पेन्सिलभेनियाका गभर्नरको निवासमा आगजनी गर्नेलाई हत्या प्रयासको आरोप

ह्यारिसबर्ग/ पेन्सिल्भेनिया गभर्नर जोश शापिरोको निवासमा आगजनी गर्ने एक व्यक्तिलाई हत्या प्रयासको आरोप लगाइएको छ। गभर्नर शापिरो र उनको परिवार सुतिरहेको अवस्थामा आइतबार निवासमा आगजनी भएको थियो।
प्रहरीले डाउफिन काउन्टीका एक व्यक्तिलाई आगजनी पछि पक्राउ गरेको थियो।
पक्राउ गरेका पेनब्रुक बरोका ३८ वर्षीय कोडी बाल्मरमाथि हत्या प्रयास, आतङ्कवाद र बढ्दो आगजनीको आरोप लागेको छ।
प्रहरीका अनुसार आइतबार बिहान २ बजेतिर गभर्नर निवासमा आगो लागेको हो। बाल्मर गभर्नरको निवासको बार नाघेर हाम फालेका थिए ।
पेन्सिलभेनिया राज्य प्रहरीले अदालतमा लगाएको अभियोग अनुसार बाल्मरले हथौडा प्रयोग गरी झ्याल फुटाएर पेट्रोल भरिएको हेइनकेन बोतलहरू भित्र फ्याँकेका थिए।
गभर्नर शापिरोले सैनिकहरूले ढोका ढकढक्याएको सुनेर पछि उनी र उनको परिवार उठेको बताएका छन्। आगजनी शुरु भए पछि आफ्नो सबै परिवार बाहिर निस्किएको र कसैलाई पनि चोटपटक नलागेको गभर्नरले सामाजिक सञ्जाल मार्फत जनाएका छन्।
आगोले निवासमा भने ठूलो क्षति पुर्याएको जनाइएको छ। राज्य प्रहरीले बाल्मर एक मिनेट भन्दा कम समयको लागि घर भित्र रहेको उल्लेख गरेको छ।
पूर्व प्रेमी मार्फत बाल्मरको बारेमा सोधेपछि उनलाई पक्राउ गर्न प्रहरी सफल भएको जनाइएको छ।
प्रहरी सँगको बनायनमा बाल्मरले आफूले शापिरोलाई घृणा गर्ने गरेको भनेका छन् ।
बयान अनुसार बाल्मरले यदि गभर्नरलाई देखेको भए हथौडाले आक्रमण गर्ने थिए योजना पनि बनाएका थिए।
गभर्नर शापिरोका अनुसार आक्रमण हुनुभन्दा केही घण्टा अगाडि यहूदी समुदायका सदस्यहरू निवास भित्र थिए। उनीहरू निस्तार चाडको पहिलो दिन मनाउँदै थिए।
“हामीले हिजो राति हाम्रो विश्वास गर्वका साथ मनायौँ, र केही घण्टामा, हामी फेरि हाम्रो दोस्रो निस्तार चाड गर्वका साथ मनाउनेछौँ। कसैले पनि मलाई वा मेरो परिवारलाई वा कुनै पनि पेन्सिलभेनियालीलाई आफ्नो विश्वास खुला र गर्वका साथ मनाउनबाट रोक्न सक्दैन,” शापिरोले घटना पछि भनेका छन्।
बयान पछि प्रहरीले बाल्मरको घरमा खानतलासी गर्दा निगरानी क्यामेरामा लगाएको कालो ज्याकेट, झोला भित्र हथौडा फेला पारेको जनाइएको छ।
डाउफिन काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयले पनि विज्ञप्ति मार्फत घटना बारेमा उल्लेख गरेको छ।
‘आइतबार बिहान, भिडियोमा संदिग्ध व्यक्ति ह्यारिसबर्गमा रहेको गभर्नरको निवासको निगरानी गरिरहेको देखिन्छ। व्यक्ति गैर कानुनी रूपमा पर्खाल चढेर निवास परिसरमा प्रवेश गर्छ।‘ विज्ञप्तिमा भनिएको छ, ‘ऊ दक्षिण तर्फको झ्यालमा पुग्छ, हथौडाले यसलाई तोड्छ। त्यसपछि उसले मोलोटोभ ककटेल भित्र फ्याँक्छ, जसले गर्दा ठूलो आगो लाग्छ।‘
‘संदिग्ध व्यक्ति पूर्वी झ्यालमा सर्छ र जबरजस्ती निवासमा प्रवेश गर्छ। उसले मोलोटोभ ककटेल प्रयोग गरेर निवास भित्र दुई थप आगो लगाउँछ। ऊ आगोको ढोकाबाट भवनबाट भाग्छ।‘ जिल्ला न्यायाधिवक्ताको कार्यालयले भनेको छ।
यसै बीच गभर्नर शापिरोले आफ्नो परिवारलाई खतराबाट बाहिर निकाल्ने सबैलाई धन्यवाद दिएका छन्।
‘हाम्रो परिवारलाई खतराबाट सुरक्षित रूपमा बाहिर निकाल्ने पेन्सिलभेनिया राज्य प्रहरीका जवानहरू, गभर्नरको निवासमा लागेको आगोलाई तुरुन्तै निभाउने अग्निनियन्त्रकहरू र यस आक्रमणको अनुसन्धान गर्न काम गर्ने कानून प्रवर्तन अधिकारीहरूप्रति सम्पूर्ण शापिरो परिवार सदा आभारी छ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।