बाना निर्वाचन: लक्ष्मी भारती पनि औपचारिक रुपमा मैदानमा
बाल्टिमोर, मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को आसन्न निर्वाचनमा लक्ष्मी भारतीले पनि सोमवार औपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।
भारती वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन्। उनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेकी हुन्।
‘म सामाजिक सेवा र समुदाय प्रतिको मेरो अनुभवलाई अझ प्रभावकारी रूपमा उपयोग गर्न चाहन्छु। लामो समयदेखि बानासँग आबद्ध हुँदै, अहिले वरिष्ठ उपाध्यक्ष को रूपमा सेवा गर्दै आएको छु। यही अनुभव र तपाईँहरूको विश्वासले प्रेरित गर्दै, म आज बाना अध्यक्ष पदको उम्मेदवारी (कार्यकाल २०२५-२०२८) घोषणा गर्न चाहन्छु।‘भारतले आफ्नो वालमा लेखेकी छिन्।
‘तपाईँहरूको साथ र समर्थनले मात्र बानालाई अझ सशक्त बनाउन सकिन्छ। आगामी दिनमा तपाईँहरूको सुझाव, सल्लाह, र सहयोगको अपेक्षा राख्दछु। बानाको उज्ज्वल भविष्यका लागि एकजुट बनौँ!’ उनले छोटो आफ्नो योजना र उद्देश्य पनि प्रस्टाएकी छन्।
बानाको निर्वाचन अप्रिल ६ तारिखमा हुँदै । निर्वाचन आयोगले सोमवार मात्र मतदाताको पहिलो नामावली प्रशासन गरेको छ। बानामा यस पटक ऐतिहासिक रुपमा पाँच हजार भन्दा बढी सदस्य बनेका छन्।
यस अगाडि जितेन गुरुङ र कोशिस भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
‘म कार्यसमितिमै भएकाले मेरा केही सीमा थिए, निर्वाचनको तालिका आओस् भन्ने थियो, आज निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गर्यो त्यसैले आजै मैले घोषणा गरेको हुँ।’ समाज टाइम्स सँग भारतीले भनिन्।
उनले पछि फिर्ता लिने वा बार्गेनिङ गर्ने गरी आफ्नो उम्मेदवारी नआएको बताइन। ‘म वरिष्ठ उपाध्यक्ष हुँ, अब मैले केको लागि बार्गेनिङ गर्ने,’ ’भारतीले भनिन,’मेरो जाने ठाउँ नै अध्यक्ष हो।‘
भारतीले आफू साझा उम्मेदवार हुने दाबी गरिन्। यस अगाडि अध्यक्षमा उम्मेदवारी दिएका जितेन र कोशिसलाई आफूले मिलाएर लैजाने उनले बताइन।
‘जितेन र कोशिस हिजो हामी सँगै थियो, अघिल्लो पटक म वरिष्ठ उपाध्यक्षमा जित्दै गर्दा उहाँहरूले मलाई सहयोग गर्नु भएको हो, हामी एउटै हो, म उहाँहरू सँग कुरा गर्दै छु।’ भारतीले भनिन्।
अघिल्लो निर्वाचनमा भारती अहिलेको संस्थापन पक्ष भन्दा फरक समूहबाट चुनाव जितेकी हुन्। उनी हिरा गुरुङ समूहबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार थिइन्। हिरा गुरुङले बानाको संस्थापन पक्ष सँग विद्रोह गरेका थिए। सुबोध विलास पन्तलाई दोस्रो कार्यकालमा अध्यक्ष हुनबाट रोक्न नसकेका हिराले अहिलेको चुनावमा के गर्छन् अझै प्रष्ट भएको छैन।
त्यस्तै सुबोधले पनि अध्यक्षमा ह्याट्रिकको प्रयास गर्ने नगर्ने खुलाएका छैनन्।
भारतीले संस्थापन पक्षले आफैलाई सहयोग गर्ने दाबी गरिन्। ‘अघिल्लो चुनावमा म फरक समूहबाट निर्वाचित भए पनि यो बिचमा काम गर्दा कुनै समस्या भएको छैन, उहाँहरू सँग असहमति हुनु पर्ने कुनै कारण नै छैन मलाई सबैको सहयोग हुन्छ।’ भारतीय भनिन्, ‘मेरो मेहनत र लगन उहाँहरूले देख्नु भएको छ।’
भारतीले आफूले सबैलाई मिलाएर लैजान सक्ने साझा उम्मेदवार भएको बताइन्। ‘म हिजो जुन समूहबाट चुनाव जिते उहाँहरू सँग पनि मेरो राम्रो छ, संस्थापन पक्ष सँग पनि यो तीन वर्ष सँगै काम गर्दा कुनै समस्या भएन त्यसो हुँदा म दुवै पक्षका लागि स्वीकार हुने व्यक्ति हुँ, म बानाको साझा उम्मेदवार हुँ।’
सन् २०११ मा बानाको सदस्यता लिएकी भारती २०१७ मा कोषाध्यक्ष निर्वाचित भएकी थिएन्। त्यस पछिको कार्यकाल बाहिर बसेकी उनी २०२२ मा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएकी हुन्।