ओएनएफ अमेरिकाको भावी अध्यक्षमा आकांक्षी चार जना
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका राष्ट्रिय कमिटीको भावी अध्यक्षमा चार जना आकांक्षी देखिएका छन्। ओएनएफ अमेरिकाको चौथो अधिवेशन मे ३१ र जुन १ तारिख टेक्ससको डालसमा हुँदै छ।
ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण प्रसाद लामिछानेका अनुसार चौथो अधिवेशनमा दुई सय ३५ जना प्रतिनिधिले भाग लिने छन्।
‘दुई सय २३ जना प्रतिनिधि छनौट भइसके, अब १२ जनाको मे १७ तारिखमा बस्ने राष्ट्रिय कमिटी बैठकले मनोनीत गर्ने छ।’ अध्यक्ष लामिछानेले समाज टाइम्स सँग भने।
झन्डै एक दशकको अवधिमा ओएनएफ अमेरिकाका २६ राज्य कमिटीमा फैलिएको छ। अध्यक्ष लामिछानेका अनुसार पाँच सदस्य बराबर एक जना प्रतिनिधि रहने व्यवस्था छ। ‘अमेरिकाभर ओएनएफका ११ सय सदस्य छन्, तर तीन महिना अगाडि सम्म नवीकरण गरेका मध्येबाट अधिवेशन प्रतिनिधि छनौट गरिएको हो।‘ लामिछानेले भने।
लामिछानेका अनुसार यस पटकको अधिवेशनमा सबै भन्दा धेरै प्रतिनिधि टेक्सस राज्यबाट छन्। दुई सय ११ सदस्य रहेको टेक्ससबाट ५८ जना प्रतिनिधि छनोट भएका छन्। टेक्सस पछि न्यु योर्कबाट सबै भन्दा धेरै प्रतिनिधि छनौट भएका छन्। न्यु योर्कबाट २६ जना प्रतिनिधि छन्। यस्तै मेरिल्यान्डबाट २४ जना, केन्टकीबाट १८ ओहायोबाट १२ जना सहित अन्य राज्यबाट गरी कुल दुई सय ३५ जना प्रतिनिधि टेक्सस जाने छन्।
अध्यक्ष लामिछानेले यस पटकको अधिवेशनमा नेपालबाट प्रमुख अतिथि नबोलाइने बताए।
‘शुरुमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई प्रमुख अतिथि बनाउने भन्ने थियो तर अहिले हामी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापालाई नै प्रमुख अतिथि बनाउने भएका छौ।‘ लामिछानेले भने।
‘गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा ढिलासुस्ती भए पछि साथीहरू अलिक असन्तुष्ट बन्नु भएको छ, त्यस कारण नेपालबाट नेताहरू नबोलाऊ भन्नेमा हामी पुग्यौ।‘ उनले भने।
अध्यक्षमा आकांक्षी चार जना, पाण्डे र बास्तोला बीच चुनाव नै हुने सम्भावना
ओएनएफ अमेरिकाको आसन्न चौथो अधिवेशनमा अध्यक्षमा चार जना आकांक्षी देखिएका छन्। वर्तमान अध्यक्ष कृष्ण प्रसाद लामिछानेले आफूले अहिले सम्म निर्णय गरी नसकेको बताए।
‘मेरो दोस्रो कार्यकालको दाबी हो हो होइन भन्ने अझै टुङ्गो लागेको छैन।‘ लामिछानेले भने, ‘१७ तारिखको बैठक पछि टुङ्गो लाग्छ।‘
ओएनएफमा अहिले सम्म अध्यक्षमा दोहोर्याउने परम्परा छैन। तर लामिछानेले साथीहरूले यस पटक त्यो परम्परा तोड्न आग्रह गरिरहेको बताए।
‘साथीहरूले दोहोर्याउन भनेका छन्। म त्यो पक्षमा छैन, तर तत्कालिन परिस्थित हेरेर पनि निर्णय गर्नु पर्छ। संस्थालाई एकीकृत बनाउन दोहोर्याउन पनि सकिन्छ।‘
यस्तै वर्तमान कमिटीका उपाध्यक्ष गोपाल कँडेलले अब आफ्ना लागि अध्यक्ष बाहेकको अन्य विकल्प नरहेको बताए।
‘म उपाध्यक्षमा दोस्रो कार्यकालमा छु, पहिला पनि मैले अध्यक्षमा दाबी गरेको हो, मलाई यस पटक पक्का भने पछि, त्यो बेला सहमतिमा गइएको हो।‘ समाज टाइम्स सँग कँडेलले भने, ‘सबै साथीहरूले मेरै पक्षमा बोलेका छन्, माहौल पनि छ ।‘
