सरकारले ल्याएको अध्यादेशको कांग्रेस एमालेको विदेश स्थित भातृ संस्थाद्वारा विरोध

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाल सरकारले हालै ल्याएको अध्यादेशको नेपाली कांग्रेस र नेकपा एमालेका विदेश स्थित भातृ संस्थाले विरोध गरेका छन्।
नेपाल सरकारले हालै मात्र गैर आवासीय नेपाली नागरिकता बाहकलाई दश वर्ष भिषा निःशुल्क गर्ने गरी अध्यादेश ल्याएको छ।
सो अध्यादेश संविधान विपरीत भएको भन्दै गैर आवासीय नेपालीले आलोचना गरिरहेको बेला सत्तारुढ दलका भातृ संस्थाले पनि संविधान प्रदत्त अधिकारको पूर्ण सुरक्षाको माग गरेका हुन्।
नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्ट र नेकपा एमाले निकटको प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने सोमवार संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
विज्ञप्तीको पूर्ण पाठ
मिति: जनवरी १३, २०२५
संयुक्त प्रेस विज्ञप्ति
नेपाल सरकारले गैर आवासीय नेपाली नागरिकता लिएका व्यक्तिहरुलाई लक्षित गरी ल्याउन लागेको अध्यादेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू,माननीय गृहमन्त्रीज्यूलगायत सिंगो नेपाल सरकारको मन्त्रीपरिषदसमक्ष ‘गैरआवासीय नेपाली नागरिकता वा परिचयपत्रप्राप्त व्यक्ति र तिनका परिवारलाई नेपालमा बसोबास गर्दा १० वर्षसम्म गैरआवासीय भिसा निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने’ भन्ने कानुन संशोधनको बुँदालाई पुनर्विचार गरी हामीहरुको संविधान प्रदत्त अधिकारको पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि अनुरोध गर्दछौं।
नेपालको वर्तमान संविधानले हामी प्रवासमा रहेका नेपालीहरुलाई गैर आवासीय नेपाली नागरिकताको सुनिश्चितता गरेको छ। सांस्कृतिक,सामाजिक र आर्थिक अधिकारसहित गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने संवैधानिक सुनिश्चितताको हामीले पूर्ण उपयोग गर्न नपाइरहेको अवस्था विद्यमान छ। अहिले आफ्नै नागरिकलाई आफ्नै देशमा भिषा लगाउनु पर्ने भन्ने व्यवस्था गरिनु संविधानको भावना विपरीत कदम हो भन्ने हाम्रो ठहर छ।
हामी प्रवासमा रहेका आम नेपाली आफूले सिकेको सीप, आर्जन गरेको धन नेपालकै हितमा लगाउन चाहन्छौं। सम्माननीय प्रधानमन्त्रीज्यूको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई सार्थक बनाउन गैर आवासीय नेपालीहरूको सहभागिताले महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने हाम्रो बुझाइ छ। तर त्यसका लागि विद्यमान कानुनहरू बाधक बन्दै आएको छ। गैर आवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली पूर्ण रुपमा कार्यान्वयनमा आई नसकेका कारण नेपाल सरकारको सम्बन्धित निकायबाट प्रदान गर्ने सेवा र सुविधा समेत प्राप्त गर्न नसकिरहेको अवस्था विद्यमान छ। हाल १० वर्षसम्म भीसा नलाग्ने भन्ने जुन व्यवस्था गर्न खोजिएको छ,त्यो आम गैर आवासीय नेपालीहरुको लागि स्वीकार्य छैन।
१० वर्षसम्म गैर आवासीय भिसा नि:शुल्क व्यवस्था गर्ने भन्ने माग हाम्रो कदापी होइन। यो व्यवस्था प्रवासमा रहेका आम नेपालीहरुको भावना विपरित छ। हामी नेपालको संविधानले प्रदत्त गरेको नागरिकताको पक्षमा छौं र सरकारसंग हाल प्राप्त गैर आवासीय नेपाली नागरिकतालाई थप अधिकार सम्पन्न बनाएर कार्यान्वयन गर्नका लागि जोडदार माग गर्दछौं। साथै अहिले संविधान संशोधनको चर्चा समेत चलिरहेको अवस्थामा संविधान संशोधन गर्दैगर्दा नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने व्यवस्थाका लागि समेत हामी संसदका सबै दल र जनप्रतिनिधिहरु समक्ष जोडदार माग गर्दछौं।
सरकारले व्यवस्था गर्न लागेको भिसा नि:शुल्क सम्बन्धी प्रावधान स्थगित गरी देश बाहिर रहेका आम नेपालीहरुको भावना अनुसार थप छलफलका लागि सरकारको ध्यानाकर्षण समेत गराउन चाहन्छौं।
साथै नेपालको संविधानले ग्यारेन्टी गरेको र सम्मानित सर्वोच्च अदालतले समेत विदेशमा बसेका आफ्ना नागरिकलाई मताधिकार दिनु भन्ने आदेशलाई तत्काल पालना गरी हामी देश बाहिर बसेका नेपाली नागरिकलाई आफ्नो प्रतिनिधि चुन्ने मताधिकारको व्यवस्था सुनिश्चित गरिदिन पनि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं।
आनन्द विष्ट
सभापति, नेपाली जनसम्पर्क समिति,अमेरिका
कृष्ण लामिछाने
अध्यक्ष,प्रवासी नेपाली मंच अमेरिका