बाना चुनाव कसले मार्ला बाजी? तीन समूह प्यानलै सहित मैदानमा
बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को निर्वाचन अप्रिल ६ तारिख आइतबार हुँदै छ।
बाना निर्वाचन समितिका प्रमुख डा. कृष्ण ढकालका अनुसार चुनावका लागि पार्कभिल पुट्टी हिल एभ्युन्युमा (2501 Putty Hill Ave, Parkville, MD 21234) मतदान केन्द्र तोकिएको छ।
आइतबार बिहान ८ बजे देखि साँझ पाँच बजे सम्म मतदान हुने छ। निर्वाचन प्रमुख ढकालका अनुसार एक मिनेटमा नौ जनाले मतदान गर्न पाउने गरी व्यवस्था मिलाइएको छ।
बानामा यस पटक चार हजार आठ सय तीन मतदाता रहेका छन्।
भावी नेतृत्वका लागि तीन जनाको दाबी
बाना अमेरिकामा चल्तीको संस्था हो। पछिल्लो समय बानाको गतिविधि तीव्र भएको छ। यो अमेरिकामा क्रियाशील नेपाली भाषीका संघ संस्थाहरूमा सक्रिय मध्येको प्रमुख हो।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका पछि बाना सबै भन्दा धेरै सदस्य भएको संस्था बनेको छ।
बानामा सदस्य सँग सँगै उम्मेदवारको संख्या पनि बढेको छ। बानाको इतिहासमा नै तीन समूह प्यानल नै बनाएर चुनावी मैदानमा छन्। अध्यक्षमा जीतेन्द्र (जीतेन) गुरुङ, लक्ष्मी भारती र कोशिस भण्डारी चुनावी मैदानमा छन्।
जीतेन वर्तमान कार्यसमितिका सल्लाहकार हुन्। लक्ष्मी वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन्। कोशिस सँग भने कार्यसमितिमा रहेर काम गरेको अनुभव छैन।
यी तीन मध्ये एक जनाले दुई कार्यकाल पुरा गर्दै गरेका सुबोध विलास पन्तलाई स्थानान्तरण गर्ने छन्।
तीनै जनाले आफूले चुनाव जित्ने दाबी गरेका छन्। सिन्धुपाल्चोककी चेली लक्ष्मी भारती समूहलाई संस्थापन पक्षले साथ दिएको छ। संस्थापन पक्ष भन्दा बाहिरबाट भने दुई जना अध्यक्षको उम्मेदवार छन् र दुवै जना पर्वत जिल्लाका हुन्।
जीतेन गुरुङले एक वर्ष भन्दा अगाडि देखि चुनावी अभियान थालेका थिए। तर पर्वत समाजको अधिवेशनमा मनमुटाब भए पछि कोशिसले पनि बाना अध्यक्षका लागि तीव्र तयारी थालेका हुन्।
कोशिसको उम्मेदवारी सँगै संस्थापन पक्षले राहत महशुस गरेको थियो भने जीतेन टिम तीव्र दबाबमा देखिएको थियो। कोशिस नेपाली मुलका पहिलो अमेरिकन डेलिगेट ह्यारी भण्डारीका सहोदर भाइ हुन्।
जीतेन र कोशिसलाई एउटै टिमलाई समेट्ने प्रयास को पहिलो डेढ वर्ष अध्यक्ष बन्ने भन्नेमा कुरा नमिलेको जनाइएको छ। बानाको कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ। ह्यारि भण्डारीकै रोहवरमा गोला प्रथा गरेर पहिलो डेढ वर्ष अध्यक्ष हुने प्रस्तावमा सहमति हुन नसकेको जनाएको थियो।
कोशिसको अडानले बाना चुनावलाई प्रतिस्पर्धी बनाएको मात्र होइन जीतेन माथि दबाब बढाएको छ। यस पटक बाना अध्यक्षको उम्मेदवार बनेका तीनै जना गैर वामपन्थी विचार धाराबाट छन्। तर नेपाली कांग्रेसको विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरले जीतेन टिमलाई सघाउने निर्णय गरेको छ।
