयोजक बन्नु भयो ।‘ मणिरामले पोको खोल्दै गए।
नाटक त गर्ने, तर अभिनय कसले गर्ने भन्ने प्रश्न पनि निस्कियो। त्यही बीचमा जुक्ति आयो, यही रहेका नेपाली जो नाटकका लागि इच्छुक छन् उनलाई किन तयार नगर्ने ?
‘हामीले सामाजिक सञ्जालबाट आह्वान गर्यौ, हामी नाटकका लागि कार्यशाला गर्दैछौ भनेर सोचे भन्दा धेरै जनाले आवेदन दिए।’ मणिरामले सुनाए।
त्यस पछि पछिल्लो ६ हप्ता हरेक आइतबार नाट्य कार्यशाला सञ्चालन गरिँदै आइएको छ। पहिलो आइतबार १९ जना सहभागी भएकोमा त्यो संख्या बढेर ३४ पुग्यो। अरुणा कार्की, राजन खतिवडा र मणिराम पोखरेल कार्यशालाका प्रशिक्षार्थीको क्षमतालाई अझ तिखारे।
कलाकार त तयार भए । अब एउटा नाटक मञ्चन गरौँ। टिममा छलफल भयो। बुद्ध जयन्तीको छेकोमा बुद्ध दर्शनकै बारेमा गरौँ न त । सहमति जुट्यो। अनि रोजाइमा पर्यो ‘जीवन देखि जीवन सम्म’ नाटक।
यो नाटकको मूल पात्र ‘उत्पल’ हुन। हिंसा पीडित महिला जो पछि बुद्धको नजिककी चेली भइन। तीनको भूमिकामा निशा तिम्सिना र अरुणा कार्कीले अभिनय गर्ने छन्।
आइतबार साँझ सात बजे शुरु हुने नाटक एक घण्टा १५ मिनेटको हुने छ। २६ जना कलाकार रङ्गमञ्चमा हुने छन्। हलको क्षमता २ सय ५० जनाको छ। टिकट निःशुल्क गरिएको छ।
आइतबारका लागि निर्देशक राजन उत्साहित छन्। ‘शुरुवातको समयमा मण्डलाबाट जसरी भएको थियो, थोरै लाइटबाट नाटक शुरु भएको थियो अहिले मण्डलामा चैँ काठमाडौँमा ठूलो थिएटर बनेको छ, लाइट, इक्युमेन्ट देखि लिएर सबै चिज छ।‘ निर्देशक राजनले भने, ‘मण्डला शुरुवातको समयमा जस्तै यहाँ भएको छ, अहिले।‘
उनी आइतबार राम्रो नाटक प्रदर्शन हुनेमा आशावादी छन्। ‘यहाँ मानिसहरूमा चाहाना छ, त्यो महत्त्वपूर्ण कुरा हो।‘ राजनले भने, ‘त्यसैले म आशावादी छु यहाँ जो जसले तालिम लिएर नाटकमा सहभागी हुनु भयो।‘
‘एउटा लेबलको प्रदर्शन हुन्छ। नाटक आफैमा वजनदार छ। डा. अभि सुवेदीले लेख्नु भएको मस्त नाटक छ । मलाई लाग्छ राम्रो प्रदर्शन हुन्छ।‘ राजनले भने।
ग्रेटर बोस्टन नेपाली समाजका अध्यक्ष सन्दीप भट्टराईले पनि यस क्षेत्रमा रहेका सबैलाई नाटक हेर्न आउन अपिल गरेका छन्।
‘नेपालबाट कलाकार आउनु भएको हामीले मौका छोपेका हौ।‘ अध्यक्ष सन्दीपले भने ‘तपाईँहरू सबै जना आउनु होला।‘
‘नेपाली कला संस्कृतिलाई प्रवासमा पनि चिनाउने हाम्रो प्रयास हो।‘ मणिराम कुराकानीको बिट मार्दै थिए, ‘बोस्टनको सफलताले हामीलाई अमेरिकाका अन्य शहरमा पनि पाइला बढाउन मद्दत गर्ने छ।‘
उनी भन्छन् ‘अन्य शहरबाट पनि कोही इच्छुक हुनुहुन्छ भने हामी त्यहाँ पुग्छौ, स्थानीय व्यक्तिलाई सिकाऊ छौ, कलाकार तयार पार्छौ र नाटक मञ्चन गर्छौ।‘
नाटकमा सहभागिहरु
वाचकीः राजकुमार पुडासैनी
राजाः संगित निरौला
भिक्षुणी उत्पलः अरुणा कार्की, निशा तिमल्सिना
भिक्षुणी अनामिकाः प्रमिला कटुवाल
भिक्षुणीहरूः दीपा घिमिरे पोखरेल, अश्मि पोखरेल, रश्मी पहारी, सृजना पौडेल, प्रमिला धमला बञ्जारा, निशा लामा, डोलमाया तामा™, शान्ता थापा, बिन्दा दाहाल, सुष्मा क्षेत्री
उत्पलको लोग्नेः राजेश थापा
बाटोको मानिसः दिपक खत्री
बुद्धः जेनिश कर्माचार्य
भिक्षु आनन्दः सोनाम शेर्पा
भिक्षुहरूः अमित सुनार, प्रचण्ड तिवारी, सुदिप शर्मा, राजेश थापा,
राजाका सेनाहरूः सुदिप शर्मा, अमित सुनार, सोनाम शेर्पा, राजन काफ्ले
कोरसः अश्मि पोखरेल, रश्मी पहारी, सृजना पौडेल, प्रमिला धमला बञ्जारा, निशा लामा, डोलमाया तामा™, शान्ता थापा, बिन्दा दाहाल, सुष्मा क्षेत्री, अमित सुनार, प्रचण्ड तिवारी, सुदिप शर्मा, राजेश थापा, दिपक खत्री
सर्पः जेनिश कर्माचार्य
नेपथ्यमाः
भेषभूषाः सुष्मा कँडेल, अरुणा कार्की
प्रकाशः सन्दिप भद्मराई, राजकुमार पुडासैनी
संगीतः देव न्यौपाने, राजन काफ्ले
मञ्च तथा सामाग्रीः राजन खडिवडा, मणिराम पोखरेल
फोटो तथा भिडियोः सिन्धु पोखरेल, राजन काफ्ले, शिव मिश्र
व्यवस्थापनः विरोचन नेपाल, मिलन कुमार कार्की, सन्दिप भद्मराई,
केबि राई, सानु बर्मा, सुनील नेपाली, अजय ढकाल,
सुरेश ढकाल, विजय कार्की, जल घिमिरे, मिलन कार्की, सुरेश वाग्ले, रुपक अधिकारी, मिलन आचार्य