गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरमा सोमनाथ घिमिरे अध्यक्षमा दोहोरिए
न्यु योर्क/ गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरमा सोमनाथ घिमिरे अध्यक्ष दोहोरिएका छन् । गिरिजा प्रसाद कोइराला फाउन्डेशनकी संस्थापक केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले अमेरिका च्याप्टरको विधान बमोजिम घिमिरेलाई अध्यक्ष पदमा दोस्रो कार्यकालका लागी पुन नियुक्त गरेकी हुन।
गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरमा घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति २०२५-२०२८ को कार्यकालमा उपाध्यक्षमा सुवर्ण लामा, महासचिवमा छिरिङ राप्के लामा, कोषाध्यक्षमा रेखा श्रेष्ठ रहेका छन्।
यस्तै सदस्यहरूमा ध्रुव कुँवर क्षेत्री, रामचन्द्र अधिकारी, सूर्य सिम्खडा, राजेश आर्चाय, प्रेम अधिकारी क्षेत्री, प्रेमदिकी शेर्पा, फुदोमा शेर्पा, हिरा तामाङ, पासाङ एस गोर्पामा चयन भएका छन् ।
अधिवक्ता गिरिजा गौतम फाउन्डेशन अमेरिकाका कानुनी सल्लाहकार रहेका छन्।
फाउन्डेशनको अमेरिकाको कार्यालय न्यु योर्कमा रहेको छ । सामाजिक सेवाका कामहरू सक्रियतापूर्वक गरिरहेको फाउन्डेशनलाई अमेरिकामा प्रतिष्ठित संस्थाको रूपमा हेरिन्छ ।
फाउन्डेशनले अमेरिकामा डेमोक्रेसी, पिस र विकासलाई मूल मन्त्र मानेर काम गरिरहेको अध्यक्ष सोमनाथ घिमिरेले बताए । ‘अमेरिकादेखि नेपालसम्म हामीले गिरिजा बाबुको मूल मन्त्र “सहमति, सहकार्य र एकता” लाई मानेर सामाजिक कामहरू गरिरहेका छौ,’उनले भने, ‘आगामी दिनमा अझै यसलाई विस्तार गर्नेछौँ र सेवा नै धर्म हो।’
यस फाउण्डेशनको सामाजिक कार्यहरूको मूल्याङ्कन गर्दै अमेरिकी सिनेटका बहुमत नेता चक शुमर, संघीय कांग्रेस सदस्य ग्रेस मेंग, न्यु योर्क राज्यकी गभर्नर क्याथी होकुल, न्यु योर्क शहरका मेयर ऐरिक अडम्स, पूर्व मेयर बिल दे ब्लाजियो, न्यु योर्क शहरका कम्पट्रोलर ब्राड ल्यान्डर, सिटी काउन्सिलकी सभामुख एन्ड्रिएन एडम्सले फाउन्डेशनलाई पुरस्कृत गरेको अध्यक्ष घिमिरेको भनाई छ ।
यस्तै न्यु योर्क शहरका सार्वजनिक अधिवक्ता जुमाने विलियम्स, क्वीन्स जिल्ला महाअधिवक्ता मेलिन्डा काट्ज, ब्रुक्लीनबोरो प्रेसिडेन्ट अलफ्न्सो रेनोसो, क्वीन्सबोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्स, न्यु योर्क राज्यका सेनेटरहरु जोल लु, लेरोय कामरी र माईकल जियानारिस, न्यु योर्क राज्यका ऐसेमब्लीमेम्बरहरु सहाराना श्रेष्ठ, जेनिफर राजकुमार, स्टीभन रागा, अलिसिया हाईन्डमेन, डेभिड वेपरिन, खलील ऐन्डरसन र क्याटालिना क्रुज र न्यु योर्क शहरका सिटी काउन्सील मेम्बरहरु जुली वन, शेखर कृष्णन, लिन्डा ली, र सान्ड्रा उङ लगायतका निर्वाचित पदाधिकारीहरुले यसै फाउण्डेशनलाई उद्धरण र उद्घोषणाको साथ सम्मान पत्रले पुरस्कृत गरेको जनाइएको छ।
नेपालका पूर्वप्रधानमन्त्री एवं नेपाल कांग्रेस पार्टीका सभापति रहेका गिरिजा प्रसाद कोइरालाको निधनपछि यो फाउन्डेशन पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सन २०११ मा स्थापना गरेकी हुन्।
‘जीपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्ट नाफारहित स्वतन्त्र थिंक ट्याङ्कको रूपमा स्थापना भएको हो र यसले शान्ति, लोकतन्त्र र विकासको प्रवर्द्धनका लागि व्यापक पहल, अनुसन्धान र अध्ययन गर्ने, प्रकाशनहरू ल्याउने, शैक्षिक, राजनीतिक र सार्वजनिक बहसको थालनी र त्यस्ता क्रियाकलापलाई प्रवर्द्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई पनि समावेश गर्दै कार्यक्रमहरु ल्याउॅंदछ।’ अध्यक्ष घिमिरेले भने।
‘एसियाका महान राजनीतिक नेताका रूपमा गिरिजा वावुलाई सम्झंदै, नेपालमा शान्ति, लोकतन्त्र र विकासलाई संस्थागत गर्न गिरिजाबाबुले अडिग भएर लाग्नु भएको र वॅंहाको आदर्शको प्रवद्र्धन गर्दै यस क्षेत्र र विश्वका देशहरूबीच शान्ति, लोकतन्त्र र मैत्रीपूर्ण सम्बन्धका लागि सधैं काम गर्ने र शान्ति, प्रजातन्त्र र मानवअधिकारका साथै राष्ट्रहरूबीच शान्तिपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्न संयुक्त राष्ट्र संघको वास्तविक आदर्शको प्रवर्द्धन गर्ने छ।’ फाउण्डेशनको उदेश्य बारेमा घिमिरेले प्रस्टाए।