११ वर्ष देखि चुनाव गराउन नसकेर आफै थला परेको, अध्यक्ष महासचिव र प्रवक्ता मात्र खुम्चिएको जनसम्पर्क समितिको समर्थनले जीतेनलाई विवादमा पनि ल्यायो।
मतदाताको ढाँचा
मेरिल्याण्डको कोलम्बिया, एलिकट सिटी, सिल्भर स्प्रिङमा बानाका कुल मध्ये २५ प्रतिशत मतदाताको बसोबास छ।
यो क्षेत्रमा कोशिस बलिया छन्। उनको यो क्षेत्रमा ६० प्रतिशत मतदाता रहेको अनुमान गरिएको छ। कोशिसका मतदाता प्रायशः नयाँ छन् र टाढाका धेरै छन् । यति सम्मकी उनको टिमका केही उम्मेदवारले मनोनयनका दिन पहिलो पटक बाना भवन टेकेका पनि थिए।
यो क्षेत्रमा लक्ष्मी टिमको २५ प्रतिशत र जीतेन टिमको १५ प्रतिशत मतदाता रहेको आकलन गरिएको छ।
टाउसन, पार्कभिलमा कुल मतदाताको ३५ प्रतिशतको बसोबास छ। यो क्षेत्रमा लक्ष्मी बलियो छिन्। लक्ष्मीको पक्षमा ४५, जीतेनको पक्षमा ३० र कोशिसको पक्षमा २५ प्रतिशत मत रहेको अनुमान छ।
पेरी हल, नटिङ्घम सबै भन्दा धेरे मतदाता छन् र यो क्षेत्रमा जीतेन बलियो देखिएका छन्। यो क्षेत्रमा कुल मतदाता मध्ये ४० प्रतिशतको हाराहारीमा छन् र जीतेको पक्षमा ४५ प्रतिशत छन्। यो क्षेत्रमा ३० प्रतिशत मत सहित लक्ष्मी दोस्रो र २५ प्रतिशत मत सहित कोशिस तेस्रोमा देखिन्छन्।
जीतेन बोल्नमा लजालु छन्। भन्न खोजेको कुरा फ्याट्टै मुखमा ल्याउन नसक्ने उनको स्वभाव छ। जीतेनका जिल्लावासी प्रतिद्वन्द्व कोशिस ‘तर्क’ गर्नमा अगाडि छन्। पदाधिकारीको रुपमा दुई कार्यकाल बानामा बिताएकी लक्ष्मीले सन्तुलित अभिव्यक्ति दिन थालेकी छिन्।
कोशिस टिमले उम्मेदवार प्रायशः नयाँ छन्। वरिष्ठ उपाध्यक्षमा डा. एकता कोइराला र महासचिवमा तारा खराल न्यौपाने रहेकी छिन्। उनले नयाँलाई ल्याउन खोजेका छन् तर उनका टिमका प्रायशः समाजमा धेरै घुलमिल नभएकाहरू छन्। आफ्नो पेशामा दक्ष रहेका उनीहरूबाट बानाले प्रयाप्त समय त पाउँछ भन्ने प्रश्न पनि उठेको छ।
जीतेन आफैमा भद्र स्वभावका छन्। हँसिलो स्वभावका जीतेनको कमजोरी समयमै आफैले निर्णय दिन नसक्नु हो। अन्य समयमा झन्डै झन्डै बोलचाल नै बन्द भएकाहरू अहिले बानाको सत्ता फुत्काउन जीतेनको नाममा एक ठाउँमा भएका छन्। तर भोलीका दिनमा चार तीर फर्किएकाहरूलाई लिएर कसरी काम गर्छन् भन्ने प्रश्न पनि उठेको छ।
जीतेन टिममा वरिष्ठ उपाध्यक्षमा जनक थापा र महासचिवमा शलिन बस्नेत रहेका छन्।
भारती सँग अनुभव छ। कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पुरा गरिसकेकी छिन्। तर उनी पनि प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिका इन्चार्ज तथा बना ट्रस्टी अध्यक्ष प्रभु थापाको छाया मात्र हुने हुन की भन्ने डर पनि छ।
भारती टिममा वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव सागर घिमिरे र महासचिवमा दमन विक्रम शाह रहेका छन्।
मेरिल्याण्डका दिग्गज को कता ?
डेलिगेट ह्यारी भण्डारी यस पटकको चुनावमा सार्वजनिक रुपमा प्रकट भएका छैनन्। तर लामो समय देखि उनी निकट रहँदै आएका सुदूरपश्चिमका तीर्थराज पाण्डे र अर्जुन हमाल टिम कोशिसको सारथि बनेका छन्।
जीतेन टिममा एनआरएनए मेरिल्याण्डका निवर्तमान अध्यक्ष राजु पराजुली, नारायण थापा, डोलनाथ घिमिरे, रामचन्द्र अधिकारी, पर्वत समाजका अध्यक्ष रविन शर्मा, वाग्लुङका दुर्गा प्रसाद श्रेष्ठ, सुदूरपश्चिम समाजका अध्यक्ष विक्रम शाह, गोपालचन्द्र लामिछाने लगायतले सारथि सम्हालेका छन्।
वरिष्ठ पत्रकार तरुण पौडेलले पनि यस पटक जीतेनका लागि सक्रियता बढाएका छन्। अलि पहिला अध्यक्षमा चुनाव हारे पछि बाना जान छोडेका अर्का पत्रकार सतिश चापागाईँले पनि टिम जीतेनलाई सघाएका छन्।
आफ्नो एक मत बाहेक अन्यत्र खासै फरक पार्न नसक्ने पत्रकार गौतम दाहाल ‘जीतेन र कोशिस मेरा दुवै भाइ एकै पदमा हुँदा अप्ठेरो पर्यो’ भन्दै सामाजिक सञ्जालमा रोइलो गर्दै छन् ।
लक्ष्मी टिममा प्रभु थापा, सुबोध विलास पन्त, पूर्व अध्यक्ष कुल आचार्य, अनुसुया वन्त र कुनै समय बानाको विकल्पमा साथी बाल्टिमोर खोलेका रमेश भट्टले साथ दिएका छन्।
रमाइलो कुरा एनआरएनए मेरिल्याण्ड च्याप्टर अध्यक्ष कुल गुरुङले भने मौनता साधेर बसेका छन्। कुल गुरुङलाई यस अगाडि जीतेन निकट भनिन्थ्यो।
कस्ले मार्ला बाजी?
कोशिसको उम्मेदवारीले जीतेनलाई दबाब बढाएको साँचो हो। नत्र लक्ष्मीलाई पानी भन्न पनि गाह्रो थियो।
कोशिसको उम्मेदवारीले कारण संस्थापन पक्ष, प्रवासी नेपाली मञ्च र साथी बाल्टिमोरका पदाधिकारीले राहतको सास फेरेका छन्।
जीतेन टिम आफूहरूले १७ सय भन्दा बढी मत ल्याएर चुनाव जित्ने दाउमा छ। अघिल्लो पटक संस्थापन इतरबाट चुनाव जितेकी लक्ष्मीलाई यस पटक संस्थापनको पनि भोट थपिदा पहिलो हुन गाह्रो नहुने विश्वास छ।
कोशिस भने बानाको ‘बालेन’ बन्ने दाउमा छन्। उनी बानाको बालेन बन्छन् वा जीतेनलाई रोक्नका लागि निर्णायक त्यसका लागि आइतबार राति वा सोमबार बिहान सम्म कुर्नु पर्ने नै छ।
तर एउटा कुरा के निश्चित हो भने आफूले खर्च गरेर बनाएका मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्र ल्याएर आफूलाई धेरै भोट हनाउन जसले सक्छ उनीले बानामा बाजी मार्ने छ।