जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पाटन, ललितपुर/ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले विश्वलाई सन्देश दिनुपर्नेमा जोड दिएका छन्।
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा पार्टी कार्यालय सानेपामा शुक्रवार आयोजित वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी कार्यपत्र प्रस्तुतीकरण कार्यक्रममा बोल्दै सभापति देउवाले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधन प्रयोगलाई बढाउनुपर्ने बताए ।
“जलवायु परिवर्तनको असरले नेपाल पीडित छ, यसको असर न्यूनीकरणका लागि नेपालले चाहेर मात्रै हुँदैन, नेपालले विश्वलाई सन्देश दिने गरी गर्न सक्ने विषय धेरै छन्,” उनले भने ।
देउवाले काठमाडौँ उपत्यकामा मात्रै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सके जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठुलो उपलब्धि हुने धारणा राखे।
“समुन्द्री सतह बढेको छ, हिमाल नाङ्गो भइरहेको छ, त्यसैले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन हो”, सभापति देउवाले भने। उनले देशमा ६० प्रतिशत जङ्गल बचाउन सकेमा मात्रै ठुलो मद्दत पुग्ने बताए ।
पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले नेपालले अन्तर्राष्ट्रियकरण जलवायु परिवर्तनको मुद्दाको नेतृत्व गर्नुपर्नेमा जोड दिइन । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगन्य भए पनि जलवायु सङ्कट समाधान गर्नमा, नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले जलवायु परिवर्तनको विषयमा पार्टीभित्र नीति तय गरी कानुन निर्माणमा क्रियाशील रहने बताए । कार्यक्रममा जलवायु परिवर्तनको विषयमा अनुसन्धानरत विज्ञहरूले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो ।