ह्यारिसबर्गमा मनाइयो माङी त्हें
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको राजधानीमा ह्यारिसबर्गमा शनिवार विषेश कार्यक्रमको आयोजना गरी माङी त्हें मनाइएको छ।
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए) र गुरुङ कम्युनिटी अफ ह्यारिसबर्ग पेन्सिल्भेनियाले विषेश कार्यक्रमका साथ माङी त्हें मनाएका हुन्।
माङी त्हें लाई तमु (गुरुङ) समुदायमा ल्होछार पछिको ठूलो चाड पर्व मानिन्छ। यसलाई सात आमाहरूको पर्व पनि भनिन्छ।
ह्यारिसबर्ग स्थित लक्ष्मीनारायण मन्दिरको हलमा विषेश पूजा मण्डव थापना गरी घ्याप्रिङ चिबा र पोजुचिबा पूजा अर्चना गरेका थिए। सो अवसरमा घ्याप्रिङ चिबा र पोजुचिबाले ग्राथोवा छ्योपा पे (गुरुङ समुदायको धार्मिक ग्रन्थ) वाचन गरेका थिए। यस्तै उनीहरुले सात गाँठो रिपा लगाइ स्याई स्याई गरेका थिए।
भीमा गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा युजीएसएका भाषा तथा सांस्कृतिक विभाग प्रमुख तथा स्थानीय आयोजक गोपाल गुरुङ स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा युजीएसएका अध्यक्ष प्रदीप गुरुङले माङी त्हेंका बारेमा प्रस्टाएका थिए। त्यसै गरी उनले युजीएसको स्थापनाकाल देखि समुदायको उत्पत्ति र संस्कृतिका बारेमा गरिएको खोज अनुसन्धानका बारेमा पावर प्वाइनमा नै प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि इन्द्रावती राई, स्वातारा टाउनशिपका आयुक्त टम कोनोली, भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौला लगायतले मन्तव्य दिएका थिए।
कार्यक्रममा सात आमाहरूको विषेश पूजा र सम्मान गरिएको थियो। यस्तै एक सय दुई वर्षकी ज्येष्ठ नागरिक मन माया घले गुरुङलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा अतिथिहरूले संस्कृतिको जगेर्ना गरेको भन्दै आयोजकको प्रशंसा गरेका थिए।
गुरुङ भाषाको गीतमा गुरुङ पोशाकमा कार्लय आमा समूह र ब्लुमिङ्ग लोट्स डान्स स्टुडियोका विद्यार्थीले नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि इन्द्रावती राई र लोक गायिका दुर्गा गुरुङ सम्मान गरिएको थियो। दुर्गाले एकल गीत गाएकी थिइन। साथै उनले र रामकृष्ण विष्टले दोहोरी खेलेका थिए। यस्तै दोहोरी गायीका सुमित्रा लामा अतिथि कलाकारको रुपमा कार्यक्रममा उपस्थित भएकी थिइन्।
यस्तै युजीएसएको निम्तामा माङी त्हेंका लागि नेपालबाट अमेरिका आएकी गुरुङ समुदायको भाषा र संस्कृतिमा सञ्चार कर्म गर्दै आएकी रोधी टिभीकी सञ्चालिका बालकासी गुरुङलाई पनि समान गरिएको थियो।
युजीएसएका प्रवक्ता सहज गुरुङ पनि माङी त्हेंका बारेमा प्रकाश पारेका थिए। युजीएसएका प्रमुख सल्लाहकार टेक गुरुङ कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए।