नेपाली भाषी भुटानीलाई डिपोर्ट गर्नु ट्रम प्रशासनको नैतिक र कानुनी असफलता: सिनेटर जोन फेटरम्यान

ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ अमेरिकाका सिनेटर जोन फेटरम्यानले नेपाली भाषी भुटानीहरूको देश निकाला प्रकरणलाई ट्रम्प प्रशासनको नैतिक र कानुनी असफलता भएको बताएका छन्।
एशियन रेफ्युजी युनाइटेड (एआरयु) मार्फत सन्देश पठाउँदै पेन्सिल्भेनियाबाट प्रतिनिधित्व गर्ने सिनेटर फेटरम्यानले सो घटनाको निन्दा समेत गरेका छन्।
अमेरिकाबाट अहिले सम्म १८ जना नेपाली भाषी भुटानी देश निकालामा परेको विवरण सार्वजनिक भएको छ। अमेरिकाबाट भारत हुँदै भुटान पुर्याइएका मध्ये चार जना अवैध रुपमा नेपाल पुगेको र उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली भाषी भुटानीहरू शरणार्थीको हैसियतमा अमेरिका आएका हुन्। जातीय सफायका क्रममा सन् २०१९ मा भुटान शासकले नेपाली भाषी आफ्ना नागरिकलाई देश निकाला गरेको थियो। त्यो क्रममा झन्डै एक लाख नेपाली भाषी भुटानी नेपाल पुगेका थिए। जहाँ उनीहरुले दुई दशक शरणार्थी जीवन बिताए।
त्यसै क्रममा संयुक्त राष्ट्र संघले तेस्रो देश पुनर्वास अन्तर्गत विभिन्न देशमा स्थानान्तरण गरेको थियो । अमेरिका आएका मध्ये आपराधिक गतिविधिमा सहभागी भएको आरोपमा अदालतबाट दोषी प्रमाणित भइसकेका लाई अहिले देश निकाला गरिएको जनाइएको छ।
“क्रूर शासनद्वारा जबरजस्ती निकालिएपछि भुटानबाट आफ्नो ज्यान जोगाउन भागेका यी पेन्सिलभेनियालीहरूलाई अब त्यही देशमा निर्वासित गरिँदैछ जहाँ उनीहरूलाई मेटाउन खोजिएको थियो।‘ सिनेटर फेटरम्यानको सन्देशमा भनिएको छ, ’यी ती मानिसहरू हुन् जसले उत्पीडनबाट भागेका थिए, अमेरिकामा जीवन र परिवार निर्माण गरेका थिए र दशकौंदेखि हाम्रा समुदायहरूलाई बलियो बनाएका छन्।‘
सिनेटर फेटरम्यानले अगाडि भनेका छन्, ‘ट्रम्प प्रशासनले उनीहरूलाई फेरि खतरामा पठाउनु नैतिक र कानुनी असफलता हो। म यस प्रकारको अन्यायलाई बढावा दिने कुनै पनि नीति वा वक्तव्यबाजीको निन्दा गर्छु, र मेरो कार्यालय स्थानीय नेताहरूसँग सम्पर्कमा छ र प्रभावित परिवारहरूलाई मद्दत गर्न हामीले सक्दो गरिरहेको छ।‘
र यो पनि…