भान्जालाई बचाउन जाँदा मामा पनि बेपत्ता, सप्तकोशीमा खोजी तीव्र
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता भएका छन् ।
सप्तकोशीमा बगेर बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका १६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
उनीहरू सोमबार वराहक्षेत्र मन्दिर नजिकै नुहाउने क्रममा नदीको तीव्र बहावमा परेका थिए । बेपत्ता परिवारका अनुसार शुरुवातमा भान्जा जेनिसलाई नदीले बगाएको थियो ।
उनलाई बचाउने प्रयासमा मामा नवराज पनि नदीमा फसेर बेपत्ता भएका हुन् ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै खोज तथा उद्धार कार्य सुरु गरेको छ । हालसम्म दुवै जना फेला नपरेको डीएसपी खतिवडाले नेपाल न्यूज बैङ्कलाई जानकारी दिए ।