२०८२ सालको वसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ विक्रसम सम्वत २०८२ सालको वसुन्धराश्री पुरस्कार वरिष्ट साहित्यकार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गरिने भएको छ।
वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा गत शनिवार (अप्रिल १९ तारिख) बसेको विशेष बैठकले दुई स्रस्टालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
‘उत्कृष्ट आधुनिक कविताहरुको सिर्जना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ट साहित्यकार श्री तुलसी दिवसलाई वि.सं. २०८२ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।‘ प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव कृशु क्षेत्रीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
पुरस्कारको साथमा नगद ७५ हजार रुपैँयासहित सम्मानपत्र हुने जनाइएको छ।
वि.सं. १९९८ असारमा धनकुटामा जन्मिएका विशिष्ट साहित्यकार तुलसी दिवसका तुलसी दिवसका कविता, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति नामक कृतिहरु प्रकाशित भएका छन्।
‘आधुनिक नेपाली कविता, मुक्तक र कथाहरुको सिर्जनाद्धारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने चर्चित साहित्यकार श्री तोया गुरुङलाई वि.सं. २०८२ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।‘ विज्ञप्तीमा भनिएको छ।
पुरस्कारको साथमा नगद ५० हजार रुपैँयासहित सम्मानपत्र हुनेछ।
वि.स. २००४ साल चैत १८ गते सिन्धुपाल्चोकमा जन्मिएका विशिष्ट साहित्यकार तोया गुरुङका सूर्यदह, धुपी, देवल घुमेपछि, तोया गुरुङका लामा कविता, पुनरावती, कुसुम र अस्पृश्य कृतिहरु प्रकाशित भएका छन्।
यसअघि वसुन्धराश्री पुरस्कारद्वारा सम्मानित हुनेहरु
कविवर श्री माधवप्रसाद घिमिरे (वि.सं. २०५७), वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) वरिष्ठ समालोचक श्री यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार श्री डायमनशमशेर राणा (वि.सं. २०६२), वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि श्री मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान (वि.सं. २०६६) र वरिष्ठ कवि श्री वैरागी काइँला (वि.सं. २०६७) छन्।
त्यसै गरि वरिष्ठ कवि श्री धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार श्री शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार श्री अम्वर गुरुङ (वि.सं. २०७२), वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४), वरिष्ठ गायक श्री प्रेमध्वज प्रधान (वि.सं. २०७५), वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ (वि.सं. २०७६), वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम (वि.सं. २०७७), वरिष्ठ गायक श्री कुमार बस्नेत (वि.सं. २०७८), वरिष्ठ साहित्यकार श्री ठाकुरप्रसाद गुरागाई (वि.सं. २०७९), वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत (वि.सं. २०८०), र वरिष्ठ कूटनीतिज्ञ डा. भेषबहादुर थापा (वि.सं. २०८१) लाई प्रदान गरेको छ।
का संगीतकार श्री अम्वर गुरुङ्गयसअघि मानश्री पुरस्कारबाट सम्मानित हुनेहरु
कवि तथा गीतकार श्री दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार श्री विनय रावल (वि.सं २०५८), नाटककार श्री अशेष मल्ल (वि. सं २०५९), गजलकार श्री ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार श्री मञ्जुल (वि.सं. २०६१), कथाकार श्री मधुवन पौडेल (वि.सं. २०६२), कवि श्री विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि श्री कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार श्री भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार श्री सनत रेग्मी (वि.सं. २०६६), कवि श्री विजय बजिमय (वि.सं. २०६७), समालोचक डा. रामदयाल राकेश (वि.सं. २०६८) र कथाकार डा. बेञ्जु शर्मा (वि.सं. २०६९) लाई प्रदान गरिएको छ।
यस्तै चित्रकार श्री किरण मानन्धर (वि.सं. २०७०), कलाकार श्री नीर शाह (वि.सं. २०७१), गायक श्री दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), सञ्चारकर्मी श्री खगेन्द्र नेपाली (वि.सं. २०७४), गायक श्री भक्तराज आचार्य (वि.सं. २०७५), कलाकार श्री हरिवंश अचार्य (वि.सं. २०७६), साहित्यकार श्री सरूभक्त (वि.सं. २०७७), कलाकार श्री मिरा राणा (वि.सं. २०७८), कलाकार श्री थान बहादुर रावल (वि.सं. २०७९), वैज्ञानिक डा. महावीर पुन (वि.सं. २०८०), र कूटनीतिज्ञ श्री विन्देश्वरी शाह (वि.सं. २०८१) लाई प्रदान गरेको छ ।