नेकपा एमालेको महाधिवेशन प्रतिनिधि भइसकेका स्याङ्जा वालिङका कँडेल हाल केन्टकीमा व्यवसाय गर्दै आएका छन्। सन् २००८ मा अमेरिका आएका कँडेल सिकागो ल्यान्ड नेपाली फ्रेन्डसिप सोसाइटी (सीएनएफएस) को पूर्व अध्यक्ष पनि हुन।
यस्तै वर्तमान कमिटीका सचिव छवि पाण्डेले पनि अब आफू जाने ठाउँ अध्यक्ष नै भएको बताए।
‘सचिव पछि जाने नै अध्यक्ष हो। उपाध्याय बस्ने ठाउँ नै होइन।‘पाण्डेले समाज टाइम्स सँग भने।
नेपालमा अर्घाखाँचीका पाण्डे अमेरिकामा ओहायो इन्जिनियरिङ्ग पेशामा छन्। सन् २०१० मा अमेरिका आएका पाण्डे ओएनएफ अमेरिकाको पहिलो राष्ट्रिय कमिटी सदस्य हुन्।
सचिवालय सदस्य सदस्य समेत रहेका पाण्डे दोस्रो कार्यकाल सचिव थिए। जुन पदलाई अहिलेको विधानले उप सचिव बनाएको । ‘पहिला महासचिव र सचिव पद थियो, विधान परिवर्तन गरी सचिव र उप सचिव बनाइएको हो।’ पाण्डेले भने।
वर्तमान कमिटीमा उप सचिव रहेका थोमस बास्तोलाले पनि यस पटक अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन्।
‘म चुनाव मै जान तयार छु, यस पटक मेरो उम्मेदवारी अध्यक्षमा रहन्छ।‘ समाज टाइम्स सँगको कुराकानीमा बास्तोलाले भने।
साउदन इलिनोई विश्व विद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरी हाल गर्भनर्स स्टेट युनिर्भसिटफ सिकागोमा प्राध्यापनरत बास्तोलाले आफूले बार्गेनीङ्गका लागि अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताए।
सोलुखुम्बुका बास्तोला काठमाडौँमा रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत रहँदा देखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए। उनी अनेरास्ववियु केन्द्रिय कमिटीको उपाध्यक्ष समेत भइसेका व्यक्ति हुन्।
२०५६ सालमा योगेश भट्टराई सँग कालापानी मार्चमा सहभागी बास्तोला, नेपालको चुच्चे नक्सा सार्वजनिक पछि नेपालका लागि प्रवासी नेपाली अभियानको प्रमुख अभियन्ता मध्येका एक हुन्।
‘विद्यार्थी आन्दोलन र अनेरास्ववियु’ शीर्षकमा किताब लेखेका बास्तोलाका दुई वटा कविता संग्रह पनि प्रकाशित छन्।
सन् २०१४ अमेरिका आएका बास्तोला त्यसको दुई वर्ष पछि ओएनएफ अमेरिकाको राष्ट्रिय कमिटी सदस्य बनेका थिए।
ओएनएफका नाम उल्लेख गर्न नचाहने एक प्रतिनिधिका अनुसार बाहिर चार जना आकांक्षी देखिए पनि अन्तिममा वर्तमान सचिव पाण्डे र उप सचिव बास्तोला बीचमा चुनाव हुने सम्भावना बढेको छ।
‘कृष्ण लामिछाने र गोपाल कँडेल अन्तर्राष्ट्रिय कमिटीमा जाने लगभग पक्का छ।‘ ती प्रतिनिधिले समाज टाइम्सलाई भने, संस्थापन पक्ष पाण्डेलाई अध्यक्ष र बास्तोलालाई उपाध्यक्ष दिने गरी मिलाउने तयारीमा छ, तर त्यो सम्भावना अत्यन्त कम छ।‘
‘पाण्डेलाई संस्थापन पक्षको दह्रो समर्थन छ। बास्तोला भने यस पटक सत्ता उल्टाउने लक्ष्य सहित तयारीमा छन्।‘ ती सदस्यले भने , ‘यस पटक विरासत कायमै राख्ने र त्यसलाई तोड्न बीचको लडाइ हो, यसै हुन्छ भन्न गाह्रो छ।‘
ओएनएफ अमेरिकाको संस्थापक अध्यक्ष सञ्जय थापा हुन्। यस्तै प्रभु थापा ओएनएफ अमेरिकाको दोस्रो अध्यक्ष हुन्। ओएनएफको पहिलो र तेस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको थियो। प्रभु थापा भने चुनाव जितेर अध्यक्ष भएका थिए।