अहिलेको सरकार भष्ट्राचारीको रक्षा गर्न जन्मिएको हो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारको जन्म नै भष्ट्राचारीको रक्षा गर्न भएको बताएका हुन् ।
उनले भने, ‘अहिले देशमा राजनीतिक जस्तो स्थिति बनेको छ त्यस्तै चुनौतीपूर्ण स्थिति बनेको छ । अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको जो सरकार छ यसको जन्म नै अप्राकृतिक छ । अलोकतान्त्रिक छ, अपारदर्शी छ , असंवैधानिक छ । यसले गर्ने भनेको भष्ट्राचारीको रक्षा हो । यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ, हजारौँ र लाखौँ शिक्षक सडकमा छन् । ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन । यो भन्दा लाजमर्दो कुरा के हुन्छ । लाखौँ शिक्षक र देशभरिका विद्यालयहरू संकटमा छन् ।’
साथै उनले सरकार शिक्षकका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरूलाई अपमानित गर्न लागेको बताए । उनले सरकारले शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर गम्भीर रूपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिए ।
उनले भने, ‘सरकारले आम शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर तुरुन्तै गम्भीर ढङ्गले वार्ता, संवाद गरेर हल गर्न कोसिस गरोस्, शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो । मैले धेरै मेहनत गरेर त्यो विधेयक संसदमा पुर्याएको छु । उपसमितिमा छलफल छ । त्यसलाई छलफल गरेर टुङ्ग्याउनेबारे शिक्षकहरूसँग किन कुरा गरिँदैन ? किन शिक्षकहरूलाई अपमानित गरिन्छ ?’