अप्राकृतिक भएकै कारण अब ओली सरकार चल्दैन : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा विपक्षी दलका नेताहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शिता रहेकोले नचल्ने दाबी गरेका हुन् ।
उनले भने,‘यो गठबन्धन अप्राकृतिक,अलोकतान्त्रिक र अपारदर्शी छ भनेर मैले गम्भीर रूपले भनिसकेको छु ।अप्राकृतिक भएकाले अब यो चल्दैन ।’
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ सम्म चुनावै नगरी बस्न खोजेको बताए ।
प्रधानमन्त्रीले ओली संसद् नै भङ्ग गर्ने मान्छेले भएको भन्दै संसद् भङ्ग गरेर ठेलेको ठेलै गरेर अझै ६ वर्ष बसौला भन्ने सोच बनाएको हो कि भनेर आशङ्का व्यक्त गरे ।
उनले भने, ‘०८७ सम्म बस्ने उहाँको चाहना होला । अब हेरौँ, ०८७ सम्म चुनावै नगरीकन बस्ने हो कि ? त्यसलाई पनि मान्छेले प्रश्न खडा गर्छ । संसद् नै भङ्ग गर्ने मान्छेले संसद् भङ्ग गरेर ठेलेको ठेलै गरेर अझै ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि थाहा भएन ।’
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यो देश नबन्नुको मुख्य कारण अहिलेको नेतृत्व र उक्त नेतृत्वले ल्याएको व्यवस्था रहेको बताए । सरकार निर्माणको प्रक्रियामा दुई ठुला दलले संविधान संशोधनको लागि मिलेको भनेर सार्वजनिक गरेकोमा अहिले यहाँ त्यो विषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको उनको भनाई छ ।
उनले भने, यो देश नबन्नुको मुख्य कारण अहिलेको नेतृत्व र यो नेतृत्वले ल्याएको व्यवस्था हो । यो नेतृत्व र व्यवस्थाले देश बन्दैन। हामीले संविधानमा परिवर्तनको विषय उठाइरहेका छौँ। सरकार निर्माणको प्रक्रियामा दुई ठुला दलले संविधान संशोधनको लागि ठुला दल मिलेको भनेर सार्वजनिक गरे अहिले यहाँ आइपुग्दा त्यो विषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको छ ।’
उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर समृद्ध बनाउनको लागि अहिलेको नेतृत्व र व्यवस्था फ्याँक्नुपर्ने बताए ।