विदेशमा बसेर नेपाललाई होच्याउने काम नगर्न प्रधानमन्त्री ओलीको आग्रह

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बसेर नेपाललाई होच्याउने काम नगर्न आग्रह गरेका छन्।
‘विदेशमा बसेर देशको आन्तरिक रुपमा मानमर्दन हुने गरी, सभ्यता, शिष्टतामा मर्दन हुने गरी हामीले व्यवहार गर्न सबैले सिक्दा रामो हुन्छ।’ प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले नयाँ वर्ष २०८२ को अवसर पारेर सोमवार बिहान भर्चुअल मार्फत आयोजना गरेको शुभ कामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्रीले ओलीले भने।
प्रधानमन्त्री ओलीले प्रवासी नेपालीको समस्या, चाहना र मागहरूप्रति सरकार निकै गम्भीर र संवेदनशील रहेको बताए।
‘प्रवासी नेपालीहरूले सबै यथोचित हक अधिकारहरू पाउनुपर्छ । त्यस अधिकारको प्रयोग गर्न पाउनुपर्छ ।‘ प्रधानमन्त्री ओलीले भने, ‘मातृभूमि र पुर्ख्यौली थलोप्रतिको माया र देशले बाहिर गएकाप्रति गर्ने माया असाधारण हुन्छ । हामीले यो कुरा बुझ्नुपर्छ।’
उनले जहाँ बसे पनि देशका बारेमा चिन्ता र चासो हुनु पर्नेमा जोड् दिए।
‘देशबाहिर अनुकूलताको सीमा हुन्छन् । तर पनि त्यहाँ बस्नुपर्ने हुन्छ । त्यहाँ बस्दा पनि हामीले देशलाई सम्झनु पर्ने हुन्छ । आजको दुनियाँमा देशलाई एउटा सम्मानित देशका रुपमा कसरी अगाडि बढाउने भन्ने चिन्ता र चासो हुनुपर्दछ ।’ ओलीले भने।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले २०८१ सालले नेपालका लागि सकारात्मक अवसर ल्याएको बताएका छन्।
‘बितेको २०८१ साल नेपालका लागि सकारात्मक अवसर ल्यायो देशले स्थिरता, स्थायित्व भएको सरकार पायो’ प्रधानमन्त्री ओलीले भने, ‘र देशलाई तिथिविधिमा हिडाउदै देशमा सुशान र विकास गतिलाई अगाडि बढाउने समृद्ध नेपाल सुखी नेपाललाई अगाडि बढाउने राष्ट्रिय आकांक्षा पुरा गर्ने साझा सङ्कल्पलाई साकार पार्ने प्रयास हामी लाग्न पाएका छौ।’
प्रधानमन्त्री ओलीले गत वर्ष सुशासन र भ्रष्ट्राचार नियन्त्रणको वर्ष भएको पनि दाबी गरे।
‘२०८१ साल केही असन्तुष्टिका स्वरहरू पनि देखिए तर केही यस्ता क्रियाकलाहरू पनि देखिए, गएको वर्ष शान्ति सुव्यवस्थाकै वर्ष, सुशासनतर्फको वर्ष, भ्रष्टाचार नियन्त्रणतर्फको वर्ष भनेर नै ठान्न सकिने र मान्न सकिने आधारहरू बनेका छन्।’ प्रधानमन्त्री ओलीले भने।
उनले नयाँ वर्षलाई देश र नेपाली जातीको हितमा सोचेर कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए।
‘अव हामी सानातिना कुराहरू र वैयक्तिक स्वार्थ जस्ता कुराहरूमा अलमलिने होइन । देश र जनताको आवश्यकतालाई ध्यानमा राखेर हामी सबै अगाडि बढ्नुपर्छ । विश्वभर जहाँ रहेका भए पनि हामी नेपाली जातीले देशको प्रतिष्ठा उकास्ने कुरामा विशेष ध्यान दिनुपर्छ । सरकार त्यही काममा अघि बढिरहेको छ,’ प्रधानमन्त्री ओलीले भने।
ओलीले अव आउने साललाई नेपाल र नेपालीका लागि विशेष बनाउनु पर्ने बताए।
‘यो बयासी साल हाम्रो विविधतायुक्त नेपाल, हाम्रो सम्पन्न सांस्कृतिक, भौगोलिक, प्राकृतिक, जैविक, वनस्पतिमय, सामाजिक सांस्कृतिक सबै हिसाबले यस सम्पन्न राष्ट्रले अव यस विविधतालाई साझा सम्पदाको रुपमा मानेर सामाजिक न्याय र सद्भावको माध्यमबाट सामाजिक सद्भाव कायम गर्दै अगाडि बढ्ने र राष्ट्रिय एकता कायम गरेर देश विकासको बाटोमा हामी सबै अगाडि बढ्ने कुरामा हामी लाग्नुपरेको छ ।’ ओलीले भने,’ राष्ट्रिय एकतालाई मजबुत बनाउनु परको छ र विकासका काममा एकजुट भएर लाग्नुपरेको छ।’
ओलीले विश्वमा आएका समस्या तर्फ पनि सबैको ध्यानाकर्षण गराए। ‘हामी देखिरहेका छौँ, विश्व परिस्थिति, बिश्वब्यवस्थामा केही तरङ्गयुक्त, केही ठाउँमा द्वन्द्वग्रस्त अप्रियताको अवस्थाहरू भएका छन् । ८२ साललाई यस्ता अप्रियतापूर्ण अवस्थाबाट मुक्त गर्न हामी सबैको पहलकदमी हुन आवश्यक छ ।‘ ओलीले भने, ‘शान्तिको मार्गमा लैजाने काममा सबैको पहल होस भन्ने हाम्रो चाहना छ ।’
कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष डा. बद्री केसीले पनि संवोधन गरेका थिए।
ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले सञ्चालन गरेका थिए।
कार्यक्रममा प्रवासी नपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको कला साहित्य विभागले तयार पारेको प्रवासी नेपाली मञ्चको गीत सार्वजनिक गरिएको थियो ।
यस्तै ओएनएफको वेबसाइटको पनि अनावरण गरिएको थियो। शुभकामना कार्यक्रममा गीत गायन नथा नृत्य पनि भर्चुअलबाटै प्रस्तुत गरिएको थियो।