एनआरएनए अमेरिकाको रात्रिकालीन म्याराथन बैठक: सकेन सदस्यता खुलाउन
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको रात्रिकालीन म्याराथन बैठक सदस्यता खुलाउने बारे कुनै निर्णय नगरी टुङ्गिएको छ।
एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेको अध्यक्षतामा गए राती बसेको दशौँ बोर्ड बैठकमा ६० जना मध्ये ५४ जना सदस्यको उपस्थिति रहेको जनाइएको छ। एक पदाधिकारीका अनुसार एनआरएनए अमेरिकाको बैठकमा एकै पटक यति धेरै सदस्य सहभागी भएको पहिलो पटक हो।
न्यु योर्क समय नौ बजे शुरु भएको बैठक राति तीन बजे सम्म चलेको थियो। बैठकमा २६ जनाले आ आफ्नो धारणा राखेका थिए।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सदस्यता कुन माध्यमबाट खुल्ला गर्ने भन्नेमा लामो समय छलफल भए पनि निष्कर्ष विहीन बन्न पुगेको हो।
‘बैठकमा सदस्यता प्रणालीसम्बन्धी विषयमा गम्भीर बहस र छलफल भयो तर निर्णय हुन सकेन।‘ ती पदाधिकारीले समाज टाइम्स सँग भने।
बैठकको सुरुआतमा महासचिवले एनआरएनए एनसीसी अमेरिका द्वारा तयार गरिएको सदस्यता पोर्टलको डेमो प्रस्तुति प्रस्तुत गरेका थिए।
त्यस पछि एनआरएनए अमेरिकाको सदस्यता अब आफ्नै पोर्टलबाट खुलाउनेकी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गतको एमआइएस प्रणालीमार्फत खुलाउने भन्ने विषयमा छलफल भएको थियो।
बैठकमा आफ्नो भनाई राख्नेका २६ मध्ये १३ जनाले आफ्नै पोर्टलबाट सदस्यता खुलाउने भन्नेमा मत राखेका थिए भने बाँकी १३ जनाले आइसीसीको एमआइएसमा जानु पर्नेमा धारणा राखेका थिए।
एनआरएनए अमेरिकाले यस अगाडि एमआइएस मार्फत सदस्यता वितरण गरेको थियो। तर अहिले आइसीसीमा आधिकारिता सम्बन्धी विवाद भए पछि नयाँ बहस शुरु भएको जनाइएको छ।
एनआरएनए अमेरिकाको पछिल्लो साधारण सभाले आइसीसीमा विवाद नमिले आफ्नै पोर्टल निर्माण गरी जनवरी बाट सदस्यता खुलाउने निर्णय गरेको थियो।
तर अध्यक्ष डा. बन्जाडे र महासचिव रामहरि अधिकारी बीचको द्वन्द्वका कारण पोर्टल बनाउने काममा ढिला भएको थियो। पोर्टल बनाउन ढिलाइ हुनुमा दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन्।
महासचिव अधिकारीले बुधवार रातिको बैठकमा एकै पटक पोर्टलको डेमो गरेको भन्दै आश्चर्ययता जनाएका थिए। ‘एनआरएनए अमेरिकाले आफ्नै पोर्टल बनाउँदै छ भन्ने हामीलाई थाहै थिएन, गए रातिको बैठकमा महासचिवले एकै पटक डेमो गर्नु भयो।’ समाज टाइम्सको सम्पर्कमा आएका अर्का पदाधिकारीले समाज टाइम्सलाई भने।
सदस्यता खुलाउने बारेमा कार्यसमिति सदस्यमा एक मत हुन नसके पछि अध्यक्ष बन्जाडेले अर्को बैठकमा टुङ्गाउने भन्दै बैठक समापन गरेका थिए।
गत वर्ष मेरिल्याण्डमा सम्पन्न १३औँ वार्षिक साधारण सभाले सदस्यता प्रणाली एनसीसी अमेरिकाको आफ्नै पोर्टलबाट सञ्चालन गरिनुपर्ने प्रस्ताव पारित गरेको थियो। साथै साधारण सभाले कार्यसमितिको दुई तिहाइ बहुमतले सो निर्णयलाई उल्टाउने अधिकार दिएको थियो।
तर अध्यक्ष बन्जाडे पक्षले साधारण सभाले विधान संशोधन गरेको बारेमा अविज्ञता जनाउँदै आएका छन्। बन्जाडे र वरिष्ठ उपाध्यक्ष विकास उप्रेती एमआइएस प्रणालीबाटै सदस्यता खोल्ने पक्षमा रहेको जनाइएको छ। उनीहरुले पोर्टल तयार हुन अझै दुई महिना लाग्ने दाबी गर्दै आएका छन्।
तर महासचिव अधिकारी भने आइसीसीको विवाद समाधान नभए सम्म आफ्नै पोर्टलबाट सदस्यता खुला गर्नु पर्ने पक्षमा रहेको जनाइएको छ। उनी पक्षले भने अब एनआरएनए अमेरिकाले तयार पारेको पोर्टल तयारी अवस्थामा रहेको जनाएको छ।
एनआरएनए अमेरिकाको विधानमा जुलाई भन्दा अगाडि निर्वाचन सम्पन्न गर्नु पर्ने हुन्छ। यद्यपि विधानले विषेश परिस्थितमा ६ महिना सम्म समय थप गर्न पाउने व्यवस्था छ। सोही व्यवस्थाको प्रयोग गर्दै अध्यक्ष बन्जाडे ६ महिनाका लागि आफ्नो कार्यकाल थप गर्ने तयारीमा छन्। केही समय अगाडि समाज टाइम्स सँगको कुराकानीमा बन्जाडेले सो सम्भावना खुल्ला नै रहेको बताएका थिए।