डा. बद्री समूहले आयोजना गर्ने ‘एनआरएनए कन्क्लेभ २०२५’ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने दाबी
काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली संघ (एनआरएनए) डा. बद्री केसी समूहद्वारा आयोजना गरिने ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्ने सो समूहले दाबी गरेको छ।
समूहको सचिवालयद्वारा पठाइएको इमेलमा “एनआरएनको अधिकार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ आगामी बुधवार (मे १४) काठमाडौँमा आयोजना हुने कन्क्लेभको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने पक्का भएको उल्लेख छ।
‘गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिएको थियो। भेटका क्रममा प्रधानमन्त्री ओलीले गैर आवासीय नेपाली संघलाई सबै नेपालीको साझा, गैर राजनीतिक संस्था बनाउनुपर्नेमा जोड दिनुभयो ।’ इमेलमा भनिएको छ।
प्रधानमन्त्रीले संघले उठाएका जायज मागप्रति सरकार सधैँ सकारात्मक रहेको उल्लेख गरेको पनि इमेलमा भनिएको छ।
भेटमा केसीले प्रधानमन्त्रीलाई कन्क्लेभको उद्देश्यबारे जानकारी गराउँदै गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा लगानी, श्रम तथा आप्रवासन, पर्यटन प्रवर्द्धन लगायत विषयहरूमा केन्द्रित कार्यक्रम आयोजना गरिने जानकारी दिएको जनाइएको छ।
सो अवसरमा अर्थमन्त्री विष्णु पौडेललाई पनि कन्क्लेभमा सहभागी हुन अनुरोध गरिएको थियो। भेटमा पूर्व अर्थमन्त्री युवराज खतिवडा, एनआरएनए केसी समूहका उपाध्यक्षहरू डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना राई प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सह-कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, र संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको जनाइएको छ।
सर्वोच्च अदालतको परमादेशद्वारा गठित शेष घले नेतृत्वको उच्च स्तरीय कमिटीले मे ३-५ तारिख काठमाडौँमा आयोजना गरेको एनआरएनएको एकता महाधिवेशनबाट महेश श्रेष्ठको अध्यक्षतामा कार्यसमिति निर्विरोध चयन भएको छ। बद्री केसी समूहले एकता महाधिवेशन बहिस्कार गरेको थियो।
परराष्ट्र मन्त्री डा. आरजु राणाले एकता महाधिवेशनको उद्घाटन गरेकी थिइन। एनआरएनएमा सरकारले दुई नीति लिएको देखिएको छ।